म्याग्दी- पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन्।
जंगलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन तर तीन वटै ताल खडेरी र वर्षामा सधैं एकनास देखिन्छन्। तालमा जलहाँस पौडने र त्यसैबाट तालको सफाइ हुने स्थानीय बताउँछन्।
ओखरबोटका स्थानीय चाम पुनका अनुसार ती जलहाँस दिनमा देखिँदैनन् तर साँझपख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथी जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन्। तालमा झरेका पातपतिङ्गर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिकस्थल मालिका जाने बाटोको पश्चिमतिर रहेको सरबारी तालमा पुगेर हराउने गर्दछन्।
ओखरबोटका स्थानीय युवा नवीन पुनले तालको बारेमा आफूले सुनेको तर प्रत्यक्षरुपमा त्यहाँ नपुगेको बताए। स्थानीय दलबहादुर घर्तीले ओखरबोट गाउँको मध्यभागबाट पुठा ताल पुग्न करीब १ घण्टा लाग्ने बताए। त्यहाँबाट ४५ मिनेटमा दह र दहतालबाट एक घण्टा घनाजंगल छिचोलेर हिँडेपछि सरबारी ताल पुगिन्छ।
जंगलको बीच भागमा रहेका ३ वटै तालमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टाभन्दा बढी समय लाग्ने स्थानीयको भनाइ छ। स्थानीय चेमबहादुर पुनले तालको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार तयार गर्ने हो भने बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक आउने धारणा व्यक्त गरेका छन्।