काठमाडौं-इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भियतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति स्टेडियममा नेपाली समयअनुसार साँझ साढे ६ बजेपछि शुरु हुनेछ ।
पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १-० को सम्मानजनक हार बेहोरेको नेपाल भियतनामविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रने छ । पहिलो खेलमा जापानसँग पराजित भएपनि दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपाली युवा टोलीले आज भियतनामलाई रोक्ने योजनाका साथ मैदान उत्रनेछ ।
एसियन गेम्समा नेपाल र भियतनामले पहिलोपटक खेल्न लागेको हो। सिनियर राष्ट्रिय टिममा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् ।
जसमा दुवैपटक भिएतनाम विजयी हुन सफल भएको थियो । २००३ को सेप्टेम्बरमा भएको एएफसी एसिया कप अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५-० ले तथा दोस्रो खेलमा २-० ले पराजित भएको थियो ।
नेपालविरुद्ध जित वा बराबरी निकाले भियतनाम एक खेल अगावै एसियाड फुटबलको दोस्रो चरणका पुग्नेछ । पराजयले भने अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ । आजै जापान र पाकिस्तानबीच खेल हुनेछ । जापान विजयी भएको खण्डमा जापान दोस्रो चरण प्रवेश गर्नेछ । पाकिस्तान भने एक खेल अगावै समूह चरणबाट बाहिरिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४