बिहीबार, वैशाख २०, २०८१

अमेरिकासँग कसिलो कूटनीतिक हस्तमिलन

नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा द्विपक्षीय भेटवार्ताहरु तीव्र बनिरहेका छन्।
 |  सोमबार, असार १३, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

सोमबार, असार १३, २०७९

काठमाडौं- नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा द्विपक्षीय भेटवार्ताहरु तीव्र बनिरहेका छन्। काठमाडौंमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण बाक्लिएको छ भने वाशिङ्टनमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले पनि भेटवार्तालाई तीव्रता दिएका छन्।  

triton college

नेपालमा अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको प्रस्तावित मस्यौदा भनिएको दस्तावेज सार्वजनिक भएकै दिन जेठ ३० गते राजदूत खत्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए। यद्यपि सरकारले भने एसपीपी अघि नबढाउने निर्णय गरिसकेको छ। यसअघि एमसीसीमा विरोध गरेको चीनले एसपीपी खारेज गर्ने निर्णयको प्रशंसा गरेको छ। अमेरिका र नेपालबीचको द्विपक्षीय मामिलामा चीनले देखाएको चासोलाई कूटनीतिज्ञहरुले 'अस्वाभाविक' भनेका छन्। 

अमेरिका र चीनबीचको द्वेषपूर्ण प्रतिस्पर्धा चलिरहेको समयमा अमेरिकामा नेपाली कूटनीतिज्ञ खत्रीले सक्रियता बढाएका हुन्। कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत खत्रीले जेठ ३० (१३ जुन) मा राष्ट्रपति बाइडेनसँग व्यक्तिगत रुपमा भेट गरेका हुन्। लामो समयदेखि विवादित बनेको अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता (एमसीसी) पारित भएको, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको आशन्‍न भ्रमणको पृष्ठभूमिमा राजदूत खत्रीले अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन्। 

प्रधानसेनापति शर्मा सोमबारदेखि पाँच दिने भ्रमणका लागि अमेरिका प्रस्थान गर्दैछन् भने प्रधानमन्त्री देउवाको भ्रमणको मिति तय भएको छैन। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भ्रमणको मिति तय भइनसकेको जानकारी दिए। तर, परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्री देउवाको भ्रमण साउनभित्रै गर्ने गरी तयारी भइरहेको दाबी गरेको छ। स्रोतले भन्‍यो, 'अलिपछि संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्‍नुपर्ने भएकोले साउनभित्रै भ्रमण गराउने गरी गृहकार्य भइरहेको छ। सम्भवत: उतैबाट पनि उच्चस्तरीय भ्रमण गराउने तयारी भइरहेको छ।' 

राजदूत खत्रीले छोटो भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले नेपालको विषयमा चासो राखेको जानकारी दिएका छन्। राष्ट्रपति बाइडेनसँगको भेटबारे राजदूत खत्रीले भनेका छन्, 'राष्ट्रपतिज्यूले नेपाल र नेपाली आफूलाई मन पर्ने बताउनुभएको थियो। साथै, त्यस अवसरमा दुई मुलुकबीचको द्विपक्षीय हितको सम्बन्धमा पनि कुराकानी भएको थियो।' राजदूत खत्रीले राष्ट्रपति बाइडेनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको पनि बताएका छन्। 

corrent noodles
Metro Mart
नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा द्विपक्षीय भेटवार्ताहरु तीव्र बनिरहेका छन्।

संयुक्त राष्ट्रसंघका पूर्व स्थायी राजदूत डा. दिनेश भट्टराईले पछिल्लो समय अमेरिकाले नेपाललाई उच्च महत्व दिएका कारण पनि यो भेटलाई अर्थपूर्ण मान्‍न सकिने बताएका छन्। उनले भने, 'यस भेटलाई दुई अर्थमा बुझ्‍नुपर्छ। पछिल्लो अवस्थामा बढ्दो भूराजनीतिक परिस्थितिमा अमेरिकाले नेपाललाई उच्च महत्व दिएको छ। नेपालमा बाक्लिँदो अमेरिकी कूटनीतिज्ञको भ्रमण र अमेरिकाले नेपालमा बढाएको सहयोग र अनुदान यसको उदाहरण हो। अर्को कुरा, यसअघि कोरोना महामारीले गर्दा राजदूतले ओहोदाको प्रमाणपत्र भर्चुअल रुपमा पेश गर्नुभएको थियो। अहिले अवस्था सहज भएपछि बोलाएर भेट गर्नुभएको हो।'

संयुक्त राष्ट्रसंघका पूर्व स्थायी राजदूत डा. दिनेश भट्टराई
जुन १३ मा अमेरिकी राष्ट्रपति कार्यालयले खत्री र अन्य मुलुकका राजदूतलाई सामूहिक रुपमा बोलाएको थियो। त्यही क्रममा राजदूत खत्रीले बाइडेनसँग नेपाल-अमेरिका सम्बन्धबारे संक्षिप्त कुराकानी गरेका हुन्। भेटमा अमेरिकी राष्ट्रपतिले नेपाल र नेपाली जनता आफूलाई मन  पर्ने बताएको राजदूत खत्रीले जानकारी दिएका छन्। उनले थप भनेका छन्, 'नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ वर्षमा प्रवेश गरेको र अबका दिनमा थप मजबुत हुने राष्ट्रपति बाइडेनले विश्‍वास व्यक्त गर्नुभएको थियो।' 

यसअघि अमेरिकाका लागि नेपाली राजदूतहरुले पनि ओहोदाको प्रमाणपत्र बुझाउँदा अमेरिकी राष्ट्रपतिसँग भेट्‍ने प्रचलन रहेको थियो। कोरोना महामारीको समयमा यसअघि राजदूत रहेका युवराज खतिवडाले भने अमेरिकी राष्ट्रपतिसँग भेट्न पाएका थिएनन्। त्यसअघि सन् २०१५ मा राजदूत रहेका अर्जुनबहादुर कार्की र सन् २०१० मा शंकरप्रसाद शर्माले तत्कालीन राष्ट्रपति बाराक ओबामासँग भेट गरेका थिए। सन् २००८ मा राजदूत रहेका डा. सुरेशचन्द्र चालिसेले पनि तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुससँग भेट गरेर ओहोदाको प्रमाणपत्र बुझाएका थिए। 

पूर्वराजदूत डा. चालिसेले यस भेटलाई सामान्य भएको बताएका छन्। उनले भने, 'प्राय: ओहोदाको प्रमाणपत्र बुझाउने समयमा यस्तो भेट हुने गर्छ। यसपटक कोरोना महामारीका समयमा त्यसरी भेट सम्भव नभएकोले अहिले सामूहिक  रुपमा अन्य मुलुकका राजदूतहरुलाई पनि बोलाएर भेट गर्नुभएको हो।' पछिल्लो समय चीनसँगको बढ्दो अमेरिकी प्रतिस्पर्धाको सन्दर्भमा नेपाललाई अमेरिकाले बढी महत्व दिने गरेको पनि उनले बताएका छन्। उनले द्विपक्षीय उच्चस्तरीय भ्रमणको विषयलाई पनि सकारात्मक भनेका छन्। उनले थपे, ‘अमेरिका एउटा यस्तो देश हो, जोसँग नेपालको कुनै पनि विवाद छैन। ७५ वर्षको कूटनीतिक सम्बन्धको यात्रामा उनीहरूले हामीलाई औलो उन्मूलनमा सहयोग (सन् १९५१) देखि एमसीसी परियोजनासम्म उपलब्ध गराएका छन्। जति उच्चस्तरीय भ्रमण भयो, त्यति नै दुई मुलुकबीचको सम्बन्ध थप बलियो र मजबुत हुन्छ। अझ राष्ट्रपति जो बाइडेनस्तरको नेपाल भ्रमण होस्।’

