काठमाडौं- हिति प्रणाली उपत्यकाको अद्वितीय जल व्यवस्थापन प्रणाली हो, जसलाई आम भाषामा ढुंगेधारा भन्ने गरिन्छ। पानीको प्रमुख स्रोतका रुपमा प्रयोग गरिने हिति अर्थात काठमाडौं सभ्यताको पानी प्रणाली सांस्कृतिक परम्परामा गहिरो अध्ययन गरेका पद्यसुन्दर जोशीद्वारा लेखिएको पुस्तक ‘हिति प्रणालीः इतिहास, वर्तमान, भविष्य’ उपत्यकामा लोकार्पण गरिएको छ। प्राचिन हिति प्रणालीमाथि लेखिएको बृहत अनुसन्धनात्मक कृति हो।
‘हिति र पोखरी उपत्यकाका गहना मात्र होइनन्, पानी सञ्चय र प्रवाह गर्ने थलो हुन्। वातावरणीय सन्तुलनका आधार हुन्। तर, ती संकटोन्मुख छन्। तिनको खोजीनीति हुन सकेको छैन। अबको नगरप्रमुखले यसमा चासो दिनु भएको पनि छ’, जोशीले मञ्च अगाडि बसेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई देखाउँदै भने।
हिति प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल ( १७ सय वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। आधा शताब्दी अघिसम्म नेपाल भनेर चिनिने काठमाडौं उपत्यका हालको जनसंख्या विस्फोट हुनु अघिसम्म बास्तुकला र संस्कृतिको विश्वस्तरको जिउँदो नमुना थियो। केही दशक यता खासगरी विस २००७ सालको खुल्लापनपछि र अझ २०४६ सालको परिवर्तन पछि योजनाबिहिन र अनियन्त्रित आप्रवासनसँगै यहाँका कलाकौशल र सम्पदाहरु उपेक्षामा परेका कुरा गरे जोशीले। जोशीले पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिटि आज लगभग नष्ट हुने अवस्थामा पुगेको छ र यदी त्यसको संरक्षणमा लागिएन भने उपत्यकामा पानीको ठूलो हाहाकार हुने समेत बताए। उनले भने, ‘हितिहरुको प्रवर्धन गर्नु र बिग्रन लागेकाका हितिहरुको संरक्षण गर्न ढिलो भए पनि रहेका हितिलाई बचाउन टेवा पुगोस भनेर हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धतीहरु हाल आएर हिति प्रणालीमाथि भइरहेको व्यभिचारहरु र पुननिर्माणका सम्भावनाहरुलाई समेटेर पुस्तक तयार गरिएको हो।’
काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता तथा दिगो सहरी विकासका योजनाकार समेत रहेका पद्यसुन्दर जोशी भन्छन्, ‘हाम्रो हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहारण हो।’
प्रोजेक्ट मार्फ वर्तमान र ऐतिहासिक चित्र तथा फोटो देखाउँदै उनले हिति प्रणालीको इतिहास बर्तमान र भविष्यका बारेमा आफ्नो अनभुव सुनाए, ‘आजको समयमा दिगो सहरी खानेपानी योजनाहरु डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउछौँ, यदी धरै महत्वकांक्षी योजना छ भने तीसचालीस वर्षको सम्मको होला। आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्यो भन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो। किन भने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ।’
जोशीले कार्यक्रममा सबैभन्दा पुरानो हिति मंगलबजारको मंगः हिति हो जुन ईस्वी संवत ५७० मा बनाइएको बताए। उनले भने, ‘१५ सय वर्षअगाडि मानदेवका नाति फारवीले बनाएका इतिहासमा उल्लेख छ। तत्कालीन समयमा उपत्यकामा पानी ल्याउने बूढानीलकण्ठ, बागेश्वरी र टीकाभैरव तीन वटा ठूला सिस्टम थिए। जसमा राजकुलोमार्फत पानी ल्याउने गरिन्थ्यो। थहिति, कोहिति र मरुहिति गरी तीन हिति छन्। यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। कहीँ मुहान सुकेको छ भने कतै फोहोर पानीको दह छ। कहीँ कतै भने सानो पानी आइरहेको देख्न सकिन्छ।’
कार्यक्रमका क्रममा पानी परिरहँदा जोशीले रानी पोखरीको पानी र जमलको सडकमा जम्मा भएको पानी पनि सम्झिए। उनले भने, ‘आकाशको पानी पर्दा सडकमा बग्ने पानीलाई जम्मा गरेर फिल्टर गर्ने प्रविधिमा गइयो भने पानीको अभाव कम हुने छ तर हामी आकाशको पानीलाई ढलतिर बग्न दिएका छौं ढलको पाइपमा जोडिदिनाले त्यो पानी जम्मा गर्ने लायक छैन।’
‘ललितपुरमा मात्रै वार्षिक करिब २ करोड ५० लाख लिटर पानीको अभाव हुने अनुमान गरएको छ। यसबाहेक बाढीका कारण मुलुकभर सबैभन्दा बढी क्षति बागमती प्रदेशमा हुने गरेको तथ्याङ्क छ’, जोशीले हिति जोगाउन बुटी आत्मासाथका साथ थप्छन्’, हामी हिति प्रणालीको संरक्षण र पुनरुत्थान गर्न सक्यौं भने वर्षातको पानी व्यवस्थापन घरायसी उपयोगमा पानी व्यवस्थापन, सतहगत पानी र सिंचाई व्यवस्थापन र प्रयोग भइसकेको पानी व्यवस्थापनलाइ एकपटक सम्बोधन गर्न सकिन्छ।’
प्रकाशक नेपालयले प्रकाशन गरेको पुस्तकलाई ललितपुरका नगरप्रमुख चिरिबाबु महर्जनले लोकर्पण गरेका थिए।