बिहीबार, असार ३२, २०८३

'साहित्यमा हजारौं गुट छन् '

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भारतीय नेपाली मूलका मनोज बोगटी दार्जिलिङमा बसेर निरन्तर नेपाली कविता लेखिरहेका छन्। नेपाली साहित्यमा कलम चलाउने यी कविका ६ कविता कृति छन् । दार्जिलिङका यी कवि कवितामा राजनीतिक व्यंग्य उठाउँछन्। हाल उनको कथा संग्रह ‘लाइफ अ बटरफ्लाई’ बजारमा आएको छ । नेपाली साहित्यलाई दार्जिलिङबाट चिहाउँदै कविता कोर्ने बोगटीसँग नेपाल समयका राज सरगमले गरेको कुराकानी:

प्रायः तपाईंका कवितामा राजनीतिक चेतको प्रचुरता पाइन्छ । यसको प्रभाव भारतीय मूलको नेपालीभाषीले पहिचानका लागि गरेको राजनीतिक पृष्ठभूमि हो ?

म नौ वर्षको थिएँ । दोस्रो श्रेणी पढ्दै थिएँ। स्कूल छुट्टी थियो। आन्दोलन चल्दै थियो। मेरो बाबा गोर्खाल्यान्ड भोलेन्टियर कमिटीका युनिट चिफ थिए। जीआई पाइप काटेर बनाएको दुईनाले खँदुवा बन्दुक बोकेर बाबा जंगल पस्थे।

आन्दोलन दबाउन सरकारले सीआरपी सेन्ट्रल रिजर्भ फोर्स खटाएको थियो। गाउँमा सीआरपी आउने नआउने सूचना दिन बाबाहरू रातदिन डाँडा–डाँडामा क्याम्प हालेर बसेका थिए। गाउँमा घुमाउरो सडक भएर कुनै संदिग्ध गाडी हिँड्यो भने त्यसको सूचना बाबाहरू गाउँलाई दिन्थे। त्यो रात कसैको पनि घरमा बास हुँदैनथ्यो।

छेवैमा कुलैनको जंगल थियो। कुलैनका झ्याङमाथि तिते लहरा झ्याम्म परेर फैलिएको। कुनै एउटा कुलैनको फेदमा रातिको ओछ्यान लाग्थ्यो। म, आमा र तीन बहिनी लगभग एक महिनाजति त्यसरी कुलैनको फेदमा ओछ्यान लगाएर सुत्यौं। बाबा भन्नुहुन्थ्यो, ‘सीपीआईएम सरकार छुट्टै राज्य गोर्खाल्याल्ड दिन चाहँदैन। त्यसै कारण आन्दोलनकारी मार्न सीआरपी पठाइएको हो। भर्खर कखरा सिक्दै गरेको मेरो कलिलो दिमागमा ‘सरकार’को राम्रो छवी बसेन।

आखिर सुवास घिसिङको आन्दोलन सरकारले दबाएरै छोड्यो। घिसिङले आन्दोलनलाई दार्जिलिङ गोर्खा पार्वत्य परिषदसित साटे। उनी परिषद चलाएर बसे। मेरो बाबा काठ काटेर जीविका चलाउँथे। ढुंगाका मिस्त्री थिए। दागोपाप बाबालाई कहीं पनि काम लागेन।

बाबाका साथीहरू ठेकेदार बने। त्यही ठेकेदार साथीको मिस्त्री बने बाबा। रक्सी पिउँथे। बलको काम गर्थे। बाबालाई क्षयरोग लाग्यो, थलिए। माध्यमिक परीक्षामा दोस्रो दर्जामा उत्तीर्ण भएको मैले घर सम्हाल्नुपर्‍यो। पढाइ छोडियो, अब बाबाको ठाउँमा मिस्त्री थिएँ म।

