काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली शासकले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन्। सोमबार काठमाडौंमा आयोजित ३१औं किसान संघर्ष दिवस अवसरमा नेता महराले यस्तो बताएका हुन्।
उनले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्र हित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुन सक्ने आशंका गर्दै नागरिक सचेत रहनुपर्ने बताए।
नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४÷५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा सम्झौताको विषय बाहिरिन सक्ने दाबी गरे। उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र यो योजनासँग जोडिएको आईपीएसको अर्को रूपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे।
उनले भने, ‘एसपीपीको सन्दर्भमा केही समय टरिसक्यो । सरकारले बोल्यो, हामी गर्दैनौं। प्रतिपक्षले बोल्यो, यो राष्ट्र हितविरुद्ध छ। संसद्भित्रका र बाहिर रहेका पार्टीहरूले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधीनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकिए पनि मलाई शंका लागेको छ–कतै नेपाली शासक झुक्ने त होइनन् ?’