लामो खडेरीपछि कुरुलेमा पानी पर्यो। धुलो उड्ने खेतबारी पानीले भिजेको छ। तर कुरुलेकी २९ वर्षीया वीरमाको मन भने उडिरहन्छ। पाँच वर्षे छोराको अनुहार हेर्दा मात्रै पनि वीरमाको आँखामा आँसु तप्कन थालेको छ। श्रीमानको झझल्कोमा व्याकुल छिन् वीरमा।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ कुरुलेमा गगनबहादुर थापासँग प्रेम विवाह गरेर आउँदा वीरमालाई सबै कुरा पाए जस्तो लाग्थ्यो। तर प्रेमले मात्र खान लगाउन पुगेन। रुखो बारी जति खनीखोस्रे पनि उत्पादन थिएन। गाउँका साथीहरु एकपछि अर्को गर्दै विदेश पस्न थालेपछि गगनबहादुरको मनमा हुटहुटी मात्र चलेन, बाध्यता पनि आइपर्यो। गगनलाई गाउँमा अडिन मन लागेन।
‘गाउँमा यतै केही गर्नुस् भनेर कत्ति भनेको थिएँ,’ वीरमाले छोरालाई अक्षर सिकाउँदै भनिन्, ‘सबै साथीहरु विदेश पसेर कमाइ पठाउन थालेपछि उहाँ पनि गाउँ बस्न मन गर्नुभएन, यता बसेपनि के गर्ने? न पढाइ छ, न पैसा।’ गाउँ बसेर भविष्य बन्दैन भन्ने वीरमा र गगनको दम्पतीले निष्कर्ष निकाल्यो।
अन्ततः गगनले साउदीका लागि झोलामा पासपोर्ट बोके। घर छोडे। गगनले घर मात्र छोडेनन्, वीरमाको पेटमा ६ महिनाको भ्रुण पनि छोडे। त्यही भ्रुण जन्मिएकै अहिले पाँच वर्ष पुग्यो। त्यही छोराको टाउको मुसार्दै वीरमा बोलिन् ‘यो जन्मिएको अब पाँच वर्ष पुग्छ, उहाँ जाने बेला पेटमा ६ महिनाको गर्भमा थियो।’ यति भनि नसक्दै वीरमाका आँखा भरिए, ‘यत्रो भैसक्यो, बाउको अनुहार देख्न पाएको छैन।’ त्यसपछि वीरमाको आँखाबाट आँसु बररर खसे।
खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर केही बेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनु हुन्छ भनेर सोध्छ,’ वीरमाको मन फेरि अर्को पटक निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुक्कघुक्क रुन्छिन् वीरमा।
‘दुई वर्षसम्म राम्रै थियो,’ ६० वर्ष पुगेकी दिलसरी थापाको आँखाबाट छोराको झझल्को एकैछिन पनि टुटेको छैन, ‘विदेश जाने बेलाको ऋण पनि तिर्यो, श्रीमतीलाई सुनको गहना पनि हाल्यो, छोराको बिमा गर्नुपर्छ भन्दै थियो।’ समय जति जति बढ्दै जान्छ, आमा दिलसरीको बेचैनी बढ्दै गएको छ।
साउदीमा रहँदा सम्पर्कमा थिए गगन। केही पैसा पठाएर ऋण तिर्नु भने, केही पैसा श्रीमतीका लागि गहना बनाउनु पनि भने। नाबालक छोराको जीवन बिमा गर्ने उनको चाहना थियो। अडियो र भिडियोमा नियमित कुरा भैरहन्थ्यो परिवारसँग।
दुई वर्षपछि कम्पनीले राम्रो व्यवहार गर्न छोड्यो भन्दै फोनमा जानकारी गराउँथे गगनले। सोचे जस्तो कमाइ नहुने भएपछि गगनलाई घर फिर्ता आउनुपर्ने भयो। पैसा कमाउने चाहना हुँदाहुँदै काठमाडौं आए गगन। काठमाडौं टेकेपछि वीरमालाई गरेको फोन नै अन्तिम बन्न पुग्यो।
