पूर्वी नवलपरासी- फेसबुकमा नक्कली प्रेमिका बनेर २५ लाखभन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
गैंडाकोटकी युवतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। एक अधबैंसे पुरुषलाई फेसबुकमार्फत साथी बनाएर ती युवतीले नगद असुलेकी थिइन्।
प्रहरीले नक्कली प्रेम गरेर पुरुषलाई फसाएको भन्दै गैंडाकोट नगरपालिका ११ की २६ वर्षीया सम्भावी पौडेललाई पक्राउ गरेको हो।
झण्डै एक वर्षअघि पीडित पुरुषले दिएको उजुरीको आधारमा सात दिन अगाडि चितवन प्रहरी युवतीलाई पक्राउ गर्न सफल भएको छ।
चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएर भरतपुर महानगरपालिका १ का ५२ वर्षीय पुरुषबाट उनले २५ लाख ४५ हजार ७ सय नगद असुलेको बताए।
उनले ती पुरुषसँगको प्रत्येक भेटमा पैसा लिनेगरेको पाइएको प्रहरीले जनाएको छ। दुई वटा फेसबुक आइडी बनाएर पुरुषलाई आकर्षक तस्बिर पठाउने र प्रभावित पारेर पैसा माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार युवतीले वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल भएकी थिइन्। युवतीले पहिलो किस्ता ८ लाख लिएपछि पुनः अर्को नाम राखेर उनै पुरूषसँग थप पैसा मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
ती युवतीले अन्य पुरुषलाई पनि ठगि गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ।