काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउन प्रयास थालेका छन्। महामन्त्रीद्वयले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गरेका छन्।
विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा उनीहरुले छलफल गरेका छन्। ‘विगतमा उठाउँदै आएको मुद्दालाई निर्णायक चरणमा पुर्याउने हाम्रो प्रयास हो। हिजो प्रधानमन्त्रीज्यूसँग पनि छलफल भएको थियो। उहाँ पनि सकारात्मक हुनुहुन्छ। कानुन निर्माण हुँदैछ, यसलाई अघि बढाउन र बाहिर रहेका नेपालीहरुको मतदान सुरक्षित गराउने कुरा भएको छ,’ थपलियासँगको छलफल पछि महामन्त्री शर्माले भने,
‘४० लाख नेपाली बाहिर हुनुहुन्छ। उहाँहरुसँग भूगोल छैन, नेपाली भावना छ। बाहिर रहेका नेपालीहरुको भावनालाई गाँसेर जाने प्रयत्न छौं। बहिर रहेका नेपालीहरुको नोट चल्ने, भोट नचल्ने भन्ने हुँदैन।’ प्रमुख आयुक्त थपलियाले तत्कालका लागि समानुपातिकमा मात्रै मतदान गराउने प्रयास गर्ने जवाफ दिएको शर्माको भनाइ छ। ‘हाम्रो प्रयास यही निर्वाचनमा मतदातको अधिकार दिलाउने प्रयासमा छौं। निर्वाचनको मिति घोषणा भइसकेको छैन। कानुन बनाउन सकिन्छ। एम्बेसीहरुबाट र अनलाइनबाट मतदाता नामवली संकलन गर्न सकिन्छ र सकिन्छ भन्नेमा हामी छौं,’ शर्माले भने।
महामन्त्री थापाका अनुसार आयोगले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिने कुरामा दलहरुका बीचमा साझा धारणा बनाउने भएको छ। ‘आयोगले दलहरुका बीचमा साझा धारणा बनाउन ध्यानाकर्षण गराएका छौं। नेपाल बाहिर रहेका नेपालीहरुको मतदाता नामावली संकलन भएको छैन। नामावली संकलन गर्ने कुरा अघि बढाइहालौं भन्ने कुरा भयो। आयोगले इच्छाशक्ति राख्यो भने राजनीतिक वृत्तमा हामी समझदारी गराउन पहलकदमी लिन्छौं,’ थापाले भने।
महामन्त्री थापाले काठमाडौंमा मतदाता नामवली संकलनमा भइरहेको भिडभाडलाई कम गर्ने सन्भर्दमा पनि प्रमुख आयुक्तको ध्यानाकर्षण गराएको बताए।
‘असार १ गते मतदाता नामावलीमा छुटेको भएको र नामावली संकलन गर्न उमेर पुगेकाहरुको नामावली संकलन गर्ने काम प्रारम्भ भएको छ। नाम संकलन गर्ने ठाउँमा भिडभाड छ। कष्ट झेल्नुपर्ने अवस्था छ,’ थापाले भने, ‘भोलीबाट नै काठमाडौंको लागि निवार्चन कार्यालयमा र बाहिरबाट आएकाहरुालई अन्य ठाउँमा थपेर नामवली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं। स्थानीय तहमै पुगेर नामवली संकलन गर्ने कुरा भएको छ। आयोगले सकारात्मक जवाफ दिएको छ।’
यस्तै निर्वाचन आचारसंहिताका सन्दर्भमा समेत छलफल भएको थापाले जानकारी दिए। ‘निर्वाचन आचारसंहिता अनुगमन पनि राम्रोसँग हुन नसक्ने, हामीले पनि कार्यान्वयन गर्ने जुन अवस्था छ। त्यसकारण आचारसंहितालाई भद्दा नबनाउने भन्ने विषयमा पनि छलफल भएको छ,’ उनले भने, ‘निर्वाचनलाई स्वच्छ र स्वस्थ बनाउने सन्दर्भमा हामीले केही सुझाव दिएका छौं। निर्वाचनको खर्च कसरी घटाउने भन्नेमा पनि छलफल कायम भयो। केही दिनमा अन्य दलहरुलाई बोलाएर छलफल भएको छ।’
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ। तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन।