बुटवल– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफू कसैको पक्षको नभएको बताउँदै संविधानको रक्षक भएको बताएका छन्।
लुम्बिनीको राजनीति पेचिलो भइरहेको बेला रिपोर्टर्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै उनले संविधानले आफूलाई कुनै पनि राजनीतिक पार्टीको नभनेको बताए।
‘केहि दिनअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न साथीहरु मकहाँ आउनुभएको थियो, त्यतिखेर मैलै आह्वान गरिनँ,’ प्रदेश प्रमुख शेरचनले भने, ‘यो सरकारको विषय भएकाले मुख्यमन्त्रीसँग झन्डै डेढ घन्टा छलफल गरेँ।’
उनले अहिले अविश्वासको प्रस्ताव आएपछि संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान गरिएको बताए। ‘मेरो भूमिका संविधानले नै तोकेको छ, त्यो भन्दा बाहिर मेरो भूमिका छैन,’ प्रदेश प्रमुख शेरचनले भने ।