आइतबार, जेठ ६, २०८१

साडियो मानेको सफल प्रतिस्थापनका दाबेदार

उरुग्वेको अर्तिगसमा जन्मिएका नुनेज पोर्चुगिच क्लब बेनफिकाबाट खेलिरहेका थिए। केही दिनअघि मात्र बेनफिकाले औपचारिक रुपमा जानकारी दिँदै ७५ मिलियन युरो र प्याकेज सहित १०० मिलियन युरोमा २२ वर्ष फरवार्डलाई बेचेको बतायो। त्यसपछि त लिभरपुलले ६ वर्षको सम्झौता गरेको हो।
 |  आइतबार, असार ५, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, असार ५, २०७९

युरोपेली फुटबलमा अहिले उदीयमान प्रतिभाको खोजी उच्च छ। विभिन्न देशमा रहेका त्यस्ता कलाहरु पहिचान गर्दै महँगो मूल्यमा भित्र्याउने क्रम युरोपका ठूला फुटबल क्लबले गरिरहेको देखिन्छ। केही समयअघिको कुरा त हो। धेरैले चिनेका कोलम्बियन फरवार्ड लुइस डियासलाई लिभरपुलले भित्र्यायो त्यो पनि ठूलो मूल्यमा। अहिले डियाजले त्यहाँ उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

triton college

यसै मेसोमा इर्लिङ हालान्डलाई म्यानचेस्टर सिटीले अनुबन्ध गर्यो। ठूला भनिएका धेरै क्लबले धेरै खेलाडी लामो समयका लागि सम्झौता गर्ने क्रम जारी छ। त्यो क्रम इंग्ल्यान्डमा मात्र होइन स्पेनमा पनि छ। जहाँ फ्रान्सका इडुआर्डो कामाभिङ्गा र ओगेलिया छुवामेनीलाई रियलले आफ्नो बनाएको छ।

यसैबीच एउटा सनसनीपूर्ण समाचार युरोपेली फुटबलले पायो। त्यो हो इङ्ग्लिस क्लब लिभरपुल र ड्राविन नुनेजबीच सम्झौता। सम्झौताअनुसार अब नुनेज लिभरपुलको स्क्वाडमा देखिनेछन्।

उरुग्वेको अर्तिगसमा जन्मिएका नुनेज पोर्चुगिच क्लब बेनफिकाबाट खेलिरहेका थिए। केही दिनअघि मात्र बेनफिकाले औपचारिक रुपमा जानकारी दिँदै ७५ मिलियन युरो र प्याकेज सहित १०० मिलियन युरोमा २२ वर्ष फरवार्डलाई बेचेको बतायो। त्यसपछि त लिभरपुलले छ वर्षको सम्झौता गरेको हो। क्लबका मुख्य स्कोरर साडियो मानेले क्लब छाडेपछि लिभरपुलले विकल्पमा उनलाई क्लबमा लिएको हो।

अब नुनेज मानेकै सफल प्रतिस्थापनका रुपमा उभिने दाउमा छन्। उनीहरुको जस्तो विगत छ र फुटबलले उनीहरुको जीवनमा जसरी परिवर्तन ल्याइदिएको छ त्यो हेर्दा पनि यी दुईको कथामा समानता पाइन्छन्। अनि त्यदि लक्षण देखेर हो कि नुनेज प्रिमियर लिगको महँगो खेलाडीमध्येका भइसकेका छन्। अहिले हाल्यान्ड र ज्याक ग्रिलिसको हाराहारीमा पुगेका छन् नुनेज।

corrent noodles
Metro Mart

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप पनि त नुनेजबाट प्रभावित छन्। क्लोपले भनेका छन्, 'स्वास्थ्य रहेमा उनको भविष्य उज्वल छ। नुनेज राम्रो मात्रै हैन प्रतिभावान खेलाडी पनि हुन्। म नुनेजलाई राम्रोसँग जान्दछु जबकी उविरुद्ध मैले खेलिसकेको पनि छु। त्यसैले उ कस्तो खेलाडी हो, राम्रोसँग जानकारी छ। नुनेजले टिममा साडियो मानेको स्थान लिन सक्छन्। शारीरिक रूपमा बलियो र छिटो उनी  फिनिसिङमा शान्त देखिन्छन्।' 

