काठमाडौं- 'कसन'। यो एक कविता कृतिको नाम हो। सुदूर भूमिमा रहेर साहित्य सिर्जना गर्दै आएका गणेश नेपालीले 'कसन' कविता संग्रह बजारमा ल्याएका छन्। पुस्तक गत महिना धनगढीमा लोकार्पण गरिएको थियो। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले कृतिको विमोचन गरेका थिए।
कृति विमोचनकै दिन पनि धेरै जनालाई कसन शब्दको अर्थ थाहा थिएन। यो आञ्जलिक शब्द हो। सुरुमा त अनौठो लाग्ने यसको नामले पाठकलाई तान्छ। कृतिकार नेपालीकै अनुसार पनि उनलाई धेरै जनाले कसनको अर्थका बारेमा सोधेका छन्।
कसनको समीक्षा गर्दै गणेशराज जोशीले नेपाली ऊर्जावान लेखक भएको बताए। नेपालीकै सिफारिसमा आफूले पनि धेरै पुस्तक अध्ययन गरेको उनको भनाइ छ। त्यसले नेपाली साहित्यको कुशल अध्येता भएको समेत प्रस्ट हुने उनी बताउँछन्।
साहित्यकार नेपालीले हरेक विधामा कलम चलाउने गरेको बताउँदै जोशीले उनको खुलेर प्रशंसा गरे। उनले नेपालीको लेखन कार्यको सफलताको कामनासहित कसनको अर्थ आफूले डिक्सनेरीमा पनि नभेटाएको तर्क गरेका थिए। उनले डिक्सनेरीमा यसको अर्थ नभेटाए पनि कसनमा समावेश कविताहरू जीवन्त र परिवर्तनशील भएको बताए।
'यी कवितामा चेतना छ। विद्रोह छ। राज्य र समाजका उच्च निकायमा बसेका व्यक्तिहरूले गर्ने विभिन्न विभेदहरूमाथि कसले औंला उठाएको छ,' उनले भने।
लेखक नेपाली यसरी पुस्तकको नामबारे धेरैको जिज्ञासा रहेको पाउँदा आफ्नो क्षेत्रको आञ्जलिक शब्दप्रति न्याय भएको आभास रहेको बताउँछन्। 'कसनको अर्थ किन नगरेको भन्ने हो। यो कसैले गर्नुपर्ने महत्त्वपूर्ण कार्य नगर्दा किन नगरेको भन्ने अर्थमा प्रयोग हुन्छ। यो शब्द डोटी र डडेलधुराको सिमानातिर बढी प्रयोग हुन्छ,' नेपाली भन्छन्।
यो त उनको कृतिको नामको चर्चा भयो। अब कवि र कविताको बारेमा चर्चा गरौं। नेपाली धनगढीका सक्रिय साहित्यकारभित्र पर्छन्। उनी प्राय: सबै साहित्यिक कार्यक्रममा सहभागी भइरहेका हुन्छन्।
उनको हातमा सधैँ कुनै न कुनै साहित्यिक कृति च्यापिएकै हुन्छ। उनी चिया पिउन बस्दा होस् या कतै रुखको छहारीमा बस्दा। पुस्तकका पाना पल्टाइहाल्छन्। उनी आफूमात्रै पढ्दैनन्, पुस्तकका बारेमा चर्चा गर्छन्। राम्रा पुस्तक अध्ययन गर्न साथीभाइहरूलाई सुझाव पनि दिन्छन्।
कथा, कविता, यात्रा संस्मरण लेख्न रुचाउने नेपाली धनगढीमा प्रिय कवि हुन्। उनका कविता सरल हुन्छन्, सहज हुन्छन्। सेतीको संग्लो पानी झैँ कञ्चन रूपमा सललल बगेका हुन्छन्।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको महासचिव, आदर्श सेवा समाजको महासचिव, नेपाली लेखक संघ कैलालीको अध्यक्ष, दलित साहित्य सोपानको अध्यक्ष रहेर साहित्यिक गतिविधिमा सक्रिय हुनुले पनि नेपालीको साहित्यप्रतिको लगावलाई प्रस्ट्याउँछ। धनगढी उच्च माविमा शिक्षा प्रदान गर्दै आएका नेपाली आफूले प्राप्त गरेको बाह्य ज्ञान कलिला बाल मस्तिष्कमा पनि भर्ने काम गर्छन्। उनलाई त्यस्तो गर्दा विद्यार्थीहरूमा थुप्रै बाह्य ज्ञान प्राप्त हुने र जीवनलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने विश्वास लाग्छ।
नेपाली साहित्य समाजको महासचिव हुँदा समाजको अध्यक्ष तीर्थराज पाण्डेय छन्। उनीहरू एकदमै मिल्ने साथी हुन्। उनीहरू बेला-बेला आफूहरूको नामको अगाडिको शब्दलाई जोडेर 'गति' जोडी भएको भन्दै रमाइलो पनि गर्छन्। उनीहरूको जोडी गतिशील पनि छ। दशकौं पुरानो सम्बन्ध उसै गरी चलेको छ।
नेपालीलाई नजिकबाट बुझेका पाण्डेय नेपाली एकदमै अध्ययनशील व्यक्ति भएको बताउँछन्। 'अध्ययनकै कारण उहाँसँग शब्दको भण्डार छ। तर्क गर्न सक्ने बलियो क्षमता छ। तिनै शब्द र त्यही क्षमतालाई उहाँले कवितामा भरपुर रूपमा प्रयोग गर्नुभएको छ। त्यसैले पनि कसन उत्कृष्ट कृति बन्न सफल भएको छ,' पाण्डेय भन्छन्।
