काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टासँग आग्रह गरेका छन्। छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टालाई आग्रह गरेका हुन्।
गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि उनले स्पष्ट पारे। नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएर नै अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याएका थिए।
‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु। हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होइन। यो परम्परालाई अघि बढाउ हामी कृतसंकल्पित छौं,' उनले भने, 'गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिबद्ध हुनुहुन्छ। र, उहाँहरुलाई प्रोत्साहन गर्न हामी सबै तयार छौं। नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिबद्ध छन्।’
अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचना छन्दबद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताए। नेपाल साहित्यिक रचनाहरुको पनि उद्गम थलो रहेको दोहोर्याए। ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान समेत गरेका थिए।