काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बृहत् बैठक बोलाउने विषयमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताएका छन्। काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
आइतबार मात्रै पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग यो विषयमा कुराकानी भएको उनले जानकारी दिँदै। 'आज मात्रै मेरो प्रधानमन्त्रीसँग कुराकानी भएको छ। प्रचण्डसँग पनि कुराकानी भएको छ। मुलुकलाई प्रतिगमनको दिशामा लैजान हुँदैन,' नेपालले भने, 'नेपालमा देशभक्तिको भावनाले काम गरेको छ। कुनै पनि देशभित्र जनतालाई बढ्ता आह्लादित गर्ने विषय देशभक्ति हो। राष्ट्रिय हितमा आँच आउने कुरा भयो भने जनताको आकांक्षालाई सहज लिनुपर्छ। त्यसको सम्बोधन गर्नुपर्छ।'
यसको समीक्षा र विगतमा भएका काम कारबाही र वर्तमान सरकारले गरेका काम सरकारले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ। 'गठबन्धनको बृहत् बैठक आयोजना गरौँ। सबै कुरा प्रष्ट पार्ने काम गरौँ। सबै कुराको समीक्षा गरौँ। सबैलाई आश्वस्त पार्ने गरी प्रस्तुत हौँ भन्ने कुरा भएको छ,' उनले जानकारी दिए।
वर्तमान सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने उनको भनाइ छ।