आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

समृद्धिको सपनालाई गिज्याइरहेको 'मगन्ता' समुदाय

पुस्तौंदेखि भिख मागेर जीवन दौडाइरहेको मगन्ता समुदाय गरिबीको चपेटामा झन् पिल्सिँदैछ। मागेर ल्याएको अन्न पकाउने हो। बेलुका के पकाउने हो, बिहान थाहा हुन्न।
 |  बिहीबार, असार २३, २०७९
nespernesper

नवीन अभिलाषी

नवीन अभिलाषी

बिहीबार, असार २३, २०७९

नेपालगञ्ज- संघीय राजधानी रहेको काठमाडौं महानगरको सेरोफेरोभित्र भिख माग्न रोक लगाइएको समाचार उपत्यकाबाहिर पनि तरंगित भइरहेको छ। सामाजिक सञ्जालमा छरपस्ट तर्कवितर्कबाट बाहिर निस्किँदा भने भिख माग्न निषेध समाचारले उपत्यकाबाहिर खासै मेल खाँदैन। भिख माग्न रोक लगाइएको संघीय राजधानी काठमाडाैंबाट ५३१ किलोमिटर टाढा नेपालगञ्ज नजिकै एउटा बस्ती छ, मगन्ता समुदायको। यो समुदायको पेसै मागेर गुजारा चलाउने हो। 

triton college

पुर्ख्यौली पेसा नै माग्ने र त्यसैबाट सम्पूर्ण जीवन चलाउने यो समुदायले सयौं वर्षदेखि भिख मागेर जीवन गुजारा गर्दै आएको छ। यथार्थमा यो जातिको अवस्थाले देशको समृद्धिको सपनालाई गिज्याइरहेको छ। 

मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्छ। एक पुस्ता अगाडिसम्म यो समुदायका मानिसको नागरिकतामा नामको पछाडि मगन्ता थर लेखिन्थ्यो। अहिले त्यसलाई परिवर्तन गरेर महाउत लेख्ने गरिएको छ। 

यो समुदाय अहिले गरिबी, अभाव र संकटबाट गुज्रिएको छ। यो समुदायका बालबालिका शिक्षाबाट पूर्णतया वञ्चित छन्, महिलाको स्वास्थ्य अवस्था नाजुक छ। डरलाग्दो बालविवाह मात्र होइन, सिंगो समुदाय प्रत्येक दिन छाक टार्ने समस्याबाट माथि उठ्न सकेको छैन।

अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समय यो समुदाय भने सडक, चोक र घरका दैलाहरूमा भिख माग्न विवश छ। जातीय पेसा नभएको मगन्ता समुदायले आफ्नो पहिचानबारे सोच्ने कुरा अहिलेसम्म सम्भव छैन। 

Metro Mart
vianet

हिरमिनियाको यस्तो हविगत 


नेपालगञ्ज–रुपैडिया सडक खण्डको चौलीक्कामा पुगेपछि हिरमिनिया गाउँबारे सोधपुछ गर्दा एक जना काकाले पूर्वतर्फको बाटो संकेत गरे। असारे झरीको प्रतीक्षा गरिरहेका खेतका गराहरूको बीच बाटो भएर पाँच किलोमिटर दूरी पार गरिसकेपछि सोध्दै, खोज्दै जाँदा हिरमिनीया गाउँकै मोटरसाइकलमार्फत पुगियो।

यो समुदाय हिँड्ने, डुल्ने, घुम्ने र माग्ने जात भएकाले कहिलेकाहीँ दुई–तीन महिनासम्म घरका ढोकाहरू बन्द हुन्छन्। कहिले बिहान जाने र मागेर बेलुका आउने पनि गर्छन्।

बाँकेको नेपालगन्जदेखि जमुनाह सडक खण्डको चौलीक्काबाट पाँच किलोमिटर डुडवा गाउँपालिका–६ हिरमिनिया गाउँ पुगिन्छ। यही नै  मगन्ता समुदायको गाउँ हो। मागेरै खाने पुस्तैनी पेसा अँगालेका घरपरिवारको जीवन कति कष्टपूर्ण र अभावग्रस्त छ भन्ने कुरा यो बस्तीमा टेकेपछि मात्रै थाहा लाग्छ। शिक्षा, चेतना, विकासबारे यो समुदायले सोच्नसमेत सकेको रहनेछ। 

यो गाउँमा पानी जमेका खाल्डाबाट अत्यासलाग्दो दुर्गन्ध सोझै नाकमा ठोक्किन आइपुग्छ। यस्ता खाल्डा प्रत्येक घर अगाडि छन्, जहाँ बंगुरले जमिन उधिनिरहेका दृश्य देख्न सकिन्छ। 

गाउँका वासिन्दाबारे सोधीखोजीकै क्रममा साइकलमा दुई ब्रोइलर कुखुरा लिएर आएका एक युवा अगाडि रोकिए। त्यहाँका मानिसको हाउभाउले थाहा हुन्छ, यो गाउँमा बाहिरका मानिस बिरलै पुग्दा रहेछन्।

