सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट आज पारित हुने भएको छ।
असार १ गते प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज पारित हुने भएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच चार बुँदे सहमति अनुसार झण्डै ६ अर्ब बराबरको बजेट संशोधनसहित आज पारित गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
कानुन मन्त्री हिमबहादुर शाहीका अनुसार आज मुख्यमन्त्री कार्यालय, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका विषयगत वार्षिक कार्यक्रममाथि छलफल हुनेछ।
त्यसअघि अर्थमन्त्री, सामाजिक विकास मन्त्री र कृषि मन्त्रीले आफ्ना विषयगत कार्यक्रममाथि सांसदहरुले जवाफ दिने कार्यक्रम रहेको छ।
बजेटका बारेमा मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिइसकेपछि बजेट पारितका लागि सभामुख राजबहादुर शाहीले निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ।