काठमाडौं- क्रिकेटको समस्या समाधान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले पहल गर्ने बताएकी छन् । उनले नेडरल्यान्ड्समा ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शितल निवासमा भेट गरी मंगलबार यस्तो बताएकी हुन् ।
‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ । यो मेरो इच्छा हो । आश्वासन होइन् । किन कि म खेलकुदको विकास भएको हुर्ने चाहन्छु ।’ राष्ट्रपति भण्डारीले भनिन्, ‘क्रिकेटको समस्या चाँडो समाधान होस् । उल्झनको विषय नबनाउँ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको बताउदै सम्भावना भएका खेललाई बढी प्रोत्सान गर्नतर्फ सरोकार निकायले चासो दिनु पर्ने धारणा व्यक्त गरिन् । उनले क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट सहयोग आवश्यक परे सक्दो सहयोग गर्न तयार रहेको समेत बताइन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित श्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताउदै क्रिकेटको भविष्य उज्वल रहेको बताए ।
सदस्य–सचिव विष्टले मुलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको बताउदै चाँडै क्रिकेटको निलम्बन पनि फुकुवा हुने बताए।
क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले धेरै संघर्षपछि क्रिकेटले अहिलेको सफलता हासिल गरेको बताउदै यसमा धेरैको योगदान रहेको बताए ।
नेडरल्यान्ड्स विरुद्धको दुई एक दिवसीय शृंखलामा नेपालले १–१ को बराबरी खेलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४