बिहीबार, असार ३२, २०८३

‘विमान खरिदमा सबैले तर्साएर हैरान पारे’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपाल वायु सेवा निगमका महाप्रबन्धक हुन्, सुगतरत्न कंसाकार । ०६६ सालमा निगमको कार्यकारी अध्यक्ष रहेका बेला उनले एक न्यारो बडी र एक वाइड बडी विमान भित्र्याउने प्रयास गरेका थिए । संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपका कारण उनको प्रयास असफल मात्र भएन, विशेष अदालतमा मुद्दा नै पर्‍यो । एयरबसबाट बैना नै फिर्ता गराउन सफल भएपछि उनले सफाइ पाए ।

महाप्रबन्धकका रूपमा निगममा दोस्रो कार्यकालको १० महिना बाँकी रहँदा उनी दुई वटा न्यारो र दुई वाइड बडी विमान भित्र्याउन सफल भएका छन् । आन्तरिक र बाह्य गन्तव्यका लागि थप १० वटा जहाज/विमान भित्र्याउने योजनामा रहेका कंसारकारसँग निगमको व्यापार र सम्भाव्यतामा केन्द्रित रहेर नेपाल समयका लागि उपेन्द्र पोखरेल र पृथराज थेगिमले गरेको संवाद :


पहिले बैना फिर्ता गर्नु परेजस्तै यसपटक पनि पूरै लागत र विमान फिर्ता गर्नुपर्ने अवस्था त छैन नि ?

अहिले त दुवै विमान आइसके । त्यो नै च्याप्टर क्लोज भइसक्यो ।

एयरबसका चार वटा विमान भित्रिएपछि पनि समस्याहरू आइरहेका छन् । निगमले व्यवस्थापन गर्न नसकेको हो कि एयरबसकै समस्या हो ?

विमानमा प्राविधिक समस्या आउने, ग्राउन्डेड हुने भनेको संसारभर सामान्य कुरा हो । निगमसँग पहिले जम्मा दुई विमान थिए । अहिले पाँच वटा पुगेका छन् ।

एउटामा प्राविधिक समस्या आउँदा पनि २० प्रतिशतले ‘इफिसेन्सी’ घट्छ । सबै सेड्युल डामाडोल हुन्छ । ग्राहकले मात्र होइन, सञ्चार माध्यमले पनि थाहा पाउँछन् । सय वटा विमान भएका एयरलाइन्सहरूमा २/४ वटा ग्राउन्डेड हुँदा कसैले थाहा पाउँदैन । र, व्यवस्थापन पनि सहजै हुन्छ ।

अमेरिकामा पनि ३/४ घण्टा उडान ‘डिले’ हुने विषय सामान्य मानिन्छ । नयाँदिल्लीमा हाम्रो एउटा विमान दुई महिनासम्म ग्राउन्डेड भएको समाचार आएको थियो । इन्जिनमा समस्या आएपछि ग्राउन्डेड गर्नु परेको थियो ।

विमानहरू ग्राउन्डेड या डिले हुँदा सबैले निगम र मलाई गाली गर्छन् । तर, निगमले नारा नै बनाएको छ, ‘यात्रुको ज्यानभन्दा माथि केही हुँदैन ।’ पाइलट र इन्जिनियरलाई साना समस्याहरूलाई बेवास्ता गर भन्न मिल्दैन । यात्री, इन्जिनियर, पाइलट, क्रु मेम्बर र जहाजको सुरक्षा मुख्य कुरा हो ।

अन्तर्राष्ट्रिय कानून, नागरिक उड्ययन प्राधिकरण र निगमका नियम कानूनहरू पालना गर्नैपर्छ ।


 

१० महिनाभित्र पहाडी रुटका लागि ६ वटा भाइकिङ, ट्रंक रुटका लागि दुई वटा एटीआर या बम बार्डियर अनि अन्तर्राष्ट्रिय सेवाका लागि दुई वटा न्यारो बडी विमान खरिद गर्ने योजना छ ।


बोइङको नेचरको निगमलाई एयरबसमा लगेर तपाईंले गल्ती गर्नुभएको आरोप पनि लागेको छ नि ? एयरबसका विमानहरूमा समस्या पनि उत्तिकै देखिँदै आएको छ ।

नौ वर्षअघि निगमले मन्त्रालय र तत्कालीन मन्त्रीलाई गुहारेको थियो, बोइङमै बसौं भनेर । किनभने, निगम करिब साढे तीन दशकदेखि बोइङमा बसिरहेको थियो । बोइङकै विमानहरू खरिद गर्न अनुमति माग्यौं । तर, टेन्डरमा नगई विमान खरिद गर्न सार्वजनिक खरिद ऐनले दिँदैनथ्यो ।