वाशिङ्टनमा खत्रीको सक्रियता

फागुन १५ (२७ फेब्रुअरी) मा अमेरिका लागि राजदूतमा नियुक्त भएका खत्री १२ मार्चमा वाशिङ्टन पुगेका थिए। राष्ट्रपति बाइडेनसँग भेटेको तीन दिनपछि राजदूत खत्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग १६ जुनमा भेट गरेका छन्। विदेशमन्त्री ब्लिन्केनले नेपालका राजदूत खत्रीसहित वासिङ्टनस्थित अन्य विदेशी राजदूतलाई बोलाएका थिए। त्यसक्रममा राजदूत खत्रीले ब्लिन्केनसँग अमेरिका-नेपाल सम्बन्धका विषयमा कुराकानी गरेका हुन्। 

विदेशमन्त्री ब्लिन्‍केनसँगको भेटबारे राजदूत खत्रीले नेपाल-अमेरिका सम्बन्धबारे संक्षिप्त कुराकानी भएको र त्यो एक शिष्टाचार भेटमात्रै भएको बताएका छन्। विदेशमन्त्री ब्लिन्केनले नेपालसँगको सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेको पनि राजदूत खत्रीले जानकारी दिएका छन्।

राजदूत खत्रीले राष्ट्रपति बाइडेन र विदेशमन्त्री ब्लिन्केनलाई भेट गर्नुअघि ९ जुनमा अमेरिकी सांसद अमि बेरासँग भेटवार्ता गरेका थिए। अमेरिकी संसदको एसिया प्रशान्त, मध्य एशिया र अप्रसार उपसमितिका अध्यक्षसमेत रहेका  बेरासँग क्यापिटल हिलस्थित उनकै कार्यकक्षमा भेटवार्ता भएको थियो। भेटका क्रममा नेपाल र अमेरिकाका संसदका माध्यमबाट द्विपक्षीय सम्बन्ध बढाउने विषयमा विचार आदानप्रदान भएको वाशिङ्टनस्थित नेपाली दूतावासले उल्लेख गरेको छ। सांसद बेरा फेब्रुअरी २०२० मा द्विपक्षीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपाल भ्रमणमा पनि आएका थिए।

यसअघि अमेरिकाका लागि नेपाली राजदूतहरुले पनि ओहोदाको प्रमाणपत्र बुझाउँदा अमेरिकी राष्ट्रपतिसँग भेट्‍ने प्रचलन रहेको थियो। कोरोना महामारीको समयमा यसअघि राजदूत रहेका युवराज खतिवडाले भने अमेरिकी राष्ट्रपतिसँग भेट्न पाएका थिएनन्।

राजदूत खत्रीले २५ मे २०२२ मा पेन्टागनमा अमेरिकाका लागि दक्षिण तथा दक्षिणपूर्वी एसिया हेर्ने उपसहायक रक्षामन्त्री लिन्डसे फोर्डसँग पनि भेट गरेका थिए। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा भएको भेटवार्तामा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध र रक्षा सहकार्यबारे कुराकानी भएको बताइएको थियो। भेटवार्तामा नेपाल सेना र अमेरिकी सेनाबीचको सहकार्यबारे पनि कुराकानी भएको दूतावासले जनाएको थियो। उक्त भेटका क्रममा राजदूत खत्रीले प्रधानमन्त्री तथा प्रधानसेनापतिका भ्रमणमा उठ्न सक्ने रक्षा मामिलाका विषयबारे छलफल गरेको बताइएको छ। 

राजदूत खत्रीले २४ मेमा अमेरिकी सांसद डियन फिन्स्टेनसँग भेट गरेका थिए। डियनका पति रिचार्ड चार्ल्सको मृत्युप्रति श्रद्धाञ्‍जली व्यक्त गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले पठाएको समवेदना पत्र हस्तान्तरण गरेका थिए। यसरी निकै सुक्ष्म रुपमा अमेरिकामा राजदूत खत्रीले कूटनीतिक सक्रियता विस्तार गरिरहेको नेपालस्थित कूटनीतिज्ञहरुको विश्लेषण छ। 

