आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • पालिकाले ल्याए बजेट, फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना [२०७९-३-१०]

पालिकाले ल्याए बजेट, फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना [२०७९-३-१०]

फेरि एक पटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने प्रचण्डको चाहना, पहिलो कार्यकाल अलमलमा बितेपनि दोस्रो कार्यकालमा राम्रो काम गरेको दाबी। प्रधानमन्त्री बन्ने चाहना
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू

  • चालु आर्थिक वर्षभन्दा ६ अर्ब बढाएर काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट, बजेटअघि नै रातोकिताब आएको भन्दै एमालेले च्यात्यो पोखराको बजेट पुस्तिका। पालिकाले ल्याए बजेट
  • फेरि एक पटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने प्रचण्डको चाहना, पहिलो कार्यकाल अलमलमा बितेपनि दोस्रो कार्यकालमा राम्रो काम गरेको दाबी। प्रधानमन्त्री बन्ने चाहना
  • कानुन निर्माणमा संघीय सरकारले सहयोग नगरेको प्रदेश सभा सचिवहरुको आरोप, कर्मचारी अभावका कारण प्रदेशमा कार्य सम्पादनमा समस्या भएको गुनासो। प्रदेशको गुनासो 
  • डिजिटल प्रविधिबाट आर्थिक कारोबारको लेखापरीक्षण गर्न अर्थमन्त्री शर्माको सुझाव, आन्दोलित लगानीकर्ता र धितोपत्र बोर्डबीच सहमति भएसँगै सेयर बजारमा सकारात्मक प्रभाव। अर्थका कुरा
  • र, एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमीफाइनलबाट बाहिरिएसँगै नेपाल एसिया कपमा पुग्नबाट बञ्चित । बाहिरियो नेपाल

अब समाचार विस्तारमा 

पालिकाले ल्याए बजेट

देशका अधिकांश पालिकाले आगामी आर्थिक वर्षका लागि स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। 

धेरैजसो पालिकाहरूले आगामी आवका लागि बजेट बढाउँदा केही भने बजेट घटाएर समेत नगरसभामा बजेट प्रस्तुत गरेका छन्। संघीय र प्रदेश सरकारले प्रदान गर्ने अनुदानका साथै स्थानीय आम्दानीलाई स्रोतका रूपमा पहिचान गरिएको छ। 

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब, ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ। बजेटबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगर कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र  संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार स्रोत पहिचान गरेकी छन्। 

आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको छ। 

यस्तै चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ। नगरसभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका थिए। 

महानगरका उपप्रमुख अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आय १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ। 

विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख शिल्पा निराला कार्कीले महानगरको १०औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन्। आगामी आवको बजेट चालु आवको भन्दा १ अर्बले कम हो।

विराटनगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। पूर्वाधारमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार बजेट विनियोजन गरेको छ। त्यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार विनियोजन गरेको छ। 

ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ। ललितपुर महानगरले कल सेन्टर चलाउने, कालोपत्रे भएको भएका सडकहरु कम्तीमा २ वर्षसम्म खन्न स्वीकृति नदिने महानगरको नीति छ। 

यस्तै ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने, सामुदायिक पुस्तकालय स्थापनामा जोड दिने र0 बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने कार्यक्रम पनि बजेटमा राखिएको छ। ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रको जग्गाको पुनः नापी गर्ने उसको योजना छ। 

वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। नगरसभामा उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्। चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ।

उता पोखरामा भने नेकपा एमालेले बजेट पुस्तिका च्यातेको छ। महानगरपालिकाको नगरसभा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको छ। 

शुक्रबार ४ बजे नगरसभा सुरु हुने बित्तिकै नेकपा एमालेकी प्रतिनिधि राधिका शाहीले रातो किताब च्यातेकी थिइन्। उनले बजेट पारित हुनुअघि नै रातो किताब प्रकाशित गरिएको भन्दै आफूहरुको बजेटमा सहभागी नहुने बताइन्।

मेयर धनराज आचार्यले भने प्रकाशित किताब मस्यौदा मात्रै भएको बताउँदै रातो किताब नभएको बताएका छन्।

प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर  देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने दाबी गरे। 

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावीसमेत उनको छ। 

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गर्नु गरेका थिए। पर्यटन क्षेत्रलाई उद्योगको रुपका विकास गरी त्यसलाई सहुलियत दिन पनि सरकारसँग पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनले पटकपटक आग्रह गरेका थिए। 

मन्त्री झाँक्रीको चेतावनी

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरु शून्यबाट निर्माण गर्नुपर्ने बताएकी छन्।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको वर्तमान अवस्था विषय छलफलमा बोल्दै मन्त्री झाँक्रीले शहरी विकासका लागि ड्राफ्ट भएका सबै नयाँ नीतिहरु मन्त्री परिवर्तन भए शून्यबाट बनाउन शुरु गर्नुपर्ने बताएकी हुन्। 

मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताइन्। प्राधिरकणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लौजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। 

विदेशीसामु कम्युनिस्ट लम्पसार पर्दैन : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने दाबी गरेका छन्। 

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनैपनि कम्युनिष्ट पार्टी विदेशीसामु नझुक्ने बताएका हुन्। उनले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने पनि बताए। अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए। 

अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेपनि बताएका छन्। उनले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्वन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताएका छन्। 

प्रदेशसभा सचिवको गुनासो

प्रदेशसभा सचिवहरुले प्रदेश संसदलाई आवश्यक कानून निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन्।

