शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • नेकपा एसलाई मन्त्री फेर्नै 'सकस', नेपालको फिफा वरीयतामा पहिरो [२०७९-३-९]

नेकपा एसलाई मन्त्री फेर्नै 'सकस', नेपालको फिफा वरीयतामा पहिरो [२०७९-३-९]

ओली सरकारले एसपीपी स्वीकृत गरेको कुरा घामजत्तिकै छर्लंग भएको प्रचण्डको दाबी, लोकप्रिय उम्मेदवार नभएका ठाउँमा हार व्यहोर्नुपरेकाले सचेत हुने प्रतिबद्धता। प्रचण्डको दाबी
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समाचारका मुख्य शीर्षकहरू:

triton college
  • पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेरबारे नेकपा एस सचिवालयमा छपफल,  केही घण्टाभित्रै मन्त्रीहरू फेरिने प्रवक्ता जगन्नाथ खतिवडाको दाबी। मन्त्री फेर्ने विवाद
  • ओली सरकारले एसपीपी स्वीकृत गरेको कुरा घामजत्तिकै छर्लंग भएको प्रचण्डको दाबी, लोकप्रिय उम्मेदवार नभएका ठाउँमा हार व्यहोर्नुपरेकाले सचेत हुने प्रतिबद्धता। प्रचण्डको दाबी
  • अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै पूर्वका उद्योगी र व्यवसायी पुनः आन्दोलित, बजार सुधारका लागि लगानीकर्ता आन्दोलमा रहँदा झनै ओरालोयात्रामा नेप्से। आन्दोलनमुखी अर्थतन्त्र
  • उपत्यकाका बागबजार, डिल्लीबजार, बोहोराटार, कपन र सानेपामा हैजा भेटिएको पुष्टि, ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सुरु। बालबालिकालाई खोप
  • एकै पटक ८ स्थान तल झर्दै फिफा वरीयतामा १७६औँ स्थानमा पुग्यो नेपाल, एएफसी छनोटका तीनै खेल हारेपछि वरियतामा पहिरो। फिफा वरीयतामा पहिरो

अब समाचार विस्तारमा मन्त्री फेर्नै हम्मे

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको बैठकमा पार्टीका मन्त्रीहरूको हेरफेर, पोलिटब्युरो बैठक र केन्द्रीय कमिटी बैठकमा एजेन्डाका विषयमा छलफल भएको उपमहासचिव डा गंगालाल तुलाधरले जानकारी दिए।

बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका थिए। पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय परिषद् बैठकका एजेन्डाका विषयमा छलफल भएको तुलाधरको भनाइ छ।

पार्टीले शुक्रबारका लागि पोलिटब्युरो बैठक बोलाएको छ। शनिवार केन्द्रिय कमिटी बैठक बस्दैछ भने असार १३ र १४ गते केन्द्रिय परिषद्को बैठक तय भएको छ।

corrent noodles
Metro Mart

बैठकमा अधिकांश नेताहरुले स्थायी कमिटी र सचिवालयले गरेका निर्णय लागू नभएको भन्दै प्रश्न उठाएका थिए। नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रीमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्ने धारणा राखे। पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताए।

यसअघि आजै सरकारमा सहभागी नेकपा एसका मन्त्रीहरुले अध्यक्ष नेपालसँग छलफल गरेका थिए। मन्त्रीहरू फेर्ने निर्णयमा पर्यटनमन्त्री प्रेम आले र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि व्यक्त गरेको बताइएको छ।

केही साताअघि नेकपा एसले मौजुदा मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। अहिलेसम्म नेकपा एसको निर्णय कार्यान्वयन भएको छैन।

प्रज्ञालाई आर्थिक अभाव हुन दिन्नौँ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  बिहीवार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।

मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए। प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्द्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका आलेले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको व्यवस्था गर्नुपर्ने बताए।

एसपीपी ओलीकै पालामा : प्रचण्ड

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्विकृत गर्ने काम केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले नै दाबी गरेका छन्। 

