काठमाडौं- दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारिलमा गत जेठ २५ गते बिहान एउटा हृदयविदारक घटना घट्यो। राति बारिलबासी मस्त निन्द्रामा थिए। सोही गाउँकी एकल महिला ४० वर्षीया अनिभा खडायतलाई भने निन्द्रा लागिरहेको थिएन।
उनका दुई छोरी भने मस्त निन्द्रामा थिए। दुर्गम पहाडी गाउँ। बाहिरबाट चोर आउने त्रास पनि थिएन। किनकि सामान्य परिवारको बसोबास रहेको गाउँमा लुट्नका लागि के नै हुन्थ्यो र। त्यसैले ढोका बन्द नगरेरै राति २ बजेतिर मधुर बत्तीको उज्यालोमा जीवन र दुई छोरीको चिन्ता गर्दै टोलाइरहेकी हुँदी हुन् अनिभा सायद।
‘भाउजू! भाउजू!’ कसैले अनिभालाई घर बाहिरैबाट बोलायो। यति राति कसको आवाज होला! उनकी १६ वर्षीया छोरी गौमतीले पनि आवाज चाल पाउँछिन्। उनकी आमालाई बोलाउने अरु कोही नभएर गाउँकै नजिककै नाता पर्ने भोजबहादुर रहेछन्।
भोजबहादुरले काम छ भन्दै अनिभालाई बाहिर लगे। अनिभालाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरे। त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाए। दुई पटक टाउकोमा हिर्काएपछि अभिना भुइँमा लडिन्।
भोजबहादुर नजिकै रहेको खरले अभिनालाई छोपेर अनिभाकै घरतर्फ लागे। उनको घरमा पुगेर १६ वर्षीया छोरीलाई लखेट्न थाले। प्रहरी अनुसन्धानका क्रममा घटनाको उक्त रहस्य खुलेको हो।
अहिले भोजराज पुर्पक्षका लागि थुनामा छन्। उनले घटनाबारे आफ्नो संलग्नता स्वीकार गरेका छन् र बयानका क्रममा घटना कसरी भयो भन्ने प्रहरीसमक्ष बताएका छन्। जिल्ला अदालत दार्चुलाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भोजराज खडायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
यस्तो भन्छन् घटनाका अभियुक्त
२४ गते बेलुकी हामी तीन जना साथी रक्सी खान बैतडीको सिमार बजार पुगेका थियौं। गाउँमा रक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको थियो। त्यसैले हामी सिमार पुगेका हौं। त्यहाँ हामीले दुई बोतल रक्सी पियौं। त्यति गर्दा रातिको १२ बजिसकेको थियो। गाउँ आइसकेपछि हामी आफ्नो घरतर्फ लाग्यौं। मेरो घर जाने बाटो अनिभाको घर हुँदै पर्थ्यो। अनिभाकोमा आइपुग्दा मैले घरको ढोका खुल्लै देखें। भित्र बत्ती बलिरहेको थियो।
अनिभा कोठामा एक्लै थिइन्। दुइटी छोरी अर्को कोठामा निदाएका थिए। भित्रै पसेर मैले अनिभालाई जरुरी काम छ भन्दै बाहिर बोलाएँ। यो कुरा अनिभाकी १६ वर्षीया छोरी गोमतीले पनि थाहा पाइसकिछ। सायद त्यो बेला रातिको २ बजेको हुँदो हो।
मैले अलिक टाढै लैजान खोजेको थिएँ। तर, अनिभाले मानिन। त्यसपछि त्यही उखुबारीको छेउमा लगेर जबरजस्ती करणी गरें। त्यसक्रममा अनिभाले गाली गर्दै प्रतिकार गरेपछि मैले ढुंगाले टाउकोमा प्रहार गरेर घाइते पारिदिएँ।
दुई पटक ढुंगाले हानेपछि अनिभा भुइँमा लडेर छटपटाएकी थिई। म नजिकै रहेको खरले अनिभालाई छोपेर उसकै घरतर्फ लागें। मेरा लुगा हराएकाले म खोज्न उसको घरतर्फ गएको थिएँ। पाइन्ट र एउटा चप्पल मात्रै मैले घटनास्थलमा भेटेको थिएँ। बाँकी लुगा अनिभाकै घरमा छाडेको मलाई लागेको थियो।