उरुग्वेको अर्तिगसमा जन्मिएका नुनेज पोर्चुगिच क्लब बेनफिकाबाट खेलिरहेका थिए। केही दिनअघि मात्र बेनफिकाले औपचारिक रुपमा जानकारी दिँदै ७५ मिलियन युरो र प्याकेज सहित १०० मिलियन युरोमा २२ वर्ष फरवार्डलाई बेचेको बतायो।

उरुग्वेको उत्तर पश्चिमी क्षेत्रको सानो सहरमा जन्मिएका नुनेज १४ वर्षको उमेरमै फुटबल क्लबमा अनुबन्ध भए। फुटबल खेल्नकै लागि उनी देशको सबैभन्दा उत्तरी क्षेत्रबाट देशको सबैभन्दा दक्षिणी भेगमा पुगेका थिए। पेनारोल क्लबको युवा जेर्सीमा देखिने उनी सन् २०१३ ताका त्यहाँ चर्चामा रहे। यद्यपि सुरुवाती समयमा चोटलगायतका कारण धेरै समय खेल्न सकेनन्।

तर समय एकै कहाँ रहन्छ र? उनको  सिनियर टिममा यात्रा सुरु भयो। पेनारोलबाट खेल्न थालेको चार वर्ष बितिसकेको त थियो। उनी १८ वर्ष पुग्दै थिए। उनले २०१७ मा पेनारोल्सबाट उरुग्वेको सिनियर लिगमा नोभेम्बर २२ मा रिभरप्लेटविरुद्ध डेब्यु गरे।

त्यसको केही महिनापछि फेरि चोटग्रस्त बने। उनको घुँडामा देखिएको चोटका कारण खेल्न सकेनन्। चोटमुक्त भएर मैदान फर्किएपछि मात्र खेल जीवनको पहिलो औपचारिक गोल सन् २०१८ अक्टोबर १३ मा गरे। डेब्यु गोलको ९ महिनापछि उनले रोष्टन रिभरविरुद्ध पहिलो ह्याट्रिक गरे। युवा टिममा उनको प्रदर्शनले नै उनको सुन्दर भविष्यको कल्पना गर्न मानिसलाई बाध्य पारिसकेको थियो। त्यसैले पनि भन्न सकिन्छ, यो क्लब नै उनको खेल जीवनको टर्निङ पोइन्ट बन्यो।

अब उनको यात्रा आफ्नै देशमा मात्र सीमित रहेन। हुने बिरुवाको चिल्लो पात भनेझैं उरुग्वेको पेनारोल्समा गरेको प्रदर्शनबाट नुनेजको नाम युरोप बजारमा आउन थाल्यो। त्यसैबीच उनलाई स्पेनिस दोस्रो डिभिजन (ला लिगा सेकुन्डा)को क्लब अल्मेरियाले अगस्ट २९ सन् २०१९ मा १‍.५ मिलियन डलर तिरेर पाँच वर्षको लागि अनुबन्ध गर्यो। क्लबमा भित्रिएको २ महिनापछि उनले अक्टोबर ३ मा स्पोर्टिङ गीजोङविरुद्ध डेब्यु गरे। उनले आफ्नो डेब्युलाई स्मरणीय बनाउन भने सकेनन्। उक्त खेलमा उनको टिम ४-२ ले पराजित भयो।

