काठमाडौं– सांसदहरुले इन्धनमा भएको मूल्यवृद्धिको विरोध गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले जे नहोस् भनेको आज त्यही भइरहेको भन्दै इन्धनको मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, ‘सरकार कानमा तेल हालेर बसेको छ। बिहान एउटा समचार पढियो। समाचार पढ्दै गर्दा जिब्रो टोक्ने अवस्था बन्यो। इन्धनको भारी मात्रामा मूल्यवृद्धि भएको छ। गएको स्थानीय निर्वाचनयता चार पटक मूल्यवृद्धि गरेको छ सरकारले।’
नेकपा एमालेको तर्फबाट सदनमा मूल्य वृद्धि नियन्त्रण गर्ने सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको बताउँदै उनले सरकारप्रति भरोसा गर्ने ठाउँ नरहेको बताइन्। उनले भनिन्, ‘भरोसा टुटेको छ, आशा मरेको छ। जनताप्रति संवेदनशील बन्नुपर्ने हो सरकार तर मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ।’