म बालखैदेखि सरकारको चलखेल, कमजोर राजनीति र असफलताहरूसितै हुर्किएँ।

अहिले मेरो छोरो आठौं श्रेणीमा पढ्छ। अहिलेसम्म पनि छुट्टै राज्यको निम्ति लडिरहेका भनिएका नेतृत्व सरकारसित मिलेर हाम्रै सपनाहरूको व्यापार गरिरहेको छ। उन्मुक्ति, यो एउटा निक्कै अमूर्त सवाल हो। यसको सपना देख्नेहरूले सधैं दुःख पाएका छन् । नेपालमै हेर्नूस्, १० वर्षे क्रान्तिले पाएको प्राप्तिले ‘उन्मुक्ति’लाई सम्बोधन कहाँ गर्न सकेको छ र । ‘उन्मुक्ति’ कम्युनिस्ट सरकारको बेला अझ अमूर्त बनिरहेको छ।

हाम्रो मुद्दा पनि कम्युनिष्ट सरकारले नै दबायो। एउटा आन्दोलन दब्दा केवल आन्दोलन दब्दैन। सारा मानिसको श्रम पनि दब्छ। सारा मानिसका सपना पनि दब्छन्। इतिहास त दब्छ नै, भविष्य पनि दब्छ। मूल्यहरू दब्छन्, सौन्दर्यहरू दब्छन्। त्यसरी दबेको समाजमा जुन–जुन अन्तरविरोधको निर्माण हुन्छ, त्यसको प्रभावले जुन एकखाले निरिह सामाजिक चेतनाको विकास गर्छ, त्यहीं सत्ताको चलखेल गर्ने ठाउँ हो।

मैले कवितामा शुरुमा आफ्ना स–साना दुःख, प्रेम, बिछोडहरू टिप्थें। समाजलाई बुझ्दै गएपछि समाजका तिनै अन्तरविरोधहरूतिर कविता पुग्न थाल्यो। सारा भारतीय नेपाली गोर्खा नागरिकको त्यो ‘उन्मुक्ति’को छटपटीतिर पुग्न थाल्यो।

हुँदाहुँदा भारतीय मूलधारले अल्पसंख्यकहरूको सांस्कृतिक, विचार प्रणाली र समाजशास्त्रलाई कसरी किनारीकृत गरेर त्यसमाथि शाषण गरिरहेको छ, त्यतातिर कविता पुग्न थाल्यो। विश्वमै ‘दबिए’काहरूको पीडातिर कविता पुग्न थाल्यो।

कविताले समाजलाई ऐना देखाइदिन्छ। त्यो ऐनामा फुटेको जुन अनुहार हुन्छ, त्यो ‘फुटाउने’हरू खोज भन्छन्। र, मूलधारमा तिम्रो उपस्थितिको दाबी गर भन्छन्। त्यसकारण मेरो कविताले एउटा निश्चित पृष्ठभूमिमा उभिएर मानिसलाई मानिसको खोज गर्न सहयोग गर्छ कि भन्ने मलाई सधैं लाग्छ। 

भारतीय नागरिक हुँ भन्ने तपाईं नेपाली सहित्यमा निरन्तर सक्रिय रूपमा लागिरहनुभएको छ। यसरी नेपाली साहित्यमा दख्खल राख्न तपाईंलाई केले प्रेरित गरिरहन्छ?

भारतमा २४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता पाएका छन्। अझ कैयौं यस्ता भारतीय भाषा छन्, जो मान्याताको निम्ति संघर्षरत छन्। यो मान्यता पाउनु भनेको भारतीय मूल धारामा भाषिक उपस्थिति दिनु हो। आफ्नो पहिचान दाबी गर्नु पनि हो। मूलधारमा समाहित हुनु पनि हो।

तर, भारतमा कि त अंग्रेजीले कि त हिन्दीले हाम्रो भाषालाई ‘डोमिनेट’गरिरहेका छन्। भारतमा एउटा साहित्यिक संस्था छ, साहित्य अकादमी। यसले मान्यताप्राप्त भाषाका साहित्यकारहरूलाई मञ्च दिन्छ। मञ्चमा बोलाएर उसैले भन्छ, ‘नेपाल से आए हुए, नेपाली भाषी कविको मञ्च पर आने के लिए निवेदन करता हुँ।’

