काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनमा हिंसाको औचित्य पुष्टि नहुने बताएका छन्।
मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रियामा ओलीले कानुनी र शान्तिपूर्ण रूपमा नै आन्दोलनलाई अगाडि बढाउन सक्ने बाटो हुँदाहुँदै हिंसा रोज्नु गलत भएको बताएका हुन्।
राणा शासन र निरंकुश राजतन्त्रविरुद्ध गरिएका आन्दोलनमा हिंसा जायज भए पनि त्यसपछि भएका आन्दोलनमा भएका हिंसाको औचित्य पुष्टि नभएको ओलीले तर्क गरे। विशेषगरी १० वर्षे माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमाथि प्रश्न उठाउँदै ओलीले थपे, ‘राणा शासनका विरुद्ध र निरंकुश राजतन्त्र र पञ्चायती शासनविरुद्ध फोर्सफुल्ली ब्यारियर खडा गरिएकाले शान्तिपूर्ण र संवैधानिक तवरले आन्दोलन सम्भव थिएन। त्यसपछि भएका हिंसात्मक आन्दोलनको भने औचित्य न्यायोचित रूपमा पुष्टि हुन सकेको छैन।’
‘त्यो हिंसा गणतन्त्रका लागि थियो भने गणतन्त्र आउनुपूर्व नै २०६३ मा टुंगियो। गणतन्त्रका लागि थियो भन्ने हो भने कसैले पनि यो मितिमा गणतन्त्र दिन्छु त भनेको थिएन। त्यसैले त्यो कसका लागि थियो र कोबाट प्रेरित थियो भन्ने अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन,’ माओवादी युद्धप्रति इंगित गर्दै ओलीले भने।