काठमाडौं- जीवन चलाउन नामले मात्रै पुग्दैन्, दाम अनिवार्य छ। त्यसैले त नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका खेलाडी विदेश पलायन हुनेक्रम बढेको छ। राष्ट्रिय टोली र घरेलु प्रतियोगितामा खेलेर नाम कमाएका खेलाडीहरुले कठोर निर्णय लिनुको कारणमध्येको प्रमुख हो- खेल क्षेत्रको कमाइले जीवनयापनमा कठिनाइ।
फुटबल खेलाडीको मुख्य आम्दानीको स्रोत हो-व्यवसायिक फुटबल। र त्योसँग जोडिएर आउने अन्य आम्दानीका स्रोत। तर नेपालमा व्यवसायिक फुटबलको जग कमजोर छ। फुटबल संस्कृति र संस्कार त नेपालमा राम्रै छ। फुटबलप्रतिको लगाव र प्रेम नेपालीहरुमा नभएको कहाँ हो र? तर व्यवसायिक फुटबलको अवस्था भने दयानीय छ।
अखिल नेपाल फुटबल संघले वर्षमा एकपटक तीन महिनाका लागि शहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्छ।त्यसबाहेक नेपाल सुपर लिग सञ्चालन हुन्छ। यी दुई प्रतियोगिता नै खेलाडीका लागि प्रमुख आम्दानीका स्रोत हुन्। देशभर विभिन्न नाममा हुने गोल्डकपले पनि खेलाडीको आयमा भरथेग गर्दै आएका छन्। तर, त्यो आम्दानी एक खेलाडीका लागि जीवनका उर्जावन समय फुटबलमा खर्चिएर सुखद् भविष्यको सुनिश्चित हुने कुरामा ढुक्क हुन पर्याप्त हुँदैन।
ए डिभिजन लिगमा केही यस्ता खेलाडी पनि छन्, जसले महिनाको २ लाखसम्म आम्दानी गर्छन्। तर समान्य खेलाडीको तलब सरदरमा ३० हजार जति मात्रै हुन्छ। नेपाल सुपर लिगमा कतिपयले ५/६ लाख रुपैयाँ लिएका पनि छन्।
राष्ट्रिय टिमबाट खेलेका खेलाडीका लागि भने एन्फाले भत्ता दिन्छ- मासिक १८ हजार। तर सबै खेलाडीका भागमा एन्फाले दिन भत्ता पर्दैन। विभागीय टोली (त्रिभुवन आर्मी क्लब, शशस्त्र प्रहरी बल र नेपाली पुलिस क्लब) मा अनुबन्ध भएका खेलाडीले मासिक तलब बुझ्छन्। तर यो आम्दानीबाट खेलाडीहरुले सुखद् र सुरक्षित भविष्यको कल्पना गर्न सकिरहेका छैनन्। त्यसैले त आफ्नो सुनिश्चित भविष्यका लागि खेलाडी विदेशिने क्रम जारी छ।
भर्खरै मात्रै नेपाली राष्ट्रिय टिमका मिडफिल्डर सन्तोष तामाङ र फर्वाड दर्शन गुरुङ अष्ट्रेलिया लागे। यी दुई खेलाडीले महिना दिनअघि मात्रै कुवेतमा भएको एएफसी एसियन कप छनोट अन्तर्गतका खेल खेलेका थिए। कुवेतमा राष्ट्रिय टोलीबाट खेलेर फर्किए लगत्तै उनीहरु रोजगारीका लागि विदेशिएका हुन्।
ठूलो मेहनत र कठोर संघर्ष गरेर यहाँ आइपुगेका हुन्छन्, त्यसैले यसरी टोलीबाट फुत्त निस्किएर बाहिर जाने कसैको रहर हुँदैन। तर मनै नभए पनि पैसा नभएपछि यो नै विकल्प हो।
दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका दर्शनले एसियन कप अन्तर्गत कुवेतविरुद्ध गोल गर्दै इतिहास रचेका थिए। कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्ने ऐतिहासिक खेलाडी बनेका दर्शन राष्ट्रिय टिमका सुन्दर भविष्य थिए। तर उनी आफैंले चाहीँ फुटबल खेलेर आफ्नो भविष्य सुन्दर देखेनन्।
दर्शन न्युरोड टिम (एनआरटी)का कप्तान समेत थिए। चार वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका सन्तोषले नेपालका लागि १६ खेल खेलिसकेका छन्। घरेलु लिगमा उनी विभागीय टोली नेपाल आर्मीका प्रभावशाली मिडफिल्डर मानिन्थे।