उनीहरूले प्रदेश संसदलाई आवश्यक कानून, ऐन बनाउने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन्। 

कर्णाली प्रदेशका प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशलाई आवश्यक कानून, ऐन निर्माण गर्ने अधिकार अहिलेसम्म पनि नदिनुले प्रदेशका लागि आवश्यक कानून निर्माणमा कठिनाइ भएका बताए। संघीय सरकारले प्रदेश सरकारलाई नीति, नियम प्रक्रियाको ड्राफ्ट दिनपनि कन्जुस्याँइ गरेको उनको आरोप छ। 

बागमती प्रदेशका प्रदेश सभा सचिव कृष्णहरि खड्काले प्रदेशमा कर्र्मचारीको संख्या कमी भएकोले कार्य सम्पादनमा समस्या आइरहेको बताए।  ३२ जनाको दरबन्दी भएपनि कार्यकारी संख्या १२ जना मात्रै भएकोले कार्य सम्पादनदेखि सबै काममा समस्या भइरहेको उनको भनाइ थियो। 

प्रदेश सभा सचिव खड्काले प्रदेश संसदमा कर्मचारीको आकर्षण नरहेको भन्दै प्रोत्साहन भत्ता राखेर सेवासुविधामा वृद्धि गर्नुपर्ने बताएका छन्।

बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेको छ। बजार सुधार र विकासका लागि आन्दोलित लगानीकर्ता र नेपाल धितोपत्र बोर्डबीच पुँजी बजारका समस्या समाधान गर्ने सहमति भएसँगै शुक्रबार सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।  

शुक्रबार नेप्से परिसूचक १३.७८ अंक बढेर १ हजार ८६२.०६ बिन्दुमा पुगेको छ। कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयरको १ अर्ब १५ करोड १२ लाख ८३१.१९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। शुक्रबार कारोबारमा आएका २२३ कम्पनीमध्ये न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

बोर्डले लगानीकर्ताको माग पूरा गर्न कार्यान्वयन समिति गठन गरेको छ। उक्त समितिले आइतबारदेखि काम सुरु गर्नेछ। लगानीकर्ताले उठाएका १९ बुँदाबाहेक आवश्यक बुँदा थपेर बजारको विकासका लागि अघि बढ्ने प्रतिबद्धता बोर्डले गरेको छ।

मन्त्रीका कुरा

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन्। 

नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका थिए। मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताए। उनले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि स्पष्ट पारेका थिए।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको स्वीकार गरे। यो वर्षदेखि सरकारका सबै अडिटहरु अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको उनको भनाइ थियो। 

लेखा परीक्षण गर्ने अडिटरको सुझाव मान्य हुन छोडेको गुनासो समेत उनले गरेका थिए। शर्माले अडिटरहरुले विश्लेषण गरेर आउनुपर्ने निचोड भन्दा फरक निचोड आउने गरेकाले मान्य हुन छोडेको  उनको भनाइ छ। 

नागरिकता विधेयक के होला?

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन्। 

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन्। उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडी बढ्नुपर्ने बताए। 

नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानूनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई उनको आग्रह थियो। 

७३ दिनपछि अमृताको अन्त्येष्टि

रुपन्देही तिलोत्तमा नगरपालिकाकी अमृता टन्डनको मृत्यु भएको ७३ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ। 

तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी अमृताका माइती पक्षले शव बुझेपछि शुक्रबार मगरघाटमा दाहसंस्कार भएको हो। रहस्यमय रुपमा मृत्यु भएकी अमृताको न्यायको माग गर्दै माइती पक्षले शव बुझ्न नमानेपछि उनको अन्त्य रोकिएको थियो। अमृताको मृत्युका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी तयार भएपछि माइती पक्षले शव बुझेको र दाहसंस्कार गरिएको हो।

गएको चैत ३० गते राति अमृताको रहस्यमय मृत्यु भएपछि माइतीपक्ष आन्दोलनमा उत्रिएका थिए। लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाइ नभएको भन्दै माईती पक्षले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शव राखेका थिए।  

नेपालले भेटन लक्ष्य

एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमीफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कपमा पुग्नबाट बञ्चित भएको छ। शुक्रबार मलेसियामा भएको खेल वर्षाका कारण रद्द भएपछि नेपाल च्याम्पियनसिपबाट बाहिरिँदै एसिया कपमा पुग्नबाट बञ्चित भएको हो।

नेपाल बाहिरिएसँगै समूह विजेताका आधारमा यू-ए-ई च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। यूएई फाइनलमा प्रवेश गरेसँगै एसिया कपमा पनि छनोट भएको छ। च्याम्पियिनसिप एसिया कपको छनोट प्रतियोगितासमेत थियो। यो प्रतियोगिताको फाइनलमा स्थान बनाउने टिमले एसिया कप खेल्न पाउने निर्धारित थियो।

च्याम्पियनसिपमा नेपाल तीन जित र एक हारसँगै समूह बीको दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो। समूहमा नेपालले कुवेत, बहराइन र भुटानलाई हराएको थियो भने हङकङसँग पराजित भएको थियो।

आजको खेलमा नेपालकी अश्मिना कर्माचार्यले पाँच विकेट लिएर यूएईलाई ८१ रनमा रोकेकी थिइन्। तर वर्षाका कारण दोस्रो इनिङ हुन सकेन। अम्पायरले खेल रद्द गराएपछि यूएईले फाइनल यात्रा तय गरेको हो। 


प्रकाशित: Jun 24, 2022| 21:35 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।