काठमाडौं– साझा यातायातले बिहीबारदेखि काठमाडौंमा तीन वटा बिजुली बस चलाउन थालेको छ। पहिलो चरणमा ल्याइएका बिजुली बसले नियमित सेवा दिँदै आएका रुटमा सेवा सुरु गरेको साझा यातायातले बताएको हो।
साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट बिजुली बसले औपचारिक सेवा सुरु गरेको कम्पनीका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले जानकारी दिए।
साझाका बिजुली बसमा महिला चालक र सह–चालक रहनेछन्। चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीका विद्युतीय बस कारखानामा साझाका बस तयार भएका हुन्।
साझाले ल्याउने भनिएका बाँकी ३७ वटा बस पनि छिट्टै नेपाल आइपुग्ने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए।
सीएचटीसीएचओसँग साझाले बिजुली बस डेढ करोडमा खरिद गरेको हो। साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ। अहिले ९ मिटर लामा बिजुली बस किनिएको र पछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बस ल्याउने कम्पनीको योजना छ।
साझाले ल्याएका बस हाल २५ सिट र सोभन्दा बढी क्षमताका छन्। यी बसमा वाइफाई, टिभी डिस्प्ले, सिसीक्यामेरालगायत सुविधा छन्। अपांगता भएका व्यक्ति चढ्न मिल्ने र्याम्पसहितको सुविधा छ। साझा यातायात सहकारीसँग ७४ ठूला बस छन्।