आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।
 |  शुक्रबार, असार १७, २०७९
nespernesper

राज सरगम

राज सरगम

शुक्रबार, असार १७, २०७९

काठमाडौं–  तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन्। शुक्रबार बिहान अध्यक्ष ‘प्रचण्ड’लाई भेट्न हमाल खुमलटार निवास पुगेका थिए। 

triton college

राजनीतिक र चलचित्र क्षेत्रका दुई हस्तीलाई मिलाउन संगीतकार तथा नेकपा माओवादी केन्द्र निकट चेतन सापकोटाले भूमिका वहन गरेका थिए। सापकोटाका अनुसार प्रचण्ड र हमालबीच चलचित्र क्षेत्रदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा–परिचर्चा भए। 

उनले भने, ‘प्रचण्डसँग हमालले समसामयिक राजनीति, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपायलगायत विषयमा कुराकानी गरे।’ हमालले दक्षिण भारतीय फिल्मले नेपाली सिनेमा उद्योगमा पारेको असरबारे प्रचण्डको ध्यानाकर्षण गराएका थिए। सरकारले विदेशी विलासिताका वस्तु आयातमा रोक लगाउने निर्णय गरे पनि विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले अध्यक्ष प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका थिए। 

प्रचण्ड र हमालबीचको भेटमा भएका कुराकानीको विषय भने सार्वजनिक गरिएको छैन। प्रचण्डको सचिवालय सदस्यहरूले पनि यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। 

सापकोटाका अनुसार हमालले प्रचण्डसँगको भेटमा एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए। प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए। यस्तै, श्रीलंकामा हाल उत्पन्न संकटका विषयमा पनि नेता–अभिनेताबीच कुराकानी भएको थियो।

Metro Mart
vianet

हमालले प्रचण्डलाई अचानक भेटेपछि राजनीतिक वृत्तमा भने तरंग फैलिएको छ। हमालले चलचित्र विकास बोर्डको अध्यक्ष वा राजदूत नियुक्तिको सिफारिसका लागि भेटेका हुन सक्ने अनुमान छ। 

प्रचण्डसँगको भेटमा हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत दिएका थिए। राजनीतिमा आउन नहुने कुनै कारण नरहेको भनाइ थियो हमालको। प्रचण्डले पनि राजनीतिमा हमालजस्ताको खाँचो रहेको भने पनि नेकपा माओवादीमा आउनुस् नभनेको स्रोतले बताएको छ। 

हमालले संगीतकार सापकोटा र प्रचण्डपुत्री गंगा दाहालसँग प्रचण्डसँग सामूहिक र पछि दुई जनाबीच एक्लाएक्लै कुराकानी भएको थियो। सापकोटाले भने, ‘बाहिरबाट हामीले हेर्दा दुवै खुलेर कुराकानी गरिरहनुभएको थियो। दुवै एकअर्काप्रति समर्थन जनाउने हाउभाउ देखाइरहनुभएको थियो।’

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

नेपाली सिने क्षेत्रका कलाकारलाई यसअघि नेता प्रचण्डले यति धेरै समय नदिएको सापकोटा बताउँछन्। उनले भने, ‘हमाल दाजुसँग कमरेड प्रचण्डले पहिलो पटक यति लामो समय दिनुभएको हो। भेटमा सबै खाले विषयमा कुराकानी भयो।’  

गत असार ५ गते सञ्चार मन्त्रालयले सूचनामार्फत चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन मागेको थियो। त्यसपछि बोर्डको अध्यक्ष नियुक्तका लागि कलाकारहरू नियुक्ति पड्काउन नेताहरूका घरदैलो चहारिरहेका छन्। सोही कारण पनि हमालले प्रचण्ड भेट्नु अर्थपूर्ण मानिएको छ। तर यत्तिका समय अध्यक्ष पदका लागि उनी कतै सुनिएनन्।

उनले केही समयअघि भनेका थिए, ‘राजनीतिमा चासो छ। सक्रिय राजनीतिमा लागिहाल्ने मुड बनाएको छैन। कलाकारितालाई च्याट्टै छाडिहाल्न सकेको छैन। राजनीतिमा लागेर बलिउडका केही कलाकार पछुताएझैं पछुताउन चाहँदिनँ।’ 

राजनीतिमा कहिलेबाट आउनुहुन्छ भनेर प्रश्न तेस्याउँदा हमालले राजनीति गर्छु भन्ने पक्का छैन भनेर धेरै ठाउँमा जवाफ दिइसकेका छन्। तर एकाएक प्रचण्डलाई भेटेपछि उनी खुलेर राजनीतिमा आउन लागेको संकेत देखिँदै छ। 

हमालले केही समयअघि दिएको अन्तर्वार्तामा भनेका थिए, ‘सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ। जुनसुकै राजनीतिक दलबाट पनि निर्वाचनमा खडा हुन टिकट पाउँछु। मेरो उद्देश्य राजनीतिका लागि राजनीति गर्ने होइन। त्यस्तो राजनीतिले खासै उपलब्धि दिँदैन। खाली व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ। इमानदार भएर राजनीति गरियो भने नीति निर्माण तहमा केही प्रभाव पार्न सकिन्छ। राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छुजस्तो लागेको दिन पक्कै राजेश हमाल राजनीतिमा होमिनेछ। त्यो दिन पनि आउला।’