त्यहाँ पनि मैले मेरा लुगा भेटिनँ। हातमा लागेको रगत पखालें। घर नजिकै डिलमा बसेर गोमती मोबाइल चलाइरहेकी थिई। उसले आमालाई फोन गरिरहेकी रहिछ। मैले घटनबारे थाहा पाई भन्ठाने र उसले प्रहरीलाई खबर गरिरहे झैँ लाग्यो।
त्यसपछि प्रहरीलाई खबर गर्ने डरले मैले गोमतीको हातबाट मोबाइल खोस्न खोजें। दुवै हात समातेर मोबाइल खोस्न खोज्दा गोमती भाग्न सफल भई। भाग्दै खोला पारी पुगेपछि म फेरि फर्किएँ र अनिभालाई गहुँको नल थपेर आगो लगाइदिएँ।
अनिभाले लगाएका सुनका गहना पहिले नै गोजीमा राखिसकेको थिएँ। गोजीमै सलाई भएकाले कुनै प्रमाण नरहोस् भनेर मैले अनिभाको जिउँदो शरीरमा आगो लगाएको हुँ। छटपटाउँदै गरेकी अनिभालाई आगो लगाएर म भागेँ।
गोमती अत्तालिँदै भाउजुको घरमा पुगेपछि होहल्ला भएको थियो। त्यसपछि आफन्तहरू उठेको र केही पर आगो बलिरहेको देखेको पाइएको प्रहरीको भनाइ छ। गोमती र गाउँकै केही मान्छे आगो बलिरहेको ठाउँमा पुगेका थिए। त्यहाँ अनिभा जलिरहेकी थिइन्। उनको एक हात र खुट्टा पूर्ण रुपमा जलिसकेको र शरीरको अन्य भाग जल्दै गरेको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए।
बलिरहेको आगोको बाहिर हात देखियो र त्यसपछि छोरी गोमती बेहोस भइन्। गाउँलेले प्रहरीलाई खबर गरे। प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो। घटनामा संलग्न व्यक्तिबारे गाउँलेलाई जानकारी भएकाले प्रहरीलाई अभियुक्त खोज्नुपर्ने चुनौती थियो। भोजराज गाउँबाट भागिसकेकाले प्रहरीले त्यो दिन भेट्टाउन सकेन।
शव पोस्टमार्टम र अभियुक्तको खोजी सँगै सुरु भयो। त्यही दिन गाउँलेले शव पोस्टमार्टमका लागि सदरमुकाम लगे। प्रहरीले अघिल्लो दिन भोजराजसँगै रक्सी खाने दुई जनालाई पक्राउ गर्यो। तर अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएन।
भोजराज भने त्यो दिनभरि बैतडीको गन्नाको बाटो हुँदै पुर्तौडी हाटतर्फ गएको सुइँको प्रहरीले पायो। उनी त्यहाँबाट ढोल्या मोडको नजिकको गाउँमा पुगे। पक्राउ पर्ने डरले उनी गाउँतिर गएनन्। जंगलतिरै फर्किए। त्यसरात जंगलमै रुखमा बसे। भोलिपल्ट बझाङतिर जाँदै गर्दा उनी सडकमा निस्किए। दिउँसो १२ बजेतिर सडकमा निस्किनासाथ उनलाई प्रहरीले पक्राउ गर्न सफल भयो।
दार्चुला ल्याएर प्रहरीले अनुसन्धान सुरु गर्यो। २५ दिन लामो अनुसन्धानपछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझायो। भोजराजले पनि उक्त क्रूर हत्यामा अरू कसैको पनि संलग्नता नरहेको बताए। रक्सीको मातमा रहेका भोजराजले भाउजूमाथि बलात्कार मात्रै गरेनन्। जिउँदै जाएर क्रुर अपराध गरेको पुष्टि भयो।
भोजबहादुर चमेली हाइड्रोपावरका सुरक्षा गार्ड थिए। अनिभाका श्रीमान् ७ वर्षपहिले नै बितेका थिए। उनका तीन छोरी र एक छोरा छन्। जेठी छोरीको विवाह भइसकेको छ। छोरा कामका लागि भारतको बेंग्लोरमा थिए।
१२ वर्षीया कान्छी छोरी भने आमाको हत्या हुँदा घरमै निदाइरहेकी थिइन्। उनले घटनाबारे पछिमात्रै थाहा पाइन्। उक्त घटनाले सिंगो गाउँलाई नै शोकमा छ।