‘चुनाउका बेला नेताजीहरू आउनुहुन्छ, अरू बेला कहाँ आउनू?’ स्थानीय राजकुमार महाउतले भने, ‘यहाँ मान्छे नै आउँदैनन्।’ 

विदेश जाने सपना बोकेका राजकुमार २४ वर्षको उमेरमा तीन सन्तानको बाउ बनिसकेका छन्। ‘विदेश जाने भनेर लागेको छु। २ लाख माग्छ। हामी यत्रो पैसा कसरी दिन सक्छौं?’ राजकुमारले दुःख बिसाए। उनले कुरा गर्दागर्दै समुदायका केही केही महिलाहरू पनि बोल्न तम्सिए। उनीहरूले भने, ‘अरू ठाउँमा सरकारले सहयोग गर्छ। यता सरकार नै आउँदैन, हामीलाई हेला गर्छ।’ 

यो गाउँका प्रायः घरहरू रित्तै छन्। वृद्धवृद्धाहरू घरको ढोकामा बसेर बाटोमा टोलाइरहेको दृश्य मार्मिक लाग्छ। तिनका अनुहारमा पढ्न पाइन्छ, दुःखका कथाहरू। साना बालबालिकाको आँखा र हाउभाउले देखाउँछ, बस्तीमा यो जातिको गरिबी, अभाव र पछौटेपन।

यो समुदाय हिँड्ने, डुल्ने, घुम्ने र माग्ने जात भएकाले कहिलेकाहीँ दुई–तीन महिनासम्म घरका ढोकाहरू बन्द हुन्छन्। कहिले बिहान जाने र मागेर बेलुका आउने पनि गर्छन्।

११ वर्षीया सितारा महाउतका बुबा, आमा, दिदी बिहानैदेखि माग्न हिँड्छन्। सितारा घरमा एक्लै रहिछन्। उनीहरू नेपालगन्ज पुगेका छन्, माग्न। सिताराले अहिलेसम्म विद्यालय मुखै देखेकी छैनन्। 

१७ वर्षीया किरण महाउतको काखमा एक वर्षका छोरा छन्। श्रीमान् काठमाडौंमा पैसा कमाउन गएका छन्। १५ वर्षमै विवाह गरेकी किरणले पनि अक्षर चिन्न पाइनन् तर नाम लेख्न जानेकी छन्।

‘हामीले कहाँ पढ्न पाउनू? पैसा कमाउनुपर्छ हामीलाई। हाम्रो बाउले स्कुल पठाउँदैनन्,’ किरण बोल्छिन्, ‘हामीलाई सरकारले सहयोग गर्दैन। कसरी जाने स्कुल?’

अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समय मगन्ताहरू भने सडक, चोक र घरका दैलाहरूमा भिख माग्न विवश छन्।

यो समुदायका मानिस प्रायः सबैले सरकार र सहयोग भन्ने शब्द बारम्बार दोहोर्‍याइरहन्छन्। सरकारले सहयोग गर्छ भन्ने कुरा उनीहरूले बुझेका छन्। कोरोना कालमा केही सामाजिक संस्थाहरू आएर उनीहरूलाई सहयोग गरेपछि सरकारले चाह्यो भने सहयोग गर्दो रहेछ भन्ने बुझेका रहेछन्। 

यो गाउँमा झन्डै १२० घर छन्। प्लास्टिक र फुसका सानो टहरामा कति पुस्ताले बिताए भन्ने हेक्कासमेत रहेनछ। भुइँमा पराल ओच्छ्याएको बिछ्यौनामा रात बिताउनुपर्ने विवशता रहेछ, यो समुदायमा। परालमाथि पटकी देखाउँदै किरणले भनिन्, ‘सुत्ने यसैमा हो। पानी सबै भित्र पर्छ।’ प्लास्टिकले छाएका टहराले पानी ओत्ने कुरै भएन। ‘मागेर ल्याएकै अन्न पकाउने हो। बेलुका के पकाउने हो, त्यो अहिले थाहा हुन्न।’

यो बस्तीका कम मानिसले मात्रै स्पष्ट रूपमा नेपाली बोल्छन् र बुझ्छन्। त्यसमध्ये किरणको लवजमा आधा अवधि भाषा आउँछ। 

यो समुदायको बस्ती ऐलानी रहेछ। केही युवा जसोतसो गरेर भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका छन् भने केही खाडी मुलुक गएका रहेछन्। विदेश रोजगारीमा गएकाहरूले भने अरूको तुलनामा राम्रो घर बनाएका छन्। घर बनाउन नसक्नेहरूको जलनभन्दा पीडा झनै बढी छ। 

