बिहीबार, असार ३२, २०८३

हात गुम्यो त के भो, विश्वमै चिनायो खेलले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मानिसको जीवनयापनमा सहजता प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण अंग हो, हात। हातको मद्दतले असम्भव मानिएका धेरै काम सम्भव हुन्छन्। तर, कल्पना गरौं त हातै नभएको मानिसको दैनिकी कस्तो होला ? त्यस्तै कठिन दैनिकीका बावजुद आफूलाई खेलमा अब्बल देखाउन सफल पात्र हुन्, पारा तेक्वान्दो खेलाडी सीता भण्डारी।

बाबु-आमा, चार दिदी-बहिनी र दुई दाजुभाइ गरी आठ जनाको परिवारमा हुर्केकी उनले आमाबुवाको काखको आनन्द लिन कमै पाइन्। सधैं दुःख र पीडामा जिएकी सीतालाई ६ महिनाकी हुँदा अँगेनाको छेउमा छाडेर परिवार काममा निस्केको थियो। अबोध बालिका उनले आगो खेलाउन पुगिन्, जसका कारण बायाँ हात गुम्यो। त्यो दुर्घटनालाई उनी आफ्नो मानसपटलमा ल्याउन चाहन्नन्, अहिले।

तर, खेलले सीतालाई नयाँ जीवन दियो। उनको जीवन साहस र आत्मविश्वासको कथा हो। आफूजस्तै शारीरिक अशक्तले पनि केही गर्न सक्छ भन्ने सन्देश दिन्छ, सीताको जीवन कथाले।
 

सीता भण्डारीको जीवन साहस र आत्मविश्वासको कथा हो। आफूजस्तै शारीरिक अशक्तले पनि केही गर्न सक्छ भन्ने सन्देश दिन्छ, उनको जीवन कथाले।

उनी नेपालको पहिलो महिला पारा तेक्वान्दो खेलाडी मात्र बनिनन्, मुलुकलाई तीन वटा अन्तर्राष्ट्रिय पदकसमेत दिलाइन्। सानो छँदा गाउँमा फुटबल र क्रिकेटको नाम मात्र सुनेकी थिइन्। काठमाडौं आएपछि थुप्रै खेल खेलिन् र धेरै अनुभव बटुलिन्।

दोलखाको मेलुंगामा जन्मेकी सीताले जीवनका १४ वसन्त जसोतसो गाउँमै बिताइन्। आर्थिक समस्याका कारण कक्षा-८ सम्म मात्र अध्ययन गर्न सकिन्। १४ वर्षको उमेरमा काठमाडौं आउने निधो गरिन्। काठमाडौंबाट दशैंतिहारमा गाउँ फर्किनेहरूले शारीरिक अशक्तता भएकाले पनि काम गर्न सक्ने सुनाए। र, काठमाडौं गएर धेरै पैसा कमाउने सपना पलायो, उनमा।

काठमाडौं आएपछि एक वर्ष घुमघाममै बित्यो। साथीहरूसँग डेरा गरी बसेकी उनले एक वर्षको बसाइपछि काठमाडौं गौशालास्थित ह्यान्डिक्याप तालिम केन्द्रमा भर्ना पाइन्। त्यहाँ उनले पेन्टिङ, ग्रिन कार्ड र मिथिला आर्ट सिकिन्।

सोही तालिम केन्द्रबाट शारीरिक अशक्तका लागि आयोजना भएका खेलमा उनी पनि सहभागी हुन थालिन्। शुरु-शुरुमा टेबलटेनिस खेलिन्। टेबलटेनिसको तीन महिने प्रशिक्षण लिँदै गर्दा मैत्रीपूर्ण फुटबलसमेत खेलिन्। कहिले टेबलटेनिस त कहिले फुटबल खेल्दै उनको जीवन बितिरहेको थियो। सोही क्रममा एकाएक उनलाई ठूलै खेलको अफर आयो।

उनी दशरथ रंगशालामा प्रशिक्षण गर्दै थिइन्। पारा एथ्लेटिक्स एसियन गेममा सहभागी हुन उनलाई ‘अफर’ आयो। उक्त विधाका खेलाडीहरू बिक्रमबहादुर राणा र स्वर्गीय जितबहादुर खड्काले एसियन गेममा सहभागिताका लागि आग्रह गरेका थिए। दुवै जनाको आग्रहलाई उनले नकारिनन्।