नेपालीको चर्चा गर्दै मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले नेपालीले प्रगतिशील कवितामार्फत समयको आगो ओकलेको बताए। विद्रोह, क्रान्ति र परिवर्तनको मूल स्वर नेपालीका कवितामा रहेको जोशी बताउँछन्।
'छुवाछुत, जातीय विभेद र सामाजिक भेदभावले सदियौँ थिचेर राखेका आक्रान्त आवाजहरू उनका कवितामा बारुदी आवाज भएर ओकलिएका छन्। नेपालीका कविता आग्रह र आवाजले मानव मस्तिष्कमा समुन्द्री लहर र हावाका तरंग जस्ता उछाल छोड्न सक्ने शक्तिशाली छन्। यस अर्थमा उनका कविता जीवन्त लाग्छन्,' जोशी भन्छन्।
नेपालीले कृतिमा २०६० सालदेखि २०७७ सालसम्म विभिन्न समयमा लेखेका कविताहरू समावेश गरेका छन्। कृतिमा २३ वटा कविता रहेका छन्। उनको पहिलो कविता 'कति महान् त्यो नदी' रहेको छ।
स्वागत गर्दै आउँछ
मुहानैदेखि
हेप्दैन रहेछ खहरे खोलाहरूलाई
कति महान् त्यो नदी
सानो ठूलो विभेद नगरी
धनी गरिब कसैलाई नभनी
सधैँ आउनेलाई पनि स्वागत
वर्षातिर आउनेलाई पनि स्वागत
कति महान् त्यो नदी
सबैलाई अँगालो हाल्न सक्ने
सबैलाई काखी च्याप्न सक्ने
त्यसैले यात्रा छ निरन्तर
सागर महासागरसम्म पुग्ने
कति महान् त्यो नदी
यो कवितामा नेपालीले नदीलाई विम्बको रूपमा प्रयोग गरेर समाजमा जरा गाडेको बसेको जातीय छुवाछुतमाथि चोटिको बिम्बात्मक प्रहार गरेका छन्।असंख्य निराशाहरूको निर्णय शीर्षकको कविता पढ्दा पनि उनको राज्यको विभेदकारी नीतिप्रतिको विद्रोह प्रस्ट हुन्छ। युग फेरियो, सत्ता फेरियो। तर, मानिसको मानसिकता फेरिएन। त्यसैले समाज फेरिनका लागि मानिसको मानसिकता फेरिनुपर्ने उनी बताउँछन्।
सरकार छ
सरकार हाम्रो पनि हो ठाने
सरकारको विश्वास गरे
त्यसैले निर्धक्क हिँडे
उनीहरूलाई विश्वास थियो
कोही माईका लाल
एक बाल बाँका गर्न सक्तैन
उनीहरूको भन्ने
तर
अन्तर जातीय प्रेम र विवाह हुँदा
लखेटिनु, हत्या हुनु नियति भयो
ज्यानै गयो
बलात्कृत हुनु पर्यो
न्याय असम्भव भयो
संविधान छ
सरकार छ
ऐन कानुन छ
दुःख सुखको साथी समाज छ
संविधान ल्याउने
लोकतन्त्र छ
गणतन्त्र छ
समानता र स्वतन्त्रताका पहरेदार
नेताहरू छन्
क्रान्ति र आन्दोलनको आँधी बेहरी ल्याउने
दलहरू छन्
जातीय छुवाछूत र विभेद हुँदा
एक्लिनुको पीडा
केवल दलितसँग मात्र छ
बलात्कृत र हत्या गरिएका
आफन्तको वियोग
अझ न्याय नपाएको
छटपटी निरीहता र उपेक्षा
केवल दलितसँग मात्र छ
असंख्य निराशाहरूको निर्णय हो यो
सरकार छ, छैन बराबर
संविधान छ, छैन बराबर
ऐन कानुन छ, छैन बराबर
लोकतन्त्र छ, छैन बराबर
गणतन्त्र छ, छैन बराबर
दुःख सुखको साथी समाज छ
छैन बराबर
समानता र स्वतन्त्रताका पहरेदार
नेताहरू छन्
छैन बराबर
क्रान्ति र आन्दोलनको आँधी बेहरी ल्याउने
दलहरू छन्, छैन बराबर
असंख्य निराशाहरूको निर्णय हो यो ।
नेपालीलाई कहिलेकाहीँ मोफसलमा बसेर साहित्य सिर्जना गर्न निकै गाह्रो छ झैँ लाग्छ। 'हामीलाई प्रकाशक पाउन गाह्रो छ। पाठक पाउन गाह्रो छ। राष्ट्रिय रूपमा चर्चा पाउन गाह्रो छ। दुरदराजका साहित्यकारहरूसम्म सञ्चार माध्यमको नजर पुग्दैन। त्यसैले जति राम्रो सिर्जना गरे पनि त्यसले बजार पाउन निकै गाह्रो छ,' नेपाली भन्छन्।
उनले सुदूरका आँखीझ्यालबाट हेर्दा आफूले जे देख्यो त्यही कविताको माध्यमबाट पाठकसामु ल्याएको बताए। उनले पाठकको प्रतिक्रियाले आफूलाई निकै हौस्याएको बताएका छन्। आगामी दिनमा पनि आफ्नो साहित्य सिर्जना नै गर्ने उद्देश्य रहेको नेपालीले बताए।