बागलुङ- बागलुङमा प्राचार्यबाटै एक विद्यार्थी निर्घात कुटिएका छन्। कुटाइबाट गम्भीर घाइते भएका ती विद्यार्थीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत तमानखोला गाउँपालिका वढा नम्बर २ बोङकाका १५ वर्षीय हिक्मत विक कुटाइबाट घाइते भएका हुन्।
उनलाई बिहीबार विद्यालयकै प्राचार्य दीपक कुँवरले कुटपिट गरेका थिए। प्राचार्य कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
टाउकोमा लौरीले हान्दा विक बेहोस भएका थिए। उनको शरीरमा निलडामसमेत देखिएको घाइते विद्यार्थीकी आमा मन्सराले बताइन्। विककी आमा मन्सराले छोरालाई उपचारपछि पनि अप्ठ्यारो भइरहेको बताएकी छन्।
विक कक्षामा प्रवेश गर्दा सेनिटाइजरको बोतल ढलेर पढाइरहेका शिक्षकको टाउकोमा लागेपछि कुँवरले निर्घात कुटेको विकका साथीहरूले बताएका छन्।