एक्सट्राम्डुराविरुद्धको खेलमा पहिलोपटक सुरुवाती टिममाबाट खेले उनले। र, पेनाल्टीमार्फत क्लबका लागि गोल गरे, यो नै अल्मेरियाका लागि उनले गरेको पहिलो गोल थियो। उनको खेलबाट प्रभावित हुँदै प्रशिक्षकले उनलाई निरन्तर टिमको सुरुवाती ११ बाटै खेलाउन थाले। उनी पनि के कम आफूलाई प्रमाणित गरेर देखाइछाडे। उनले सिजनको समाप्तिमा १६ गोल गर्दै चौथो शीर्ष गोलकर्ता समेत बने। र, उनको टिम लिगको चौथो स्थानमा रह्यो।

व्यक्तिगत रुपमा उच्च प्रदर्शन गरे पनि उनको टिमले लिग जित्न सकेन। त्यसकारण उनको टिम अलमेरिया स्पेनिस शीर्ष डिभिजनको लिग ला लिगा खेल्नका लागि छनोट भएन। तर त्यसले उनलाई स्पेनमा बसिरहने बाटो भने खुलाइदियो।

त्यहाँ गरेको उत्कृष्ट प्रदर्शन धेरैले हेरिरहेका रहेछन्। अब उनी युरोपकै कुनै देशको शीर्ष डिभिजनको क्लबमा खेल्न चाहन्थे। केही समयमै पोर्चुगिच क्लब बेनफिकाले नुनेजलाई अनुबन्ध गर्ने निर्णय गर्यो। सन् २०२० सेप्टेमबर ४ मा पाँच वर्षका लागि २४ मिलियन युरोमा बेनफिकाले उनलाई भित्र्यायो। उनी अल्मेरियाका लागि एतिहासिक बने। किनभने अल्मेरिले गरेको सबैभन्दा ठूलो मूल्यको खेलाडी विक्री पनि बनेका थिए नुनेज। क्लबमा अनुबन्ध भएको ११ दिन नबित्दै उनले डेब्यु गरे। यो डेब्यु उनका लागि सबैभन्दा महत्तवपूर्ण थियो। त्यो किनभने यो प्रतियोगिता कुनै घरेलु लिग नभइ युरोपेली च्याम्पियन्स लिगको तेस्रो राउन्डको क्वालिफाइङ खेल थियो। तर यसपटक पनि उनको डेब्यु सफल हुन सकेन, पाओक एफसीविरुद्ध खेलको ६५ औं मिनेटमा मैदान छिरेका उनको टिम भने २-१ ले पराजित भयो। च्याम्पियन्स लिगको छनोटमा डेब्यु सफल नभए पनि घरेलु लिग प्राइमेरा लिगमा सुरुवाति चार खेलमा पाँच असिस्टका साथ सानदार सुरुवात गरे।

अक्टोबर २२ मा लिच पोजानविरुद्ध युइएफए युरोपा लिगको समूह चरणको खेलमा पहिलो गोल गरे, साथै उक्त खेलमा ह्याट्रिकसमेत गरे। त्यसको चार दिनपछि उनले प्राइमेरा लिगमा पहिलो गोल गरेका थिए।

नुनेजको टिम बेनफिकाले लिगको उपाधि जित्न भने सकेन। लिगमा तेस्रो स्थानमा रहँदै सिजन समाप्ति गरेको उनको टिमले उपाधि जित्न नसके पनि प्रतियोगितामा नुनेजको प्रदर्शन कहिल्यै कमजोर रहेन। उनले लिगका २८ खेलमा २६ गोल गर्दै शीर्ष स्कोररको अवार्ड जिते।

प्रतिखेल एक गोलको औसत राखेर उनी लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए। स्पेनबाट पोर्चुगल गएपछि नुनेजले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। ८५ खेलमा ४८ गोल र १५ असिस्ट गरे। यो सिजन मात्रै च्याम्पियन्स लिग सहित ३४ गोल गरेका छन् नुनेजले। उनको पछिल्लो समयको प्रदर्शनबाट अन्य युरोपियन टिमहरु उनको पछि लाग्न थालिसकेका थिए।