गडबड यहीं छ। हामी त ब्रिटिस भारत हुँदा नै यहीं थियौँ। सन् १९४७ मा ‘इन्डिया’ बन्दा पनि यहीं थियौं। भारतको संविधानको ड्राफ्ट समिति सदस्य त हाम्रै अरिबहादुर गुरुङ पनि हुन्। भारतको राष्ट्रीय धुनमा हाम्रै संगीतकार रामसिंह ठकुरीको सांगीतिक लगानी छ। अंग्रेजबाट भारत स्वाधीन गर्ने लडाईंमा हाम्रा धेरै दुर्गालालहरू शहीद बनेका छन्। भारतलाई भारत बनाउन हाम्रो पनि त्याग र बलिदान छ।

तर, नेपाली भाषा बोलेकै कारण हामीलाई ‘नेपालका नागरिक’ देख्ने भारतीय मूलधारले सधैं हामीलाई किनारमा राख्यो। जब कि सन् १९९२ मा भारतको संविधानको आठौं अनुसूचीले नेपाली भाषालाई भारतीय भाषाको रूपमा मान्यता दिएको छ । त्यही भाषा बोल्ने नागरिकलाई चाहीं ‘नेपालको नागरिक’भनिदिन्छ। यो त एउटा चरित्रको नमूना हो।

देशको नीति निर्माण गर्ने ठाउँहरूमा गोर्खाहरूलाई पुग्न दिइरहेको छैन। गोर्खामूलका सबै ठूला निकायमा अन्यभाषीहरूकै दबदबा छ। पश्चिमबंगाल केवल बंगाली भाषीहरूको राज्य होइन तर बंगालीभाषीहरू नै गोर्खाहरूको शासक बनिरहेका छन्।

सारा अवसरहरूबाट गोर्खाहरूलाई पाखा पारिएको छ। सत्ताको यो चरित्रबारे हाम्रै गोर्खाहरूलाई पनि ‘लिटरेरी कन्भिन्स’ गर्ने काम त फेरि साहित्यकै हो। त्यसैले पनि म यो भाषामा साहित्य लेख्न प्रेरित छु।

भारतीय केन्द्रमा भारतीय नेपालीभाषी साहित्यकारहरूले नेपाली साहित्यलाई पनि भारतको एउटा ‘केन्द्र’ मान्नुपर्छ भन्ने लडाईं गर्दै आइरहेकै छन्। नेपाली भाषामा लेखिएका साहित्यलाई अन्य भाषीहरूबीच ‘डिस्कोर्स’मा ल्याइनुपर्छ। त्यसो हुँदा गोर्खाहरूको सामाजिक, सांस्कृतिक, अर्थनीतिक, राजनीतिक सरोकारहरू पनि ‘डिस्कोर्स’मा जान्छन्।

यसबाहेक सर्वजनिक संकट, अन्तरविरोध र समस्याहरूबारे पनि साहित्य लेखिनुपर्छ। विविध प्रयोगहरू हुनपर्छ। राष्ट्रीय, अन्तर्राष्ट्रीयस्तरका सामाजिक अन्तरविरोधका चरित्र, सभ्यता, संस्कृति र जीवनका बदलिँदा आयाम वा विचलनहरू लेखनमा आउनुपर्छ। यिनै कुराहरूले मलाई लेखनमा रहिरहन प्रेरित गरेको छ।

दार्जीलिङबाट नेपाली साहित्यलाई कवि मनले चियाउँदा कवि र कवितामा देखेको ग्ल्यामरलाई कसरी लिनुहुन्छ ?