अध्यक्ष दाहालले सन् २०१५ मा केपी शर्मा ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सो कार्यक्रम अघि बढेको बताए। सन् २०१९ सालमा ओली नेतृत्वको सरकारले नै त्यसमा सहमती गरेको पत्र भेटिएको भन्दै ओलीनै त्यसमा जिम्मेवार देखिएको बताएका  हुन्।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै दाहालले सो राष्ट्रघाती कार्यक्रम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकीरसमेत गरे। तर ओली गुटले सत्तारुढ गठबन्धनले एसपीपी अघि बढाएजसरी प्रचार गरेर झुट र बेईमानी गरेको उनको आरोप थियो।

केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएकै बेलामा त्यो कुरा अगाडि बढेको भन्ने पत्र सदनको रोष्टममा नै प्रस्तुत भएपछि दिनको घाम जत्तिकै छर्लङ भएको उनको भनाइ छ।

एमसीसीलाई यथास्थितिमा पारित गराउन हुन्न भनेर आफूहरूले संघर्ष गरेकै कारण व्याख्यात्मक घोषणा आएको उनको दाबी छ। अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा लोकप्रिय उम्मेदवार नभएकै कारण कतिपय ठाउँमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै अबका चुनावमा लोकप्रिय उम्मेदवार चयन गरेर संघ र प्रदेशको निर्वाचनमा जानुपर्ने स्पष्ट पारेका थिए।

बालबालिकालाई कोरोना खोप

आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोपको पहिलो मात्रा खोप दिन सुरु गरिएको छ। 

देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ। पहिलो चरणमा बिहीबारदेखि २७ वटा जिल्लामा खोप अभियान संचालन गरिएको छ।

बाँकी ५० जिल्लामा भाद्र ५ गतेदेखि खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पहिलो चरणमा असार १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। दोस्रो चरणमा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरेका छन्।

उपत्यकाका ठाउँठाउँमा हैजा

काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठामाडौंको बागबजार, डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एकजनामा हैजा भेटिएको जानकारी हो।

महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा हैजा गराउने जीवाणु पाइएको हो। हैजा पुष्टि भएका सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको महाशाखाले पुष्टि गरेको छ। हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको छ।

टोलीका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख वसन्त अधिकारीका अनुसार प्रारम्भिक नतिजा हेर्दा हैजा पुष्टि भएका बिरामीहरुले खानयोग्य पानी नखाएको पाइएको छ। महाशाखाले  पानीका थप नमुना लिने, शंकास्पद केसको निगरानी गर्ने, जनचेतना फैलाउने लगायतका काम गरिरहेको छ।

उद्योगी पुनः आन्दोलित

सरकारले माग सुनुवाइ नगरेपछि पूर्वका उद्योग, व्यवसायी पुनः आन्दोलित भएका छन्। स्वदेशी उद्योगका लागि चाहिने कच्चा पदार्थको भन्सार बढाएर गल्ती गरेको र छिटो सच्याउने वाचा गरेका अर्थमन्त्री जनार्दन शर्माले बढाइएको भन्सार दर फिर्ता नलिएपछि उद्योगीहरू आन्दोलनमा उत्रेका हुन्।

बजेट सार्वजनिक भएपछि उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ र व्यापार संगठन मोरङ संयुक्त रूपमा आन्दोलनमा उत्रिएका थिए। तर अर्थमन्त्रीले मन्त्रालय बोलाएर बढाएको भन्सार दर कम गर्छु भनेपछि उनीहरूले आन्दोलन स्थगति गरेका थिए। वार्ता गरेरै समाधान गर्ने भनी अर्थमन्त्री शर्माले भन्सार दर फिर्ता लिने आश्वासन दिएपनि सो अनुसार काम नभएको भन्दै उद्योगीहरू पुनः आन्दोलनमा उत्रिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए। उनीहरूले शर्माको राजीनामासमेत माग गरेका छन्।