उनले राजनीतिमा आएर चुनाव जिते भने पहिलो काम भ्रष्टाचार निर्मूल पार्न  कोसिस गर्नेछु भनेका छन् । 

तीन दशकसम्म नेपाली फिल्म उद्योगमा राज गरेका हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेतामा गनिन्छन्। आज राजेशले कोरेको बाटोमा यात्रा गर्ने अनगन्ती यात्रीहरू थपिएका छन्। २०७० को दशकमा आएर हमालले राजनीतिमा चासो दिइरहेका छन्।

राजनीतिमा कहिलेबाट आउनुहुन्छ भनेर प्रश्न तेस्याउँदा हमालले राजनीति गर्छु भन्ने पक्का छैन भनेर धेरै ठाउँमा जवाफ दिइसकेका छन्। तर एकाएक प्रचण्डलाई भेटेपछि उनी खुलेर राजनीतिमा आउन लागेको संकेत देखिँदै छ। 

हुन त उनको पारिवारिक पृष्ठभूमि राजनीतिक नै हो । उनका बुबा राजदूत थिए। युगदेखि युगसम्म फिल्म हिट हुन्थेन भने हमालले बुबाकै माग पछ्याउँथे होलान्। तर उनले हिँडेको बाटोमा पहिलो पटक नै सफल भएपछि आफ्नो यात्रालाई निरन्तरता दिए। उता राजदूत बुबाको मन भने राख्न सकेनन् । 

उनका बुबा चूडाबहादुर हमाल कूटनीतिज्ञ थिए। आफ्ना बाबु परराष्ट्र मन्त्रालयमा जागिरे भएसँगै राजेशको देश–विदेश यात्राले निरन्तरता पायो। हमाल ३ वर्ष हुँदा बुवाको सरुवा पाकिस्तानमा भयो। पाकिस्तानपछि नयाँदिल्ली सरुवा भयो। हमाल पाकिस्तान र दिल्लीमा हुर्किए। त्यसपछि नेपालमा सरुवा भएसँगै जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा बाँकी पढाइ सुरु गरे, हमालले। पछि रुस र थाइल्यान्डमा अध्ययन गरे। विदेशी भूमिबाट सुरु भएको विश्वविद्यालय पढाइ भने उनले भारतको पञ्जाब चण्डीगढबाट सकाए। बाबुले चलचित्र क्षेत्रमा नलाग्न आग्रह गर्दा पनि राजेशले यही क्षेत्र रोजे। राजेशका बुबा चाहन्थे, छोराले आफूले जस्तै केही गरोस्। तर कलाकारितामा लागेका राजेशले सिनेमा क्षेत्रमै संघर्ष गरे। 

पाकिस्तानस्थित नेपालको राजदूत भएर पाकिस्तान पुगेका हमालका बुबाको ५६ वर्षमै निधन भयो। कतै राजेश अब दिवंगत आप्mना बुबाको अधुरो सपनाल पूरा गर्न राजदूत हुन खोजिरहेका त छैनन्? 

सयौं चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेका हमालले अहिले पनि अभिनयलाई निरन्तरता दिइरहेका छन्। ढिलो विवाह गरेपछि पछिल्लो समय हमाल भ्रमण, सांस्कृतिक कार्यक्रम र उद्घाटन र महोत्सवजस्ता कार्यक्रममा व्यस्त हुँदै आएका छन्। विभिन्न टेलिभिजन सोमा पनि काम गर्दै आएका हमालले राजनीतिमा हामफाल्न थाले कि भन्ने अनुमान गरिँदै छ। 

ओलीको रोजाइमा पनि परेका थिए

राजेशलाई राजनीतिमा ल्याउन धेरै पार्टी नेताहरूले पहल गरिरहेका छन्। यो कोसिस अघिल्लो पटक एमाले अध्यक्ष केपी ओलीले गरेका थिए। २०७४ को चुनावपछि देशकै ठूलो पार्टी बनेपछि ओलीलाई भेटेरै बधाई दिन राजेश बालकोट पुगेका थिए। वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसको नेतृत्वकर्ता ओली भएको भन्दै हमाल बालकोटस्थित निवासमा बधाई दिन पुगेका थिए। 

राष्ट्रियताको पक्षमा अडान लिएर नेपालीलाई उत्साहित बनाएको जस दिँदै हमालले ओलीको प्रशंसा गरेका थिए। सोही भेटमा ओलीले हिरोहरूले चलचित्रमा अभिनय मात्रै नभई देश बनाउन पनि भूमिका निर्वाह गर्नुपर्छ भन्दै राजनीतिमा आउन सुझाएका थिए। 

गणतन्त्रपछि थुप्रै कलाकार राजनीतिमा आए। तर थोरै कलाकार मात्रै स्थापित भएका छन्। एकै पार्टीमा आस्था राखेर बसेका कलाकार केन्द्रीय राजनीतिको चर्चामा आउन सकेका छैनन्। 

प्रकाशित: Jul 01, 2022| 16:04 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...