११ मेमा राजदूत खत्रीले अमेरिकी उपविदेशमन्त्री एवम् तिब्बत मामिला हेर्ने विशेष संयोजक उज्रा जियासँग भेट गरेका थिए। जियाको नेपाल भ्रमणभन्दा एक साताअघि राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमा जियासँग भेट गरेका हुन्। ‘राजदूत खत्रीसँगको भेटमा लोकतन्त्र, महिला अधिकार र सबैका लागि समावेशिता प्रवर्द्धन गर्न अमेरिका र नेपालबीच रहिआएको साझेदारीबारे छलफल गर्दा खुसी लाग्यो,’ उपविदेशमन्त्री जियाले भनेकी थिइन्। 

उक्त भेटको एक सातापछि जिया नेपाल भ्रमणमा आएकी हुन्। भारतको तीन दिने भ्रमण सकेर नेपाल आएकी जियाले नेपालमा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँगै तिब्बती शरणार्थीसँग भेट गरेकी थिइन्। तिब्बती शरणार्थीसँगको भेटका विषयमा नेपालमा चर्को आलोचना भएको थियो। 

काठमाडौंमा बढ्दो अमेरिकी कूटनीतिज्ञको यात्रा

जेठ ६ गतेदेखि अमेरिकी उपविदेशमन्त्री जियाले नेपाल भ्रमण गरेकी थिइन्। अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौरलगायतको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं ओर्लिएकी जिया करिब एक दशकपछि नेपाल भ्रमण गर्ने उच्चस्तरीय अमेरिकी प्रतिनिधि हुन्। 

यसअघि वैशाख ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो। वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले पनि नेपालको भ्रमण गरेकी थिइन्।

शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने पहिलो अमेरिकी कूटनीतिज्ञ हुन् फातिमा सुमार। २०७८ भदौ २४ मा काठमाडौं ओर्लिएकी सुमारले एमसीसी पारित गराउनका लागि दलहरुलाई आग्रह गरेर फर्किएकी थिइन्। उनीसँगै युरोप, एसिया प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष जोनाथन पनि नेपाल भ्रमणमा आएका थिए। 

चार दिने नेपाल भ्रमण सकेर फातिमाको टोली फर्किएको ३६ दिनपछि दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए। उनी काठमाडौं ओर्लिएको दोस्रो दिन २ मंसिरमा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ नेपाल आएकी थिइन्। उनीहरुले पनि राजनीतिक दलका नेताहरु र नागरिक समाजका अगुवाहरुसँग भेट गर्दै एमसीसी पारित गर्नका लागि आग्रह गरेका थिए। 

अमेरिकी कूटनीतिज्ञ फातिमा सुमार त्रिभुवन विमानस्थलमा।
माघ पहिलो साता उनै लुले नेपालका शीर्ष नेताहरुलाई टेलिफोन गर्दै एमसीसी पारित गर्न धम्कीपूर्ण दबाब दिएको भन्दै चीनले आपत्ति जनाएको थियो। चिनियाँ विदेश मन्त्रालयले उक्त टेलिफोनमा भएको कुराकानीलाई आधार मान्दै नेपालमा 'धम्कीपूर्ण कूटनीति' सह्य नहुने प्रतिक्रिया दिएको थियो। यही रस्साकस्सीका बीच नेपालको प्रतिनिधिसभाले फागुन १५ गते एमसीसी पारित गरेको थियो। 

गत असोजमा संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिका भ्रमण गरेका थिए। त्यसैगरी गत मंसिरमा स्कटल्याण्डको ग्लासगोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप२६ का क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको थियो। नेपालबाट चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। 

प्रकाशित: Jun 27, 2022| 12:20 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...