काठमाडौं– राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकमाथिको कारबाहीलाई तीव्रता दिइएको ट्राफिक प्रहरीले बताएको छ।
दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले शनिबारबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गर्न थालिएको बताए। उनले भने, ‘सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं।’
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपल्ट ५००, दोस्रोपल्ट १००० र तेस्रोपल्ट १ हजार ५०० जरिमाना र एक घन्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ।
यस आवमा १२,८६८ चालकलाई लेन अनुशासनमा कारबाही गरी जनचेतनामूलक कक्षा दिइसकेको ट्राफिक प्रहरीले बताएको छ।
ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामेरा, बडीवन क्यामेराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारबाही गर्दै आएकोछ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिए सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठ्ठी पठाएर जरिमानासमेत गरिँदै आएको छ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकाले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक एवं सह–प्रवक्ता बालनरसिंह राणाले बताए।