काठमाडौं– निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण १२ जिल्लामा सडक अवरुद्ध भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएका हुन्।
सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बीपी राजमार्गमा सडक अवरुद्ध भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अकरे भीरस्थित सडकमा बुधबार बिहान ढुंगामाटोसहितको पहिरो जाँदा यातायात सञ्चालन हुन सकेको छैन।
त्यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालका–९ नक्तडीमा वर्षाका कारण गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको छ। मोरङको लेटाङ नगरपालिका–३ फायर लाइनस्थित लेटाङ कानेपोखरी सडकमा निरन्तरको वर्षाका कारण सडकमै रुख बगेपछि अवरोध भएको छ।
बागलुङको गल्कोट नगरपालिका–७ आगाखेतमा सडक अवरुद्ध भएको छ। मंगलबार राती पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
प्युठानको सरुमारानी गाउँपालिका–४ अँधेरी खोला र पाँकुरी खोलामा आएको लेदोसहितको पहिरोका कारण प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ। माण्डवी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सो ठाउँमा प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वय गरेर एकतर्फी सडक सुचारु गराएको छ।
दाङको घोराही उपमहानगर–१३ बगामो भेरे खोलामा आएको भेलका कारण सडक अवरुद्ध भएको छ। सो ठाउँमा रोल्पाको होलेरीबाट घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसेका थिए। प्रहरीले २ वटा सवारी साधन निकालेको छ। एउटा डबल क्याप जिप निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। ढुंगा माटोसहितको लेदो पहिरो खसेर सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
नवलपरासी(पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा ३ वटा डाइभर्सन बगाएको छ। तीन वटा डाइभर्सन बगाउँदा पूर्व–पश्विम राजमार्ग अवरुद्ध भएको छ।
धनकुटाको धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मूलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ। उदयपुरको कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोडामा आएको ज्यामिरे खोलाको बाढीले सडक अवरुद्ध भएको छ। सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरुद्ध भएको छ।