त्यसो त विदेश पलायन हुने खेलाडीको सूचीमा दर्शन र सन्तोष नाम मात्र छैन। रोजगारीका लागि मिडफिल्डर हेमन गुरुङ, गोलकिपर एलन न्यौपाने, जगजित श्रेष्ठ र राष्ट्रिय टिमबाट खेलिसकेका निरोज बस्नेत पनि छन्। निरोजले २०७७ सालमा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा उनले डेब्यु गरेका थिए। उनी न्युरोड टिमबाट ए डिभिजन लिग खेल्थे। यही वर्षमात्रै राष्ट्रिय टिमबाट खलिसकेका सुमन लामा र आशिष लामा पनि अष्ट्रेलिया गएका छन्। र अन्य केही खेलाडी पनि विदेशिने तयारीमा रहेको स्रोतको दाबी छ।
बर्षौंको कडा मेहनत र परिश्रमले गाँउबाट उठेर राष्ट्रिय टोलिसम्मको यात्रा तय गरेका खेलाडी विदेशिने क्रम बढेसँगै नेपाली फुटबलको भविष्य र तालुकदार निकायमाथि ठूलो प्रश्न उब्जिएको त छ नै सँगै खेलाडी पलायनको क्रमलाई रोक्ने चुनौति पनि थपिएको छ। व्यवसायिक फुटबलको बलियो जग हाल्न सके खेलाडीको आय र स्तर दुवै सुध्रन सक्छ। तर एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगको दायरा 'चार जिल्ले कप' भन्दा माथि उठ्न सकेको छैन। तर त्यही लिग सञ्चालनमा समेत बेलाबखमा झमेला देखिन्छन्। राष्ट्रिय टिमको खेल तालिकालाई छाड्ने हो भने खेलाडीलाई खेल्नै मुस्किल पर्ने अवस्था छ। अझ राष्ट्रिय टिममा समेत सबैले स्थान बनाउने टुंगो पनि हुँदैन।
नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सागर थापाका शब्दमा खेलाडी विदेश पलायन हुनु रहर नभएर बाध्यता हो। 'अहिलेको परिस्थितिमा खेलाडीभाइहरु विदेश पलायन हुनु रहर होइन्, बाध्यता हो। राष्ट्रिय टिमसम्मको यात्रा तय गर्नु भनेको एउटा खेलाडीका लागि सामान्य कुरा हुँदै होइन,' उनी भन्छन्, 'ठूलो मेहनत र कठोर संघर्ष गरेर यहाँ आइपुगेका हुन्छन्, त्यसैले यसरी टोलीबाट फुत्त निस्किएर बाहिर जाने कसैको रहर हुँदैन। तर मनै नभए पनि पैसा नभएपछि यो नै विकल्प हो।'
उनी त खेलाडी पलायन हुने क्रम अझ बढ्न सक्ने आँकलन गर्छन्। 'अहिले जस्तै खेलाडीले फुटबल खेलेर आफ्नो भविष्य देख्न सक्दैन भने पलायन हुने क्रम अझ बढ्न सक्छ। त्यसका लागि देशव्यापीरुपमा खेलको माहोल बढाउनु पर्छ। अनि एन्फाले पनि खेलाडीको पारिश्रमिक बढाउनु पर्छ। अनि मात्रै खेलाडीको भविष्यको सुनिश्चित हुन्छ,' सागर भन्छन्, 'अहिले एन्फामा नयाँ टिम आएको छ। नयाँ टिमले खेलाडी समस्यालाई प्राथमिकतामा राख्ने बताएको छ, त्यसैले सुधार आउनेछ भन्ने लाग्छ। तर अहिलेकै स्थिती कायम रहे खेलाडीको भविष्य सुनिश्चित छ भन्न सकिँदैन्। खेल्न सकिन्जेल खेल्ने अनि सन्यास लिएपछि चाहिँ के गर्ने?भन्ने प्रश्न सबैभन्दा प्रधान भएर आउनेछ।'
तर एन्फा भने खेलाडीका लागि घरेलु लिग मात्रै विकल्प नरहेको दाबी गर्छ। विदेशी लिगमा खेलिरहेका केही नेपाली खेलाडीको उदाहरण दिँदै महासचिव किरण राई भन्छन्, 'राम्रा खेलाडी जहाँ गएर पनि खेल्न सक्छन्। व्यक्तिगत निर्णयले विदेश जाने अनि दोष जति सबै एन्फालाई दिने? यो त हिलो छ्यापेर गएको जस्तो भयो नी!'