‘काठमाडौं आएर फोन गर्नुभएको थियो,’ वीरमाले भनिन्, ‘केही दिनमा आइपुग्छु भन्नु भएको थियो, त्यो भनेको गएको कात्तिकमा तीन वर्ष पुग्यो, तर मान्छे आउनु भएन।’
खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।
वैदेशिक रोजगारीमा धोका खाएर घर फिर्ताका लागि काठमाडौं टेकेको खबर आयो, तर गगन घर आइपुगेनन्। विदेशबाट फर्किएको छोरो आज आउँछ कि भोलि भनेर आमा दिलसरीले बाटोमा आँखा बिच्छ्याउन थालेको तीन वर्ष नाघ्यो, मान्छे त आएन आएन, खबर पनि आएन।
‘घाँस काट्न जान्छु, घाँस काट्दै रुँदै गर्छु,’ आँखाबाट झरिरहेका आँसु पुछ्दै आमा भन्छिन्, ‘धेरै पहिले दुई पटक सपनामा देखेको थिएँ, त्यसपछि सपनामा पनि आउन छोड्यो।’ दिलसरीलाई अब आफ्नै दशधारा दूधको भरोसा छ, ‘मेरो दशधारा दूधको शक्तिले एक पटक जहाँ भए पनि घुमाएर ल्याओस्।’ आमाको मनले यति मात्र सोच्दैन, ‘कसैले मारेर फाल्यो कि भन्ने डर पनि छ।’
घर खर्च चलाउनै समस्या भएपछि वीरमा अहिले गाउँकै विद्यालयमा कार्यालय सहयोगीको काम गर्छिन्। मासिक ६ हजारको कामले बिरामी भैरहने छोरा, सासु र आफ्नै उपचारदेखि खान लगाउनसम्म पुर्याउनुपर्छ। ‘मैले गाह्रो काम गर्न सक्दिनँ, आमा (सासु) पनि बिरामी भैरहनु हुन्छ, बाबु पनि बिरामी छ।’ समस्याले थाकेकी वीरमा बोल्छिन्, ‘समस्या त कति हो कति।’
देश आइसकेको मान्छे कहाँ कसरी बेपत्ता भयो भन्ने परिवारलाई खबर छैन। काठमाडौं नटेकेको, नदेखेको परिवारले बेपत्ता छोरो कसरी खोज्ने भन्ने बारेमा तीन वर्षसम्म पनि सोच्न सकेको छैन।
‘कहाँ जाने खोज्न? केही अत्तोपत्तो भएको भए, ठरठेगाना भएको भए, खोज्दै खोज्दै भए पनि जान हुन्थ्यो,’ वीरमालाई लाग्छ, चरा जस्तो भएको भए उडेर खोज्न हुन्थ्यो, ‘काठमाडौं भनेको पनि थाहा छैन, कहाँ हो कता पर्छ, कसरी खोज्ने?’
‘कोही केटीको पछि लागेर बिहे गरेर बसेको भए पनि तीन वर्षमा एक पटक सुइँको आउनु पर्ने,’ आमाको मनले भन्छ, ‘बिहे नै गरेको भए पनि यतै आएर बसे हुन्थ्यो।’
मानिसहरु वर्षौंपछि फर्किएर घर आएका समाचार नसुनेको हैन यो परिवारले। त्यही समयको प्रतीक्षामा यो परिवारले समय गुजारिरहेको छ। छिमेकीहरु प्रहरी प्रशासन गुहार्न भन्छन्, मिडिया बोलाउन भन्छन्। सासुबुहारीलाई थाहा छैन यो सबै कसरी गर्ने, कहाँ जाने, कसलाई भेट्ने, कसलाई भन्ने।
आर्थिक अभावले ग्रस्त एउटा परिवारले बेपत्ता युवक कसरी खोज्ने? गाउँको प्रहरी चौकीमा समेत पुग्ने चेतना, आँट र पहुँच नभएको परिवारले काठमाडौंमा हराएको छोरो, श्रीमान् कसरी खोज्न सक्छ?