काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन देशभर भारी वर्षा हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै विभागका महानिर्देशक कमलराम जोशीले यस्तो आग्रह गरेका हुन्।
आगामी तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए। ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ। सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ। भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ,' महानिर्देशक जोशीले भने, 'खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने छ। मनसुन शुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ। हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको। हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पुर्याइसकेका छौँ।'
विभागले विशेष बुलेटिन निकालेको अवस्थामा थप सतर्कता अपनाउन उनको आग्रह छ। यसअघि पनि विभागले मंगलबार सूचना जारी गर्दै बिहीबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको थियो।