ग्ल्यामर शब्दको इतिहास स्क्रिनसित जोडिएको छ। सिनेजगत र मिडियाले यसलाई आम मानिसमा लगे। उनीहरूको पछिल्तिर बजार छ। पछि फेसनले ‘ग्ल्यामर’लाई ‘एडप्ट’ गर्‍यो। बजारले ‘ग्ल्यामर’ शब्दलाई वस्तुमा, मालसामानमा मूल्य निर्धारित गर्न प्रयोगमा ल्याएको हो। कला र सौन्दर्यको बजारीकरणमा ‘ग्ल्यामर’निर्णायक छ।

तर, पछिपछि वस्तु वा मालसमानको मूल्य र गुणवत्ताको आधारमा मात्र ‘ग्ल्यामर’जीवित छ। ‘ग्ल्यामर’को प्रयोग र यसको भाष्यलाई बौद्धिकहरूले आफ्ना सहजताका निम्ति पनि प्रयोग गर्दै आइरहेका छन्।

जस्तो, अरुन्धति रोयको ‘ग्ल्यामर’ उनको निर्भिकताको कारण बन्यो। भारतीय लोकतन्त्रको चरित्र, राष्ट्रीयता, राष्ट्रप्रेम र हिन्दुत्वलाई लिएर हुने चलखेल खोतल्ने उनको प्रतिबद्ध कलमले उनको ‘ग्ल्यामर’ निर्माण भयो।

पछिल्लो समय युग पाठक, उज्वल प्रसाईंहरूको लेखनको ‘ग्ल्यामर’ले मजस्तो बबुरो पनि तानिन्छु। ‘ग्ल्यामर’ को अर्थ जति बाजारु हो, त्यति गम्भीर पनि हो। हिन्दी कविता साहित्यमा मुक्तिबोधको ‘ग्ल्यामर’ अझसम्म जिउँदो छ। धुमिल, नाजिम हिकमत, मंगलेस डबराल, सर्वेश्वरदयाल सक्सेनाजस्ता धेरै कवि छन्, जसको अभिव्यक्ति क्षमता र प्रतिबद्ध दृष्टिकोणले उनीहरूको कवितीय छवि बलियो बन्यो।

विनोदविक्रम केसी, अभय श्रेष्ठ, स्वप्निल स्मृति, राबत, सरिता तिवारी, श्यामल, विमल निभा, मनु मञ्जिल। नेपालमा जस्ता धेरै कवि छन्, यो दार्जिलिङसम्म पनि आफ्नो ‘ग्ल्यामर’ कायम राख्न सक्षम छन्। मेरो अर्थमा ‘ग्ल्यामर’ भनेको बलिया चेतका लेखकहरूले सत्ताको विसंगतिमाथि गर्ने हस्तक्षेप हो।

यस्तो हस्तक्षेप, जसको प्रभाव सचेत जमातमा जमिरहन्छ। त्यसले नयाँ पुस्तालाई हेर्ने नयाँ दृष्टिकोण दिन्छ। काम गर्ने ऊर्जा दिन्छ। असमानतामाथि विमति राख्ने र ‘बेटर सोसाइटी’का लागि बुद्धि लगानी गर्ने नयाँ पुस्ता जन्माउन प्रेरित गर्छ। यस्तो क्षमता नभएका कवि, लेखकहरू ‘ग्ल्यामर’ नबेका कवि लेखक हुन्।

सर्जकीय क्षमता पाँच प्रतिशत तर उसले गर्ने हल्लाचाहीं ५० प्रतिशत। यस्ता सर्जकहरू ‘ग्ल्यामर’ लाई दुरुपयोग गरिरहेका सर्जकहरू हुन्।

अहिलेको नेपाली कवि र कवितालाई ठूलो गुटबन्दीले धानेको बताउँछन्, विद्वानहरू । यसो हुनुमा राजनीतिक प्रभाव हो ?

विद्वानहरूले सधैं ठीक कुरा नबताउने जोखिम हुन्छ। कवि र कवितालाई गुटबन्दीले धानेको देख्ने विद्वानहरूको ‘आशय’का आयाम केलाउनुपर्ने हुन्छ। त्यता नजाऔं। तर, त्यसरी कवि र कवितालाई गुटबन्दीले धानेको देख्ने विद्वानहरू पनि एउटा गुट हुन्।

गुट भनेको विचारहरूको एकात्मयको सवाल हो। जस्तो, वाम र दक्षिणपन्थी, यी दुई वटा गुट हुन्। वामभित्र पनि हजारौं गुटहरू छन्। यही दक्षिणपन्थीभित्र पनि हजारौं गुट छन्।

