काठमाडौं- मूल्यवृद्धिका कारण सर्वसाधारणको दैनिकी कष्टकर भइरहेका बेला पेट्रोलियम पदार्थमा एक महिने अवधिमा भने मूल्य क्रमशः घट्दै गएको छ।
एक महिने अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ डलरले घटेको छ। प्रशोधित तेलको मूल्य पनि घटेको छ। पेट्रोलमा प्रतिब्यारेल १० डलरले घटेको छ भने डिजेल १५ डलरले घटेको नेपाल आयल निगमले बताएको छ।
निगमका प्रवक्ता विनीतमणि उपाध्याय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि तत्काल नेपालमा प्रभाव पर्ने-नपर्ने सम्बन्धमा यसै भन्न नसकिने बताउँछन्।
निगमका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ डलरबाट घटेर १०० डलर हाराहारीमा आइपुगेको छ। अमेरिकी डलर महँगिएपछि तेलको मूल्य घटेको हो। प्रवक्ता उपाध्यायले भने, ‘कच्चा तेल र प्रशोधित तेलको मूल्य घटेको छ। यही अनुपातमा घटे नेपालमा राहत हुने अपेक्षामा छौं।’
अन्तर्राष्ट्रिय बजारमा घटिरहेको कच्चा तेलको मूल्य सकारात्मक संकेत भएको निगमले बताएको छ। कच्चा तेलको मूल्यमा १५ दिनसम्म निरन्तर गिरावट भइरहे निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्य पनि घट्नेछ।
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट १५ दिनमा पाउने मूल्यसूचीअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य तय हुने गरेको छ।
हाल निगमले पेट्रोल प्रतिलिटर १८१ र डिजेल-मट्टीतेल समान मूल्य १७२ रुपैयाँमा बिक्री गर्दै आएको छ।