आइतबार, जेठ ६, २०८१

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।
 |  शुक्रबार, असार १७, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

शुक्रबार, असार १७, २०७९

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अहिले स्वदेश फर्किएकी छन्। कोरोना महामारीका कारण करिब दुई वर्षपछि ३० मे २०२२ को पहिलो उडानमार्फत चिनियाँ राजदूत यान्छी स्वदेश फर्किएकी हुन्। उनले २ जुनमा ट्विटरमार्फत चीन-नेपाल पहिलो उडानमार्फत स्वदेश फर्किन पाएकोमा खुसी व्यक्त गरेकी छन्।

triton college

चीनको उत्तर पश्‍चिममा पर्ने भूपरिवेष्ठित प्रान्तमा जन्मिएकी यान्छीले सन् १९९६ देखि चिनियाँ विदेश मन्त्रालयअन्तर्गत एसियाली मामिला विभागबाट सेवा सुरु गरेकी थिइन्। सन् १९९८-२००१ सम्म पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा रहेर काम गरेकी यान्छीले २००१ देखि २००७ सम्म चिनियाँ विदेश मन्त्रालयमा रहेर एसियाली देशहरु हेर्ने जिम्मेवारी पाइन्। 

२००९ सम्म लस एन्जेलसको कन्सुलरका रुपमा काम गरिन् भने सन् २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयअन्तर्गत नै रहेर एसिया क्षेत्रको सुरक्षा, आर्थिकलगायत क्षेत्रमा काम गरेकी थिइन्। सन् २०१८ देखि नेपालमा रहेकी यान्छीको कार्यकाल पनि करिब सकिन लागेको छ। अहिले उनी बिदा मनाउन चीन घर फर्किएकी हुन्। 

डिसेम्बर २०१८ मा नेपालका लागि राजदूत नियुक्त भएकी यान्छीले ७ जनवरी २०१८ मा नेपालका राष्ट्रपति विद्या भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएकी थिइन्। यान्छीले नेपालको राजदूतको रुपमा कार्यभार सम्हाल्दै गर्दा नेपालको राजनीतिमा निकै ठूलो ध्रुवीकरण भएको थियो। नेपालका दुई ठूला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको सात महिना भइसकेको थियो।

नेपालमा 'लाल' पार्टीको नेतृत्वमा सत्ता थियो भने यहाँका कम्युनिस्टहरुलाई राखेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले प्रशिक्षण दिने गरेका थिए। नेपालका कम्युनिस्ट पार्टीहरुको चीनतर्फको दौड र प्राय:जसो हुने प्रशिक्षणले गर्दा नेपालका दुई ठूला वामपन्थीहरुबीचको एकतामा चिनियाँ पक्षको हात रहेको आकलन गरिएका थिए। 

corrent noodles
Metro Mart


होउ यान्छी नेपाल आउँदै गर्दा उनलाई दुई मुख्य जिम्मेवारी सुम्पिएको थियो। जसमा सन् २०१७ मा नै नेपालसँग सम्झौता भएको चिनियाँ राष्ट्रपति सी जिन पिङको महत्वाकांक्षी परियोजना बीआरआई कार्यान्वयन गराउनु र नेपालमा वामपन्थीहरुलाई एकताबद्ध गर्न भूमिका खेल्‍नु थिए।

दुई दशक लामो चिनियाँ कूटनीतिमा सक्रिय यान्छीले नेपाल आउनुअघि चिनियाँ विदेश मन्त्रालयमा रहेर एसियाली मामिला विभागको जिम्मेवारी सम्हालेकी थिइन्। नेपालमा उनले सुरुदेखि नै यहाँ राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई बढाउँदै लगेकी थिइन् भने व्यापार-व्यवसायमा संलग्‍नहरुसँग पनि सम्बन्ध विस्तारमा सक्रिय भएकी थिइन्। 