किनकि, हरेक खेलाडीको सपना भनेकै ओलम्पिक र एसियन गेममा सहभागिता हुने गर्छ। पहिलो पटक सन् २०१४ मा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइन्। पारा एथ्लेटिक्स एसियन गेममा कुनै सफलता हात पार्न नसके पनि अन्तर्राष्ट्रिय खेलमा अनुभव साट्न पाइन्।

पाँच महिनाको प्रशिक्षण लिएर एसियन पारा एथ्लेटिक्स गेममा सहभागिता जनाएकी थिइन्। प्रतियोगिताको केही महिना अघिदेखि प्रशिक्षण गर्ने नेपाली खेल संस्कृति अहिलेसम्म उस्तै छ। उनलाई पनि त्यस्तै छोटो समयको अवसर प्राप्त भएको थियो। तर, उनले हार मानिनन् र एसियन गेममा सहभागिता जनाइन्।

रंगशालामा पारा एथ्लेटिक्सको प्रशिक्षण क्रममा प्रशिक्षक कल्याण कुँवरसँग भेट भयो, सीताको। उनको साहस र आत्मविश्वास देखेर प्रशिक्षक कुँवरले पारा तेक्वान्दो खेल्न आग्रह गरे। प्रशिक्षक कुँवरले आफ्नै दाइ यादव कुँवरको उदारण दिँदै उनमा आत्मविश्वास जगाए।

उनको आग्रह स्वीकार्दै सीताले पारा तेक्वान्दोको प्रशिक्षण लिन थालिन्। र, नेपालको पहिलो पारा तेक्वान्दो महिला खेलाडी बनिन्। नेपालमा पारा तेक्वान्दोको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका प्रशिक्षक कुँवरले सीतालाई पनि नयाँ जीवन दिए।

दशरथ रंगशालामा सीताले करिब डेढ वर्षको प्रशिक्षण लिइन्। अनि, सन् २०१५ मा पहिलो पटक टर्कीमा भएको पारा तेक्वान्दो एसियन गेममा सहभागिता जनाइन्। त्यसमा पदक जित्न नसके पनि धेरै अनुभव साट्न पाइन्। त्यस प्रतियोगिताबाट धेरै खुशी मिलेको उनी बताउँछिन्।

नेपाल खेलकुद पत्रकार मञ्चबाट स्पोर्टस् अवार्ड २०७२ मा वर्षको उत्कृष्ट पारा खेलाडीको अवार्ड थाप्दा भावुक हुँदै यति मात्र बोल्न सकिन्, ‘वास्तवमै म खुशी छु, धेरै खुशी छु।’ त्यसबाट आफूले नयाँ जीवन पाएको अनुभूति गरेकी थिइन्।


त्यसपछि लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालिन्। स्वदेशमा नभए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै अलग्गै पहिचान बनाइन्। रुसमा भएको पारा युरोप च्याम्पियनसिपमा उनले कास्य पदक जितिन्। त्यसपछि झनै उनको खेलले उचाइ लियो।

यस्तै, पाँचौं पारा तेक्वान्दो एसियन गेममा उनले पुनः दोस्रो अन्तर्राष्ट्रिय पदक जितिन्। उनले पाँचौं एसियन गेममा कास्य पदक जितेकी थिइन्। पछिल्लो पटक उनले गत जेठमा भियतनाममा सहभागिता जनाएकी थिइन्। उक्त प्रतियोगितामा चाहीं उनले खाली हात फर्किनुपर्‍यो।

२०७४ सालमा उनी दुई वटा पुरस्कारबाट सम्मानित भइन्। पहिलो वर्षको उत्कृष्ट खेलाडी बन्दै खेलकुद मन्त्रालयबाट सम्मानित भइन्। दोस्रो शहीद दशरथ चन्द मेमोरियल ट्रस्टले आठ खेलाडीलाई मेधावी खेलाडी पुरस्कार प्रदान गर्दा उनको नाम पनि समेटिएको थियो। उक्त सम्मान ०७३ सालमा भएका विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनमा आधारमा प्रदान गरिएको थियो।

यस्तै, नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड २०७२ मा वर्षको उत्कृष्ट पारा खेलाडीको उपाधि जितिन्। त्यसबेला शायद कार्यक्रममा अवार्ड पाएर सबैभन्दा खुशी हुने कोही थियो भने सीता नै थिइन्। किनकि, उनले सोही अवार्डबाट आफूले नयाँ जीवन पाएको अनुभूति गरेकी थिइन्। अवार्ड थाप्दा उनले भावुक हुँदै खाली यति मात्र बोल्न सकिन्, ‘वास्तवमै म खुशी छु, धेरै खुशी छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।