काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आइतबार नेकपा एमालेकी सांसद गंगा चौधरीले नेपाल मेडिकल काउन्सिल कमिसनको खेलमा रमाएको बताइन्।
बैठकमा उनले भनिन्, ‘डाक्टरहरु लाइसेन्स प्राप्त गर्न नसकेर लाइनमा छन्। मेडिकल काउन्सिलमा बेथिति छ। एउटै तहको परीक्षामा फरक–फरक प्रश्न आउँछ। बिहान एक किसिमको पेपर आउँछ, दिउँसो अर्को किसिमको पेपर आउँछ। अनि साँझ अर्को किसिमको पेपर आउँछ। दुःख गरेर पढाएका आमाबाबुको र लाइसेन्समा नाम निकाल्न नसकेका पीडित डाक्टरहरुमा रमाइरहेको छ यो मेडिकल काउन्सिल। कतिपय दुरदराजका अस्पतालमा डाक्टर नभएर बिरामीको उपचार हुन नसकेर बिरामीहरु छटपटाइ मर्नुपरेको छ। तर सम्बन्धित निकाय मूकदर्शक भएको छ।’
मेडिकल काउन्सिल कमिसनको खेलमा रमाइरहेको आरोप लगाउँदै उनले राज्यको ध्यान त्यसतर्फ पुग्नुपर्नेमा ध्यानाकर्षण गराइन्।
मेडिकल काउन्सिल स्रोत भने सांसद चौधरीका छोरा पटक पटक लाइसेन्सको परीक्षामा फेल भएकाले उनले संसदमा आक्रोश पोखेको बताउँछ। स्रोतका अनुसार सांसद चौधरीका छोरा लाइसेन्स परीक्षामा तीनपटक फेल भएका थिए। त्यसपछि चौधरीले दबाब दिएकी थिइन्। सांसद चौधरीका छोरा बंगलादेश पढेर आएका थिए। आफ्ना छोरा मेडिकल काउन्सिलले लिएको परीक्षामा अनुत्तीर्ण भएपछि संसदमा प्रश्न उठाएको काउन्सिलका अधिकारीहरू बताउँछन्
सांसद चौधरीले भने आफूले कुनै दबाब नदिएको दाबी गरेकी छन्। नेपाल समयसँग कुरा गर्दै चौधरीले भनिन्, ‘मैले कसैलाई दबाब दिएको छैन, म छुचो मान्छे हो तर मैले कुनै पनि दबाब काउन्सिललाई दिएको छैन। हो, मेरो छोरा लाइसेन्स परीक्षामा फेल भएको हो तर मैले मेरो छोरा फेल भयो भनेर कुनै आक्रोश पोखेकी हैन। परीक्षा दिने सबै मेरा छोरछोरी हुन्, उनीहरुको कुरा बोलेकी हुँ।’
उनले थपिन्, ‘मेरो छोरा पास–फेल जे होस् फरक विषय हो, तर ब्याचलर पढ्ने विद्यार्थीलाई पीएचडी लेभलको प्रश्न सोधेर हुँदैन। मेरो छोरा मात्रै होइन, परीक्षा दिने सबै मेरा छोराछोरी हुन्। एउटै परीक्षामा फरक प्रश्नपत्र आउँछ भने त्यसलाई के भन्ने?’
उनले यस विषयमा शिक्षामन्त्रीसँग पनि कुरा गरिसकेको बताइन्। शिक्षामन्त्रीले पनि यस विषयमा टिपोट गरिरहेको र सम्बन्धित पक्षसँग छलफल गर्ने बताएको जानकारी उनले दिइन्।
चौधरीले भनिन्, ‘कमिसनको चक्करमा प्रश्नपत्र आउट भएको छ। म छुच्चो मान्छे भएकाले मसँग कमिसन माग्न सकेनन्, तर अन्य छोराछोरीसँग कमिसन मागिएको छ। मेरो भनाइ के हो भने बेथितिलाई कसरी थितिमा ल्याउने भन्ने कुरा हो।’
मेडिकल काउन्सिलका रजिष्टर कृष्ण प्रसाद अधिकारीले विद्यार्थीहरु पासफेल हुने कुरा स्वाभाविक भएको बताउँदै सांसद गंगा चौधरीको छोरा फेल–पास के भयो आफूलाई थाहा नभएको बताए। उनले भने, ‘पास–फेल हुने कुरा स्वाभाविक हो। को फेल भयो, हामीले नाता प्रमाणित गरेका छैनौं।’