काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै उनलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
आइतबार बसेको समितिको बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा छलफल भएको थियो। उक्त छलफलका लागि समितिले प्रधानमन्त्री देउवालाई पनि बोलाएको थियो। प्रधानमन्त्री देउवा समितिलाई पज्ञ पठाउँदै बैठकमा सहभागी भएनन्।
बिहान ८ बजे देउवाको सचिवालयले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आउन नसक्ने जानकारी समितिलाई दिएको थियो। समितिको बैठक बिहान १० बजे बोलाइएको थियो।
संसदीय समितिको बैठकमा प्रधानमन्त्री नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले आलोचना गरेका थिए। एमाले सांसद ईश्वर पोखरेलले समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक भएको बताए। एमालेकै अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई बेवास्ता गर्न नमिल्ने दाबी गरे।
सांसद भीम रावलले समितिमा आउँछु भनेर बालुवाटारमा ५ दलीय बैठक राखेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे। उनले भने, ‘एउटा सम्झौताबाट राष्ट्रियता कमजोर हुने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नआउने गम्भीर विषय हो। सामान्य विषय होइन, सामरिक विषयमा प्रवेश गर्न लाग्यो देश भन्ने विषय उठेको छ।
नेपाली कांग्रेसका सांसदहरूले भने समिति बैठकमा प्रधानमन्त्री नआउनु सामान्य कुरा भएको भन्दै यसबारे कुनै निर्णय गर्नु नपर्ने तर्क गरेका थिए। नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक निर्णय नभइसकेको बताइन्। उनले भनिन्, ‘अहिलेसम्म अमेरिका भ्रमणबारे पत्राचार भएको छैन। फर्मल रुपमा निर्णय नभइसकेको अवस्थामा समितिमा बोलाउनुको अर्थ रहँदैन। यस कुरामा समितिलाई जानकारी गराउँछु भन्नुभएको छ। उहाँले भ्रमण तय भएपछि आउँछु भन्नुभएको छ। समितिको अपमान भयो भन्नुभन्दा पनि भ्रमण तय भएपछि उहाँ आउनुहुन्छ।’
समितिले प्रधानमन्त्री संसदीय समितिमा नआउनु लोकतन्त्र र संसदीय व्यवस्थाकै लागि प्रतिकूल भएको व्यहोरासहितको निर्णय गर्ने तयारी गरेपछि सांसदहरुबीच मतभेद भएको थियो। एक घण्टाभन्दा बढी सांसदहरूबीच वादविवाद भएपछि समिति सभापति पवित्रा निरौला खरेलले होहल्लाकै बीच प्रधानमन्त्री देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय सुनाएकी थिइन्। निरौलाले निर्णय सुनाएसँगै समितिको बैठक सकिएको छ।
समितिले एसपीपीबारे गत शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको थियो।