काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएको छ।एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा आइतबार भएको भेटवार्तामा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानून हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए।
भेटमा नागरिकता विधेयक चालु संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारीस्वरूप दलका शीर्ष नेतृत्वसँग छलफल गरिरहेको छ।
गृहमन्त्री खाणले नागरिकता विधेयकबारे दल/नेतासँग छलफल गर्दै आएका छन्। उनले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयकका बारेमा भेटवार्ता गरिसकेका छन्।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरिसकेको छ।नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अङ्गीकृत नागरिकतालगायतमा विषयमा सहमति जुट्न सकेको छैन।