विराटनगर- बलात्कार आरोपमा धनकुटाको शहीदभूमि गाँउपालिका वडा नम्बर-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन्।
जबरजस्ती करणी आरोपमा राईलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। युवतीले उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए।
'धनकुटा बजार क्षेत्रबाट राति ११ बजे वडाअध्यक्ष राईलाई नियन्त्रणमा लिएका हौं,' उनले भने। असार २४ गते होटल लगेर बन्धक बनाएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएकी थिइन्।
तेह्रथुमको वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा बन्धक बनाएर बलात्कार गरेको युवतीले आरोप छ।
हिले घुम्न जाँउ भनी वसन्तपुरमा पुर्याएर होटलमा बन्धक बनाएर बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उनले उल्लेख गरेकी छन्। युवती हिलेसम्म स्कुटरमा आएकी थिइन्।
राईले नेपाली कांग्रेसबाट वडाअध्यक्षमा जितेका हुन्।