थोरै बोल्‍ने र काम गरेर परिणाम दिने नीति लिएको चिनियाँ राजदूतले पहिलो पटक ट्विटर ह्यान्डल सिर्जना गरिन्। नेपाल आएको ६ महिनामा उनले ट्विटर ह्यान्डल बनाएकी थिइन्। उनको पहिलो ट्विट नै दक्षिण एसियाको विकास र समृद्धिका लागि बेल्ट-एण्ड रोड इनिसिएटिभ (बीआरआई) को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएको तस्बिरसहितको पोस्ट थियो। यसबाट पनि उनीमाथि बीआरआई कार्यान्वयन गराउने ठूलो जिम्मेवारी रहेको बुझ्‍न सकिन्छ। 

नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएको कार्यक्रमका तस्बिरहरु पोस्ट गर्दै लेखेकी थिइन्, 'छिमेकीसहित दक्षिण एसियाली मुलुकमा आर्थिक र सामाजिक विकास प्रवर्द्धन गर्न बीआरआईमार्फत सहकार्यलाई विस्तार गरिनेछ।' 

उनले अन्य राजदूतजस्तो उच्च तहको भेटघाट मात्रै नभएर आमनागरिकजस्तो स्थानीयसँगको भेटघाटलाई पनि अघि बढाउँदै लगेकी थिइन्। २२ जुन २०१९ मा उनले नेपालका लागि चिनियाँ धानको बिउ उपलब्ध गराउँदै चीन र नेपालबीचको विकास धानको सहकार्य सफल होस् भन्‍ने कामनासहितको ट्विट गरेकी थिइन्। नेपालका जलविद्युत परियोजना, पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउन उनको पहल रह्यो।

नेपालीको मत जित्‍न उनले कहिले नेपाली गीतमा चिनियाँहरु नाचेको भिडियो पोस्ट गरिन् त कहिले आफैं नेपाली पहिरनमा सजिएर नाचिन्। १७ जुलाई, २०१९ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासमा आयोजित समारोहमा उनले गरेको नृत्यले धेरैको मन छोएको थियो। यसले नेपालीहरुसँग घुलमिल हुन उनलाई सजिलो भयो। 

नेपालीहरुसँगको संलग्‍नता बढाउन दूतावासमा नै विभिन्‍न कार्यक्रम गर्ने र नेपालीहरु सहभागी गराउने क्रमलाई पनि उनले तीव्रता दिइन्। नेपालले पर्यटन वर्ष २०२० को तयारी गरिरहेको समयमा नेपालका विभिन्‍न क्षेत्र घुमेर त्यहाँका तस्बिरहरु पोस्ट गर्न थालिन्।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताउँदै आएकी उनले 'मेरो मनमा नेपाल ! नेपाल भ्रमण वर्ष २०२० को शुभकामना' भन्दै १५ अगस्ट २०१९ मा ट्विट गरेकी थिइन्। नेपाल-भारतबीच सीमाका विषयमा विवाद चुलिरहेको समयमा चिनियाँ राजदूतले नेपालप्रति देखाएको सद्‌भाव र मायाले नेपालीहरु चीनप्रति सकारात्मक बन्दै गएका थिए।

 चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

राजदूत यान्छीले आफ्नो कार्यकालमा नै चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण गराउन सफल भइन्। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणभन्दा एक महिनाअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए। राष्ट्रपतिको तयारी भ्रमणका रुपमा उनको भ्रमणलाई लिइएको थियो। २०१९ को सेप्टेम्बर ९ देखि १० मा उनले नेपाल भ्रमण गरेका थिए।

'माइक्रो-म्यानेजम्यान्ट'मा भारतीयको प्रभाव रहने भन्‍ने ट्याग लाग्दै आएको नेपालमा विस्तारै चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी हुन थालेका थिए। नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका लागि ११ अक्टोबारमा काठमाडौं ओर्लिए। भारतको दुईदिने भ्रमण सकेर नेपाल ओर्लिएका सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्।

