भरतपुर- १५ वर्षयता यात्रुलाई बोकेर गन्तव्यसम्म पुर्याउने ‘ड्राइभर’ पेसा अँगालेका दीपबहादुर कुँवरलाई सडकको दुरावस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ। बर्खा लागिसकेपछि ठाउँठाउँमा बाढी पहिरो त छदैछ त्यसमाथि सडक निर्माणकार्य समयमै नसकिँदा सास्ती पाएको उनी बताउँछन्।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम अहिले भइरहेको छ। यो सडकमा सवारी गुड्न त्यति सहज छैन। खाल्डाखुल्डी, साँघुरो सडक र हिलो धुलोका कारण यात्रा कष्टदायी बन्दै गएको दीप बताउँछन्।
बा३ख ८७५८ नम्बरको बस दाङदेखि काठमाडौं चलाउँदै आएका उनले अहिले समयमै यात्रुलाई गन्तव्य पुर्याउन मुस्किल भइरहेको दुखेसो पोखे।
‘पहिले बुटवलबाट–नारायणगढ ३ घण्टामै आइन्थ्यो अहिले पाँच घण्टा लाग्छ। यतिमात्र होइन यस्तो खराब बाटोमा गाडी गुडाउँदा जति कमाइन्छ उत्ति मर्मत खर्चमै सकिन्छ,’ कुँवरले सडकको सास्ती सुनाए। उनीजस्तै भैरहवादेखि काठमाडौं गाडी चलाउँदै आएका अर्का बस चालक नारायण खनालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको सुनाए।
‘कमजोर सडक खाल्डाखुल्डी धेरै छन्। बाटो साघुरो त्यहीमाथि धुलो छ बुटवलबाट नारायणगढ ३ घण्टामा आइपुगिन्थ्यो अहिले त ६/७ घण्टा नि लाग्छ कहिलेकाहीँ त,’ उनी गुनासो गर्दै भन्छन्, ‘प्यासेन्जर गाडीले झयाक्यो, समयमै पुर्याएन भनेर रिसाउँछन्। आफूले पनि नयाँ गाडी भर्खरै लिएको जोगाएर चलाउनुपर्यो।’
काठमाडौंबाट दाङ हिँडेका यात्रु दिलबहादुर केसी ज्यान धरापमा राखेर यात्रा गर्नुको विकल्प नभएको बताए। ‘सडकको अवस्थाले कुन बेला दुर्घटनामा परिन्छ थाहा नै छैन,’ यात्रा जटिल रहेको उनले भने, ‘जनताले सास्ती भोग्नुपरेको छ। सरकारले हेर्दैन।’
बाकेदेखि काठमाडौं हिँडेकी तारा रानामगर सहज सडक हुँदा बेलुकी ५ बजे घरबाट गाडी चढ्दा बिहान ६ बजे राजधानी पुग्ने गर्थिन्। तर, अहिले परिस्थिति बेग्लै छ। यस्तै त बर्खाको समय ठाउँठाउँमा पहिरोको अवरोध त्यसमाथि सुस्त गतिमा निर्माण भइरहेको सडकका दुरावस्थाका कारण समयमै गन्तव्य पुग्न नसकिएको उनी बताउँछिन्। सडकको अवस्थाले गर्दा प्रवीण जस्ता धेरै यात्रुले हैरानी र सास्ती खेप्दै आइरहेका छन्।
१८ प्रतिशत काम सम्पन्न
राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड पूवी क्षेत्र विस्तारको काममा ढिलाइ भएको छ। योजनाको सम्झौताअनुरूप यो सडकखण्ड विस्तारको काम अबको एक महिना १० दिनभित्र सम्पन्न हुनुपर्नेभए पनि सडक विस्तारको एकतिहाइ काम पनि सम्पन्न हुन सकेको छैन।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार हालसम्म १८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ।
नारायणघाट–बुटवल सडक योजनाको पूर्वी खण्डको विस्तार हुने ६४.४३५ किमी सडकखण्डमध्ये सहरी खण्ड ६ लेन १७.६ किमी, ग्रामीण खण्ड चार लेन ४२.७ किमी र दाउन्ने खण्डमा तीन लेनको सडक ४.१ किमी सडक विस्तार हुँदैछ। ‘पूवी सडकखण्डमा निर्माण हुने १२ वटा मेजर बिज्रमध्ये ११ वटाको काम अहिले भइराखेको छ। माइनर बिज्र (साना) २२ वटा मध्ये अहिले ९ वटामा गाडी गुडिराखेका छन्। थप ५ वटामा पनि केही दिनमा गाडी गुड्न सक्छन्। यो आर्थिक वर्षमा १५ वटाको काम सम्पन्न गर्नेछौ,’ उनले भने।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार हालसम्म १८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ।
सडक विस्तारका लागि हटाउनुपर्ने संरचना काम लगभग सम्पन्न भएकाले अब तीव्र गतिमा काम अगाडि बढ्ने योजना प्रमुख दिष्टीको भनाइ छ।
आयोजना ढिलाइ विभिन्न प्राविधिक र प्राकृतिक अड्चनका कारण काम ढिलो भएको योजना प्रमुख दिष्टी बताउँछन्। ‘पहिलो कारण त कोरोना नै हो। पहिलो दोस्रो र तेस्रो वेभले विश्वलाई नै प्रभाव पारेको बेला हामी अछुतो रहने कुरा आएन,’ उनले भने, ‘रुख काट्ने विद्युतका पोल, खानेपानी सार्वजनिक संरचना हटाउन अन्तर निकायसँग समन्वय गर्नुपर्ने हुँदा निर्णय प्रक्रियामा ढिलाइ हुँदा काम सुस्त भएको हो।’
यो सडकखण्ड विस्तारका लागि ३६ हजार २६७ वटा रुख काटिइसकेको उनले बताए। ‘रुख काट्ने काम ९९.९९ प्रतिशत सकियो। जुन सबैभन्दा व्यवधानको काम थियो,’ उनले भने।
उनका अनुसार सडकखण्ड विस्तारपश्चात् काटिएका रुख एक बराबर २५ वटा रोप्ने सम्झौता भएको छ। ‘अब धेरै व्यवधान छैन। मेसिनले गर्ने काम बढी भएकाले अब अपेक्षाअनुसार काम हुन्छ,’ उनी भन्छन्।
पूवी सडक खण्ड निर्माण गर्न ९ अर्ब १३ करोड १८लाख ९५ हजार ६३५ रुपैयाँ ठेक्का लागतमा ४२ महिनाभित्र निर्माणसम्पन्न हुनेगरि सम्झौता भएको थियो।
चिनिया कम्पनी चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सडक निर्माणको ठेक्का पाएको छ। २०१८ फेब्रुअरी ७ गते काम सुचारु गरेको कम्पनीसँग २०२२ अगस्ट ७ निर्माणसम्पन्न सक्नेगरि सम्झौता भएको थियो।
यो सडकखण्ड विस्तारका लागि थप दुई वर्षको समयावधि ठेकेदार कम्पनीले माग गरेको योजना प्रमुख दिष्टी बताउँछन्। ‘अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी म्याद थपको माग आएको छ। हामी परामर्शदाताको मूल्याङ्कनको आधारमा हामी सिफारिस गर्छौ,’ उनले भने। यो सडकखण्ड एसियाली विकास बैंकको सहयोगमा विस्तार हुन लागेको हो।