२५ लाख रुपैयाँभन्दा बढीको सामान खरिद गर्नुपर्दा टेन्डरमा जानुपथ्र्यो । निगमको कारोबार १० अर्बको हुन्थ्यो । कसैले आँट गरेन । त्यसपछि मैले आँट गरे । मैले टेन्डर छलेर बोइङ किन्न मन्त्रिपरिषदबाट निर्णय गरौं भनेर मौखिक प्रस्ताव राखेकै हो, जुन पूरा भएन ।

केचाहीं सत्य हो भने बोइङभन्दा एयरबस या एयरबसभन्दा बोइङ उपयुक्त भएको कसैले बताउन सक्दैन । अहिले त्रिभुवन विमानस्थलमा अवतरण गर्ने विमानहरूमध्ये ६० प्रतिशत एयरबसका छन् ।

त्यसैले, निगमले गल्ती गर्‍यो भनेर भन्न मिल्दैन । त्यसबेला बोइङमै बसिरहेको भए केही राम्रो हुन्थ्यो । तर, सार्वजनिक खरिद ऐनले दिएन ।

बोइङभन्दा एयरबसमा पार्टपूर्जा सहजै पाउन नसकिने समस्या छ भनिन्छ नि ?

त्यस्तो पटक्कै होइन । कुनै अवस्थामा बोइङ राम्रो कुनैमा एयरबस राम्रो हुन्छ । फरक यति हो, हाम्रो बोइङ ०३२/३३ सालको मोडेलको हो । त्यसको मर्मत सम्भारको ‘फिलोसोफी’ अर्कै किसिमको थियो ।

अहिले नयाँ जमाना आएको छ । यो जमाना भनेको ल्यापटपबाट हवाइजहाज उडाउने हो । सबै ‘कम्प्युटराइज्ड’ भइसकेको छ । पार्टपूर्जाको कारण समस्या होइन । ऐन, नियम र कानूनप्रति हामी होसियार हुनुपर्‍यो ।

दुई वटा वाइड बडी ल्याउनुभयो तर किन न्यारो बडीकै गन्तव्यमा उडाइराख्नुभएको छ ?

नयाँ हवाइजहाज भित्र्याउँदा कुनै पनि हवाई कम्पनीले ३/४ महिनासम्म पुरानै रुटमा चलाउनुपर्ने मान्यता छ । नयाँ वाइड बडीलाई हामीले पनि दुबई र दोहाका पुरानै गन्तव्यमा उडाइरहेका छौं । ती रुटमा हाम्रा क्याप्टेनहरूले बीसौं वर्षको अनुभव बटुलेका छन् ।

समस्या पर्‍यो भने कहाँ अवतरण गर्ने भन्ने जानकारी छ । त्यसैले नयाँ ककपिटमा ध्यान दिन पाउँछन् । ३/४ महिना नयाँ ककपिटको पूर्ण अभ्यास गरिसकेपछि जापान, कोरियालगायत टाढाको गन्तव्यमा उडान भर्न सकिन्छ ।

अहिले जापान र कोरियाले नेपालको जहाज अवतरण गर्न अनुमति दिएका छैनन् । विमानस्थलले भने ‘स्लट’ दिइसकेका छन् । नियामक निकायले अनुमति दिएका छैनन् । केही साताभित्रै जापान र कोरियाका टिम नेपाल आउँदैछन् । त्यसपछि मात्र अवतरण अनुमतिको प्रक्रिया अगाडि बढ्छ ।

सम्भवतः तिहारपछि ती गन्तव्यमा उडान गर्ने योजना पूरा होला । वाइड र न्यारो बडी गरी चार वटा विमानलाई अहिलेसहित जापान र कोरियाको गन्तव्य थपिँदा ठीक्क हुन्छ । त्यसभन्दा बढी गन्तव्यमा उडान भर्न गाह्रो हुन्छ ।

केही समय अघिसम्म तीन वटा विमानले आठ वटा गन्तव्यमा उडान भर्दा विदेशीहरू नै छक्क परेका थिए । अस्ट्रेलियासम्म पुग्न तेस्रो र युरोप जानलाई चौथो वाइड बडी खरिद गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र कुनै अमेरिकी शहरसम्म उडान गर्ने योजना हो ।


 

तेस्रो वाइड बडीबाट अस्ट्रेलिया र चौथोबाट युरोपेली मुलुक उड्न सकिन्छ । त्यसपछि मात्र कुनै अमेरिकी शहरसम्म उडान गर्ने योजना हो ।


पछिल्ला दिनमा चिनियाँ पर्यटक व्हात्तै बढेका छन् । निगमले किन चीनका गन्तव्यमा उडान नभरेको हो ?