बेन्फिकाका प्रशिक्षक नेल्सन भेरिसिमोले पनि नुनेजको तारिफ गरेका छन्। उनका अनुसार नुनेज जिम्मेवार खेलाडी हुन्। उनी भन्छन्, ‘नुनेजले खेलमा सबै गुण देखाइसकेका छन्। उनले टिमलाई धेरै मद्दत गरे। उनको प्रदर्शनबाट अन्य ठूला क्लबहरुले उमाथि चासो दिनु सामान्य कुरा हो। किनकी उनले यहाँ धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। उनले आफ्नो भूमिका राम्रो ढंगले निभाएका छन्। उनी एक उत्कृष्ट खेलाडी हुन्। र, उनी एक ऐतिहासिक खेलाडी बन्ने बाटोमा छन्। उनलाई क्लबले बेच्न नचाहे पनि प्रोफेसनल खेलाडी भएपछि यस्तो ट्रान्सफरहरुलाई स्वीकार गर्नुपर्छ। यो फुटबलको नियम हो।’

च्याम्पियन्स लिगबाट क्लोप प्रभावित

यो सिजन बेनफिकाबाट नुनेजले पहिलो पटक च्याम्पियन्स लिग खेले। यो पटक उनलाई कमजोर प्रदर्शन गर्ने कुनै छुट थिएन। कारण प्रतिस्पर्धीहरु युरोपकै बेस्ट क्लबहरू थिए। नभन्दै पहिलो पटककै सहभागितामा उनले आफ्नो छवि स्पष्ट पारे। बेनफिकाले समूह चरणमा स्पेनिस क्लब बार्सिलोनालाई ३-० ले पराजित गर्‍यो। जहाँ दुई गोल गरेका नुनेजले पहिलो च्याम्पियन्स लिग यादगार बनाएका छन्।

त्यस्तै, क्वार्टरफाइनलमा प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध उनले दुवै खेलमा गोल गर्दै क्लोपको मन जिते। पहिलो लेग ३-३ को बराबरी हुँदा गोल गरेका उनले त्यस्तै दोस्रो लेगमा ३-१ ले पराजित बेनफिकाका लागि एकमात्र गोल उनले ले नै गरेका थिए।

घरेलु लिगसहित च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गरेका नुनेजले यस प्रतियोगितामा ६ गोल गरेका छन्। लिभरपुलविरुद्धको खेलबाट प्रभावित भएका क्लोपले खेलपश्चात मिडियासँग कुरा गर्दै भने, 'म नुनेजको खेलबाट धेरै प्रभावित भएको छु। उनले धेरै राम्रो खेलेका छन्, म त उनको फ्यान नै भएँ। भविष्यमा हामी सँगै खेल्न सक्छौं। उनी उत्कृष्ट खेलाडी हुन्, उनी देशमा स्वारेज र काभानीसँगै खेल्छन्। यी तीनै जनालाई खेलाउन सक्नु निकै ठूलो चुनौती हो। तर उनी धेरै टप खेलाडी हुन्। उसले गरेका गोलहरु हामी स्पष्ट देख्न सक्छौं, उनी जस्तो अवस्थामा पनि गोल गर्न सक्छन्।'

क्लबमा मात्र होइन नुनेजको करियर अन्तर्राष्ट्रिय फुटबलमा पनि राम्रो बन्दै गइरहेको छ। नुनेजलाई सन् २०१९ सेप्टेम्बरमा पहिलो पटक कोस्टारिका र अमेरिकाविरुद्धको खेलका लागि राष्ट्रिय टिममा बोलाइएको थियो। टिममा परे पनि डेब्यु भने गरेका थिएनन्। एक महिनापछि अक्टोबर १६ मा पेरुविरुद्धको खेलमा उनले डेब्यु गरे र त्यसको पाँच मिनेटपछि डेब्यु खेलमै गोल पनि गरे।