सञ्चालनमै नभएको कम्पनीलाई पोस्न जीआई रडमा सरकारले भन्सार लगाएको उद्योगीहरूको आरोप छ। आत्मनिर्भर अर्थतन्त्रका नाममा सीमित व्यवसायीलाई पोस्न मात्र भन्सार दर बढाइएकाले तत्काल हटाउनुपर्ने माग उनीहरूको छ।

नेप्सेमा पहिरो

बिहीबार ४५.२५ अंकले घटेपछि नेप्से परिसूचक १ हजार ८४८.२८ बिन्दुमा आइपुगेको छ। कारोबारमा आएका २३७ कम्पनीको ५० लाख  ८ हजार ७७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४.९२ मा खरिब बिक्री भएको हो।

बजार सुधारका लागि लगानीकर्ता आन्दोलित भइरहँदा नेप्से झनै ओरालो लागेको छ। ३२०० मा पुगेको बजार १ हजार ८४८ बिन्दुमा झर्दा लगानीकर्ताले खर्बौं गुमाइसकेका छन्।

आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शिवश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

रविले घण्टी नपाउने!

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको चुनाव चिह्न घण्टी नपाउने देखिएको छ। रोल... निर्वाचन आयोगले घन्टी चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण लामिछानेले उक्त चुनाव चिह्न नपाउने भएका हुन्।

२०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले घन्टी चिन्ह पाएको थियो। उक्त दलका संयोजक सहजाद मियाँ मिकरानी थिए। सो पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएको छ।

दल गाभिएको १ वर्ष पूरा नभएका कारण रवि लामिछानेको दलले माग गरेको घन्टी चिह्न नपाउने लगभग निश्चित भएको निर्वाचन आयोगका एक अधिकारीको भनाइ छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ मा दल एकीकरण भएको १ वर्षसम्म चुनाव चिह्न र नाम अरुलाई प्रयोग गर्न दिन नपाइने व्यवस्था छ।

२२ बिमा कम्पनीलाई कारबाही

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले २२ बिमा कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको छ। 

बिहीबार बसेको समितिको बोर्ड बैठकले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो। बिमा कम्पनीलाई १० हजारदेखि १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेर कारबाही गर्न लागेको हो।

बिमा समितिले निर्धारित समयमा वित्तीय विवरण तयार पारी लेखापरीक्षण प्रतिवेदन बिमा समितिमा नबुझाउने कम्पनीलाई कारबाही गर्ने भएको हो।

समितिले नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बिमा संस्थानलगायत १२ बिमा कम्पनीलाई साढे १० हजार र नेपाल पुर्नबीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एसियन लाइफ इन्स्योरेन्सललगायतका १० कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

सुकी एकान्त काराबासमा 

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ। भ्रष्टाचारको आरोपमा राजधानी न्यापिदमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी  सुकीलाई एकान्त काराबासमा सारिएको हो।

आपराधिक कानुन बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले जानकारी दिएका छन्। सेनाले रक्तपातविहीन तरिकाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुकीलाई सैनिक सरकारले नजरबन्दमा राखेको थियो।

लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुकीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो।

फेब्रुअरी १ मा सत्ता हत्याएपछि म्यानमारमा भएका आन्दोलनमा सेनाले व्यापक दमन गरिरहेको छ। सेनाको दमनबाट १ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

फिफा वरीयतामा पहिरो

नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ। यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८औं स्थानमा थियो।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो। छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेपछि त्यसको असर वरीयतामा समेत परेको हो। नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो। त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल, भारत र माल्दिभ्सभन्दा पछाडि छ। भारत १०४औं र माल्दिभ्स १५६औं स्थानमा छ। नेपालभन्दा पछि रहेका भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९६ औं र श्रीलंका २०७ औं स्थानमा छन्।

विश्व वरीयतामा ब्राजिल शीर्ष र बेल्जियम दोस्रो स्थानमा यथावत रहँदा अर्जेन्टिना तेस्रो स्थानमा उक्लेको छ। फ्रान्स चौथो स्थानमा झर्दा इंग्ल्याण्ड पाँचौ स्थानमा यथावत छ।


प्रकाशित: Jun 23, 2022| 22:11 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।