हामीले ग्वान्जाओ विमानस्थलमा उडानका लागि आवेदन दिएका थियौं । तीन वर्ष भयो, स्वीकृत भएको छैन । त्यो त संसारका व्यस्त १० विमानस्थलहरूमध्ये एक रहेछ । अफ्रिकाको कुनै एयरलाइन्सले पाँच वर्ष अघिदेखि आवेदन दिएकामा अहिलेसम्म अनुमति पाएको छैन ।

चीनका कुन्मिङ, छेन्दु, सांघाई, बेइजिङतिर उडान गर्न सकिने अवस्था छ । तर, थप विमान खरिद नगरिकन भएको चार वटा मात्रैले उडान भर्न सकिँदैन ।

घुमिफिरी सबै समस्याको जड विमान खरिद नै हो । तर पनि, हवाइजहाज खरिदमै विवाद भएर सबैले तर्साएर हैरान छ ।

निगममा पहिले देखिएका विकृति फेरि पनि नदोहोरिएलान् भन्न सकिन्छ र ?

एक समयमा जापान, लन्डनजस्ता गन्तव्य राम्रैसँग चलेका रुट थिए । तर, निगमलाई पनि त्यसबेला जनकपुर चुरोट कारखानाजस्तो बनाउन खोजिएकै हो ।

पाइलटको अभाव उस्तै छ । वाइड बडी उडाउने पनि विदेशी पाइलट नै छन् । किन निगमले आफ्नै पाइलट उत्पादन गर्न नसकेको ?

पाइलटको समस्या नेपालको मात्रै होइन संसारकै हो । भारतका आन्तरिक उडान गर्ने कम्पनीहरूमा दुई सय ९८ जना पाइलट विदेशी छन् । हामीले पनि पहिले विदेशी पाइलट ल्याएर स्वदेशीलाई ‘ट्रेन्ड’ गराउने सफल अभ्यास एयरबस-३२० विमानमा गरिसकेका छौं । दुवै न्यारो बडीमा अहिले सबै नेपाली पाइलट छन् ।

भियतनाममा एकताका ६० प्रतिशत पाइलटहरू विदेशी थिए । चीनमा आजको मितिसम्ममा ४० प्रतिशत पाइलट विदेशी छन् ।

वाइड बडीका लागि नेपाली ७/८ जना तयार छन् । वाइड बडी एउटालाई १८ जना जनशक्ति चाहिन्छ । दुई वटाका लागि ३६ जना चाहियो । त्यसमध्ये क्याप्टेन आधा चाहिन्छ । अधिकांश विदेशी ल्याउने हो । वाइड बडी चलाउने सबै नेपाली क्याप्टेन हुन केही वर्ष कुर्नुपर्छ ।

निगममा पाइलट र कोपाइलटहरूको तलब भत्ता थोरै छ भनिन्छ । त्यही भएर जनशक्ति पलायन हुने समस्या देखिन्छ नि ?

हो, नेपालीहरूको तलब भत्ता थोरै छ । निगम सरकारी संस्थान हो । ३७ वटा संस्थानमध्येको एउटा हो । तीमध्ये हामी एउटै संस्था हौं, जसले खर्बौं डलर हैसियत भएका २६ वटा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ ।

पाइलट, को-पाइलट, एयरहोस्टेज, इन्जिनियरलगायत सबै कर्र्मचारीले तलब भत्ता बढाउन माग गरिरहेका छन् । हामीले थाई एयरवेज, कतार,  सिल्क, जेट एयरवेजलगायत ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ । उनीहरूका सय वटाभन्दा बढी विमान छन् । तलबको संरचना पनि छुट्टै छ ।

विदेशी पाइलटलाई १२/१५ लाख तलब दिने, स्वदेशीलाई चाहीं दिनुपर्दैन ?