यसअघिकी राजदूत यू होङले राष्ट्रपतिको नेपाल भ्रमण गराउने प्रयास गरे पनि सफल हुन सकेकी थिइनन्। तर राजदूत यान्छी यस मामिलामा सफल भएको विश्‍लेषण गरिएको थियो। नेपालमा पनि बहुप्रतीक्षित चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई सरकारको विशेष कूटनीतिक उपलब्धिका रूपमा अर्थ्याइएको थियो। त्यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए। 

चिनियाँ राजदूत राष्ट्रपति सीको भ्रमण गराउन सफल भए पनि राष्ट्रपति सीले भने विश्‍व (विशेषगरी अमेरिका)लाई धम्की दिन नेपालको मञ्‍च प्रयोग गरे। नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा सीले भनेका थिए, ‘यदि चीनको कुनै पनि हिस्सालाई टुक्र्याने कोसिस गरियो भने तिनको हड्डी धुलो बनाइनेछ। यस्तो प्रयास सफल होला भन्‍ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपना मात्र हुनेछ।’ नेपालमा बढ्दो तिब्बती शरणार्थीका गतिविधिमा अमेरिकी समर्थन र ताइवान मामिलामा अमेरिकाले चालेका कदमप्रति सीको अभिव्यक्ति लक्षित भएको टिप्पणीहरु भएका थिए। त्यससँगै सीको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरुमध्ये सुपुर्दगीसम्बन्धी सम्झौता विवादित बनेको थियो।

नेकपाको किचलो मिलाउन असफल

यान्छी नेपाल आउनुअघि चिनियाँ जगमा बनेको भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आन्तरिक किचलो सुरु हुँदै गयो। तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको, पार्टीसँग कुनै सल्लाह नगरेको भन्दै ओलीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल खनिए। नेपालको नयाँ नक्सा जारी भएपछि ओलीलाई सत्ताबाट हटाउने खेल सुरु भयो। त्यस समय ओलीको सत्ता जोगाउनका लागि चिनियाँ राजदूत यान्छीले निकै दौडधूप गरेकी थिइन्। 

राजदूत यान्छीको उक्त दौडलाई नेपालका कूटनीतिज्ञहरुले चीनले गैरकूटनीतिक माध्यमबाट विदेश नीति अघि बढाउने प्रयास गरेको टिप्पणी गरेका थिए। हिमालको काखमा रहेको सानो देश नेपालको मन जित्‍नका लागि सुरुवातका दिनमा एकदमै फरक र सौम्य तरिका अपनाएकी यान्छीले नेकपा एकता जोगाउन गरेको दौडधूप भने निकै आलोचित बन्‍यो।

सुरुवातका दिनमा यान्छीको काम गर्ने तरिका चीनका अन्य डिप्लोम्याटको तुलनामा विल्कुल फरक देखिएको थियो। विश्वका सञ्चारमाध्यमले चीनका डिप्लोम्याटका लागि  ‘वल्फ वारियर्स’ कूटनीति र आधारविहीन षड्यन्त्र गरेको आरोप लाग्‍ने गरेको भए पनि यान्छीले भने ती सबै कथनहरु चिर्दै नेपालमा आफ्नो इन्ट्रीलाई फरक देखाएकी थिइन्। 


तर पूर्वनेकपा विभाजनलाई रोक्‍न भएका गैरकूटनीतिक भेटघाटले भने चीनले नेपालको आन्तरिक मामिलामा पूर्ण हस्तक्षेपकारी भूमिका खेलेको भन्दै आलोचना भएको थियो। राजदूत प्रा. लोकराज बरालले दुई कम्युनिस्ट पार्टीहरुबीच भेटघाट र भ्रमण आदानप्रदान, संगठन र संयन्त्रमा सल्लाह सुझाव दिने-लिने स्वाभाविक भए पनि एक राजनीतिक दलको व्यवस्थापन र एकता र फुटमा राजदूत नै सक्रिय र जिम्मेवार हुनु स्वाभाविक मान्‍न नसकिने टिप्पणी गरेका थिए।

