गलेश्वर- म्याग्दीमा यस वर्ष असार १५ पछि बल्ल धमाधम रोपाइँ सुरु भएको छ। विगत वर्षमा मध्य असारसम्म ५५ प्रतिशत रोपाइँ सकिने गरेकोमा यस वर्ष ढिलो गरी पानी पर्नुका साथै रासायनिक मल पनि नपाइएकाले समयमा नै रोपाइँ हुन नसकेको हो। जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार बुधबारसम्म जिल्लाभर जम्मा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ।
रोपाइँ गर्ने समयमा पानी नपर्नु, किसानले समयमै मल बीउ नपाउनु र सिँचाइ सुविधाको अभाव जस्ता कारणले धान रोपाइँमा ढिलाइ भएको हो। समयमै किसानले रोपाइँ गर्नका लागि मल नपाउनु र पर्याप्त पानी नपर्दा अहिलेसम्म जिल्लाभर २५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।
असार महिनाको आधा समय सकिनै लाग्दा पनि अहिलेसम्म रोपाइँ गर्ने मल बीउ नपाउनु र मनसुनी वर्षा हुन नसक्दा किसान चिन्तित बनेका छन्। यस वर्ष समयमै पानी नपर्दा धान रोपाइँ गर्न ढिला भएको बेनी नगरपालिका–२ बगरफाँटका कृषक टेकबहादुर कार्कीले बताए।
म्याग्दीमा कूल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ। त्यसमध्ये जिल्लामा तीन हजार ८८५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा गएको वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो।
खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ।
युवा जनशक्ति पलायन हुनु, धान खेती हुने ठाउँ खण्डीकरण तथा जग्गा प्लटिङ गरिनु र बीउ मलका लागि भारतमा निर्भर रहनुपर्ने बाध्यताका कारण धान उत्पादनमा कमी आउन थालेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन सकेमा र विस्तारै चैते धानको उत्पादन वृद्धि गर्नसके जिल्लामा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ। यसबाट मसिना चामलको आयात घटाउन र मध्यम तथा मोटा चामलको निर्यात बढाउन सकिने कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिए।
म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ। विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन्। नदी किनारका फाँटमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ। पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ। म्याग्दीको पाखो बारीमा घैया धान रोप्ने चलन पनि छ।
म्याग्दीको बगरफाँट, रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भुरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ। यी क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन्। हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान खेती हुँदैन।
कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन। धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन्। म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँलगायत बाली रहेका छन्।