उहिले इन्द्रबहादुर राईहरूको तेस्रो आयाम, लीला लेखन गुट थियो। त्यसभन्दा अघि सुधपाहरूको सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, यता अगमसिंह गिरी, हरिभक्त कटुवालहरूको जातीयतावादी  गुट थियो। विकास गोतामेहरूको समाजवादी गुट थियो। कवि मनप्रसाद सुब्बाहरूको किनारीकरण गुट थियो। केवलचन्द्र लामाहरूको पनि संक्रमण गुट थियो। सुधीर क्षत्रीहरूको विचलन गुट थियो। राजा पुनियानीहरूको हस्तक्षेप गुट छ। ज्ञानेन्द्र यक्सोहरूको समावेशी गुट छ।

यी जम्मै गुटहरूको लगानी छ, भारतीय नेपाली साहित्यको आजको स्वरूप बनिनमा। नेपालमा पनि उस्तै हो। जो गुटमा छैन, त्यो पनि एउटा गुट हो। गुटबाट कोही बाहिर छैन। सत्ता आफैं एउटा गुट हो, चाहे त्यो पुरुषसत्ता होस् वा नारी। चाहे त्यो राज्य सत्ता होस् वा धार्मिक सत्ता।

सबैको पछिल्तिर राजनीति नै हुन्छ। जो जो म गुटमा छैन भनिरहेका छन्, उनीहरू सबैभन्दा खतरनाक राजनीति गरिरहेका छन्। समाजलाई ‘गुमराह’ गर्ने राजनीति। यिनीहरू त समाजका असली दुश्मनहरू हुन्। मलाई यस्ता चरित्रवाला गुट धर्तिको बोझ लाग्छ।

तपाईंको कवितालाई कुनै पार्टीले या नेताले राजनीतिक नारा बनाइहाल्यो भने त्यसलाई उपलब्धी ठान्नु हुन्छ कि नकार्नुहुन्छ ?

भर्खरै म ‘वाट दी बुक’को निम्तोमा पोखरा गएँ। मेरो भर्खरै बजारमा आएको कथाकिताब ‘लाइफ अफ बट्टरफ्लाई’माथि चर्चा र एकल कविता वाचनको निम्ति। त्यहाँ सुनें, त्यहाँको कुनै युवा नेताले मेरो गीत ‘ए बुढा बा’लाई चुनाव प्रचारमा प्रयोग गरेछन्।

पुष्पन प्रधानले गाएको यो गीत, ‘यो त मेरो समय हो, ए बुढा बा’ माइकमा बजाएर उनले भोट मागेका थिए रे। ठाउँ ओगटेर बस्ने र विकासको गतिलाई रोकेर राख्ने जडताविरुद्ध, नयाँ पुस्ताका क्षमतालाई निषेध गर्ने सत्ताको विरुद्ध लेखिएको गीत हो त्यो।

ती नेताले गीतको अर्थ बुझे होलान्। उनलाई पनि गीतले बयान गरेको समाज परिवर्तन गर्छु भन्ने लाग्यो होला र गीतलाई चुनाव प्रचारमा प्रयोग गरे होलान्। दुर्भाग्यबस, ती नेताले चुनाव हारेछन् तर गीत अहिले पनि बजिरहेकै छ।

यसको अर्थ हो, कवितालाई जुन प्रयोजनमा प्रयोग गर्दैछ, त्यहाँ उसको स्वार्थ हुन्छ। मलाई समाजको स्वार्थमा, मानिसको स्वार्थमा कविता प्रयोग होस् भन्ने लाग्छ। कुनै पनि राजनीतिक पाटींले मेरो कवितालाई राजनीतिक नारा बनाउँदा मलाई आपत्ति छैन। उसको स्वार्थ सही हो भने उसले कवितालाई गरेको प्रयोग सार्थक बन्ला। होइन भने प्रयोग गर्ने मर्छ तर कविता त फेरि पनि बाँचिरहन्छ।

कविता सार्वजनिक सम्पति हो। सबैले प्रयोग गरून्। यसरी प्रयोग हुँदा कविताको शक्ति, सामथ्र्य र उपादेयता मर्दैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।