काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएपछि समिति सभापति पवित्रा निरौला खरेलले समितिको अपमान भएको बताएकी छन्।
समितिले आज आइतबार बिहान १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो। प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको उनको अमेरिका भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो।
समिति सभापति खरेलका अनुसार आज बिहान ८ बजे प्रधानमन्त्री नआउने जानकारी प्राप्त भएको थियो। प्रधानमन्त्री नआउने भए समयमै समयमा खबर हुनुपर्ने भन्दै उनले यसबाट संसदीय समितिको अपमान भएको दाबी गरिन्।
बैठकमा प्रधानमन्त्री देउवाको अनुपस्थितिबारे प्रश्न उठेपछि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक निर्णय नभइसकेको बताइन्। उनले भनिन्, ‘अहिलेसम्म अमेरिका भ्रमणबारे पत्राचार भएको छैन। फर्मल रुपमा निर्णय नभइसकेको अवस्थामा समितिमा बोलाउनुको अर्थ रहँदैन। यस कुरामा समितिलाई जानकारी गराउँछु भन्नुभएको छ। उहाँले भ्रमण तय भएपछि आउँछु भन्नुभएको छ। समितिको अपमान भयो भन्नुभन्दा पनि भ्रमण तय भएपछि उहाँ आउनुहुन्छ।