उक्त खेल १-१ को बराबरी भएको थियो। कोपा अमेरिका सन् २०२१ को उरुग्वेको राष्ट्रिय टिममा परेका उनी घुँडाको चोटका कारण दुई महिना खेल बाहिर रहे र उनले उक्त प्रतियोगिता पनि खेल्न पाएनन्। पुस्ता हस्तान्तरणको क्रमलाई हेर्ने हो भने उरुग्वेमा डिएगो फर्लान, लुइस स्वारेज र काभानीपश्चात् नुनेजको नाम शीर्षमा आउन थालिसकेको छ।

गाँसको अभावदेखि आलिसान जिवनसम्म

खानकै लागि गरिने दुःख के हो त्यो उनलाई राम्रोसँग थाहा छ। उनले कहिले पनि धनाढ्य मानिसको अनुभव गर्न पाएनन्। तर अब उनको त्यो दुःखको समय सकिएको छ।

अल्मेरियाका पूर्व खेलाडी नुनेज आफ्नो विगत सम्झिँदै भावुक बन्छन्। उनी भन्छन्, 'मेरो आमाले म र मेरो भाइको लागि एकछाक खानाको लागि गरेको त्याग र संघर्ष मैले अझै बिर्सेको छैन। हो म खाली पेट एक्लै ओछ्यानमा धेरै पटक गएको छु। र यो पनि सत्य हो कि, म भन्दा धेरै पटक खाली पेट त मेरो आमा सुत्नुभएको छ।'

उनी आमा उनीहरूसँग खाना नखाई सुत्न जान्थिन्। ती कुराहरु आज पनि उनको आँखामा झल्झली आइरहन्छन्। 'म कहाँबाट आएको छु म कहिल्यै बिर्सने छैन,' उनले भनेका छन्, 'मलाई जुत्ता किन्नका लागि आमाबुबाले घरमा खाना ल्याउनै गरेको संघर्ष ताजै छन्। मेरो बुबाले दिनमा ९, १० घण्टासम्म निर्माण क्षेत्रमा काम गर्नुहुन्थ्यो। त्यसपछि मात्र घरमा खाना आउँथ्यो। आमा अर्काको घरमा गएर काम गर्नुहुन्थ्यो र प्लाष्टिकका बोतलहरु भेला गरेर बेच्न सडकमा जानुहुन्थ्यो।'

घरको दु:ख बुझेका उनले फुटबल खेलेरै गरिबी हटाउने सोचे। पेनारोल स्काउटले उनलाई अर्टिगासबाट मोन्टेभिडियोमा परीक्षणको लागि लगेको थियो। जतिबेला उनी १४ वर्षका थिए। उतिबेला नुनेजले पेनारोलको लागि हस्ताक्षर गरेनन्। अनि क्युअरिम नदीको किनारको बस्ती पिरातामा आफ्ना आमाबाबुसँग फर्केर बस्न थाले। आर्थिक समस्या र चोटका कारण उनी राम्रोसँग खेल्न सकिरहेका पनि थिएनन्।

नुनेज पेनारोलमा हुँदा प्रशिक्षक लियो रामोस थिए। उनले अहिले भनेका छन्, ‘नुनेज मानसिक रुपमा धेरै बलिया छन्। उनी लिभरपुलको दबाब सामना गर्न पूर्ण योग्य छन्। उनले धेरै नै दुःख र पीडा भोगेका छन् र जस्तै पीडा पनि भोग्न सक्छन्। जसले उनलाई जति नै कमजोर अवस्थामा पनि दृढ रन प्रेरित गर्नेछ। उसलाई पीडा के हो राम्रोसँग थाहा छ। दौडने र तालिमको समयमा पीडाले रुने गर्थे उनी। त्यो समयमा मलाई र उनको प्रतिनिधिलाई थाहा थिएन उनको चोटले गर्दा सायद हामीले उनीमाथि धेरै ठूलो दबाब दियौं। किनभने फुटबलरको रूपमा उनको करियर खतरामा थियो।’

लिभरपुलमा अब उनको तलब हप्ताको एक लाख ४० हजार पाउन्ड हुनेछ। त्यो भनेको साढे ६८ लाख उरुग्वेयन पेसो हो।

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रकाशित: Jun 19, 2022| 15:40 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।