अवहेलनाको पराकाष्ठा

यो समुदाय मध्यपश्चिमका तराई र भित्री मधेसका विभिन्न जिल्लाका खुला चौरमा पाल टाँगेर अस्थायी बसोबास गर्ने र आसपास क्षेत्रमा मागेरै जीविका चलाइरहेको छ। यो समुदायको स्थायी बसोबास बाँकेको चौफिरी, सापुरुवा, खुटाहा, सुयालगायत गाउँमा छ भने बर्दियामा पनि यो समुदायको बसोबास छ। 

माग्नेप्रति नेपाली समाजको मनोविज्ञान त्यति सकारात्मक छैन। बसेको बस्ती उनीहरूको पेसाजस्तै अनिश्चित र अस्थायी छ। उनीहरू विभिन्न समय पेसाका लागि बसाइँ सरिरहन्छन्। सहरका सडकदेखि बसपार्क र घरदैलोमा भिख माग्दा उनीहरूमाथि गरिने हेय झनै पीडादायी हुन्छ।

यस्तो अवहेलना मगन्ता समुदायले सहँदै आएको छ। त्यो पनि एउटा पुस्ताले मात्र होइन, पुस्तौंपुस्तादेखि निरन्तर। सिंगो समाजको संरचना, राज्यले समेत तिनलाई सुन्दैन, चिन्दैन।

मगन्ता समुदायको बस्तीमा शुद्ध पानी पिउन छैन, बस्तीमा सडक बनेको छैन। स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्याएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, उनीहरूले थाहा पाउन सकेका छैनन्।


‘माथिबाट माग्नेहरूका लागि पैसा आउँछ तर यहाँका प्रधानहरूले खान्छन्, हामीलाई हेला गर्छन्,’ स्थानीय राजकुमार महाउतले भने, ‘हामीले अहिलेसम्म एक सुको पाएका छैनौं।’

यो गाउँमा पुग्दा कुनै फिल्मी कथाको घटनाजस्तै लाग्छ। कहिलकाहीँ गाउँमा चोरी भयो वा कुनै सामान हराएको प्रहरीमा उजुरी गरिए प्रहरी मगन्ताकै गाउँमा पस्छ। तर प्रहरीले यो गाउँलाई नै पहिलो शंकाको घेरामा राख्छ। 

न पेसा, न पहिचान 

मगन्ता नेपालको अल्पसंख्यक समुदाय हो। बाँकेको हिरमिनियालगायतका विभिन्न ठाउँमा २०० घरपरिवारको झन्डै १ हजार जनसंख्या छ। उनीहरूमध्ये १०० बढी बालबालिका छन्। केही युवामा चेतनाको विकास भने भएको देखियो। उनीहरूले अब मागेर हुँदैन, काम गर्ने र त्यसअनुसारको ज्याला लिनुपर्छ भन्ने बुझेका छन्। 

मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलाई नै मगन्ता जातिको परिचय दिइयो। पुर्खाहरूले नाममा मगन्ता नै लेखाए। तर अहिले युवाहरूलाई आफनो नामको पछाडि झुन्डिने मगन्ता शब्द मन परेको छैन।

पेसा र पहिचानबिना जीवन चलाउन कठिन भएको उनीहरूको गुनासो छ। उनीहरूको हातमा कुनै सीप छैन। मजदुरी गर्ने केही युवाहरूको आर्थिक अवस्था सुधारोन्मुख देखिन्छ। 

पछिल्लो समय यो समुदायका छिटफुट केही बालबालिका स्कुल जान थालेका छन्। तर समुदायमा कोही कसैले शिक्षाको महत्त्व नबुझेका कारण पढ्नुभन्दा माग्नु नै फाइदा हुने उनीहरू बताउँछन्। 

केही गैरसरकारी संस्थाका मानिस आएर उनीहरूलाई अल्पसंख्यक समुदायमा सूचीकृत गरियोस् या दलितमा राखियोस्। या पेसा गर्ने व्यवस्था गरियोस् भन्ने सिकाएका रहेछन्। तर उनीहरू आफूलाई दलित भनेर स्वीकार्न तयार देखिन्नन्।


मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलाई नै मगन्ता जातिको परिचय दिइयो। पुर्खाहरूले नाममा मगन्ता नै लेखाए। तर अहिले युवाहरूलाई आफनो नामको पछाडि झुन्डिने मगन्ता शब्द मन परेको छैन। नामको पछाडि महाउत लेख्न थालेपछि केही आत्मसम्मान मिलेको अनुभव उनीहरू सुनाउँछन्। 

देशमा विकासका नयाँ आयाम भित्रिएका छन्, परिवर्तनका बाछिटाहरू देखा परेका छन्। राज्यको मूलधारबाट सदियौं सीमान्तमा परेका समुदायले आफूलाई सुधार गर्दै राज्यको ढोका ढकढक्याइरहेको अहिलेको समय मगन्ताहरू भिख माग्नुपर्ने अवस्थामै छन्। तीनै तहका सरकारले सञ्चालन गर्ने कार्यक्रमले यो समुदायलाई छुन सकिरहेको छैन। 

प्रकाशित: Jul 07, 2022| 13:30 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।