राष्ट्रपति, प्रधानमन्त्री ओली तथा नेताहरू भेट्‌दा कूटनीतिक प्रोटोकल लत्याएर देउसी खेलेझैं घर-घर दौडिनु गैरकूटनीतिक गतिविधि भएको बताएका थिए। 

त्यसैगरी चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले पनि नेकपाको विभाजन र एकतामा कुनै पनि छिमेकी वा बाह्य मुलुकले प्राथमिकताका साथ चासो दिनुपर्ने विषय नभएकोले राजदूतको दौडको विरोध गरेका थिए। जसरी सुरुवातमा राजदूत यान्छीले आफ्नो छवि बनाएकी थिइन्, नेकपा एकता जोगाउनका लागि उनले खेलेको भूमिकाले त्यो छवि धुमिल हुँदै गयो। न त उनले नेकपाको एकता जोगाउन नै सकिन्। 

बीआरआई कार्यान्वयनमा पनि असफल 

सन् २०१७ मा सम्झौता भएको बीआरआई परियोजना कार्यान्वयन गराउनुपर्ने जिम्मेवारी उनको थियो। चिनियाँ ऋण सहायतामार्फत रेल र सडकजस्ता पूर्वाधार विकाससम्बन्धी परियोजना कार्यान्वयन गराउन पनि यान्छी असफल भएकी छन्।

उनी नेपाल आएसँगै अमेरिकी अनुदान सहायता परियोजना एमसीसी विवादित बन्‍यो। एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्न नहुने र यो सम्झौता अमेरिकाको अमेरिकी सैन्य रणनीतिअन्तर्गत रहेको र राष्ट्रघात हुने भन्दै कम्युनिस्ट नेताहरुले चर्को विरोध गरे। एमसीसीको विरोध सुरु हुने समयमा यान्छीले एमसीसी लिने अथवा नलिने नेपालको आन्तरिक मामिला भएकोले चीनलाई त्यसमा कुनै आपत्ति नहुने बताएकी थिइन्।

तर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार एमसीसी अनुमोदन गर्ने तयारीका साथ अघि बढिरहँदा भने चिनियाँ विदेश मन्त्रालयले नै नेपालले एमसीसी स्वीकार गर्न नहुने भन्दै दबाब सिर्जना गर्ने प्रयास गरेको थियो। अन्तत: सन् २०१७ मा सम्झौता भएको एमसीसी संसद्‌ले अनुमोदन गर्‍यो। 

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन। राजदूत यान्छीले यसलाई अघि बढाउनका लागि परराष्ट्रमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर आग्रह नगरेकी पनि होइनन्।

पछिल्लो समय देउवा प्रधानमन्त्री भएपछि त यो ऋण स्वीकार गर्न नसकिने भनिएको छ। चीनले पनि अमरिकाजस्तै अनुदान सहायता उपलब्ध गराएको अवस्थामा मात्रै बीआरआई स्वीकार गर्न नसकिने नेपाल सरकारले बताएको छ। चर्को ब्याजमा ऋण लिँदा भोलिका दिनमा समस्या आउन सक्ने अहिलेको सरकारको भनाइ छ। चीनले यसलाई अनुदानमा परिणत गर्न सक्ने अवस्था छैन।

यसरी हेर्दा यान्छी आफ्नो कार्यकालमा बीआरआई कार्यान्वयन गराउन असफल भएकी छन्। पछिल्लो समय परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओको भिडियो वार्तामा क्रममा बीआरआईका विषयमा विगतका सम्झौता स्मरण गराएका हुन्। जवाफमा परराष्ट्रमन्त्रीले सम्झौताबारे अध्ययन भइरहेको बताएका छन्। 

 - सबै तस्बिर राजदूत होउ यान्छीको ट्विटरबाट

प्रकाशित: Jul 01, 2022| 14:59 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...