पुनरावलोकनका लागि चार महिना लगाएर प्रस्ताव तयार पार्‍यौं । पाइलटको मात्रै होइन, सबै कर्मचारीको व्यावसायिक ढंगले तलब भत्ता बढाउने पहल गर्‍यौं ।

तलब भत्ता पुनरावलोकनको प्रस्ताव सरकारलाई बुझायौं । त्यही बेला सरकारले तलब बढाउने कुरा नगरौं, बरु भत्ता घटाऊँ भन्ने कुरा आयो । र, त्यसको अध्याय नै बन्द भयो ।

विदेशी पाइलट लिनुपर्दा मासिक १५/१६ लाख रुपैयाँ दिनुपर्छ । स्वदेशीलाई ३/४ लाख मात्र छ । सरकारी संस्था पर्‍यो, नियम, कानून लाग्छ ।

टेलिकम र वायु सेवा निगमबीच के फरक पाउनुभयो ?

हामीले सिट बेचेर पैसा कमाउने हो भने टेलिकमले सिमकार्ड बेचेर । टेलिकमले एक दिनको लक्ष्य भोलिपल्ट पूरा गरे पनि हुन्छ । हामीले सिट भर्न सकेनौं भने जहाज खाली उड्छ । त्यही फरक छ ।

सरकारसँग २० अर्ब रुपैयाँ पुँजी थपिदेऊ भनेर एक वर्षअघि पत्र पठाएका थियौं । यस वर्ष पाँच अर्ब पुँजी थपिदिने भएको छ । त्यो पाँच अर्ब रुपैयाँ आन्तरिक सेवाका लागि जहाज खरिदमा प्रयोग गर्छौं ।

निगमका जहाजमा टिकट काटेपछि ढुक्क भएर उड्न पाइने अवस्था कहिले आउँछ ?

ढुक्क हुने अवस्था आउन १० देखि १२ महिना पर्खिनुपर्छ । अहिले ४५ वर्ष पुराना दुई वटा ट्विनअटर जहाज चलिरहेका छन् । चिनियाँ जहाज पहाडी क्षेत्रका लागि उपयुक्त छैनन् । पार्टपूर्जा आपूर्तिदेखि भाषाको समस्या छ, चिनियाँ जहाजका ।

त्यसैले सबै समस्या समाधानका लागि ६ वटा भाइकिङ जहाज खरिद गर्ने योजना छ । त्यसबाहेक बमबार्डियर या एटीआरमध्येबाट दुई वटा जहाज पनि ल्याउनेबारे छलफल भइरहेको छ ।

मेरो कार्यकाल १० महिना मात्रै बाँकी छ । त्यस अवधिमा आन्तरिक सेवामा १० वटा जहाज भित्र्याउन प्रयासरत छु ।


 

 चीनका कुन्मिङ, छेन्दु, सांघाई, बेइजिङतिर उडान गर्न सकिने अवस्था छ । तर, थप विमान खरिद नगरिकन भएको अहिलेका विमानबाट मात्र चीन उड्न सकिँदैन ।


चिनियाँ जहाज उपयुक्त भएनन् भने त फिर्ता पठाइदिए हुँदैन ?

सरकार-सरकारबीचको सम्झौता भएकाले त्यो असम्भव छ । त्यसमाथि हामीसँग असाध्ये मिल्ने मित्रराष्ट्र भनेका भारत र चीन हुन् । छिमेकीलाई चिढ्याउने योजना छैन ।

अहिले निगम नाफामा छ कि घाटामा ?

पछिल्लो समय निगम करिब ३५ करोड रुपैयाँ नाफामा छ । सिट बिक्री र ग्राउन्ड ह्यान्डलिङबाट आएको नाफा हो यो । तुलनात्मक रूपमा ग्राउन्ड ह्यान्डलिङमा बढी नाफा छ ।

निकट भविष्यमा पहाडी रुटका लागि ६ वटा भाइकिङ, ट्रंक रुटका लागि दुई वटा एटीआर या बम बार्डियर अनि अन्तर्राष्ट्रिय सेवाका लागि दुई वटा न्यारो बडी विमान खरिद गर्ने योजना छ । कर्मचारी सञ्चय कोषले न्यारो बडी विमानका लागि ऋण दिने मौखिक सहमति दिएको छ ।

आजको दिनसम्म काठमाडौं संसारकै महँगो हवाई गन्तव्यका रूपमा चिनिएको छ । अमेरिका, क्यानडाबाट नयाँदिल्ली जान सस्तो, काठमाडौं आउन ५० प्रतिशत महँगो छ ।

जबसम्म निगमका विमान ठाउँ-ठाउँमा पुर्‍याएर बजारमा हस्तक्षेप गर्न सकिँदैन, काठमाडौंको गन्तव्य सस्तो हुँदैन । नयाँदिल्लीमा हाम्रो विमान करिब डेढ वर्ष बन्द हुँदा ५२ हजारसम्म भाडा पुगेको थियो । अहिले त्यो २५ हजारमा झरेको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।