काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद झपटबहादुर रावलले जनताका माग समावेश गरिएका सांसदका लेटरप्याड मन्त्रीहरूले च्यात्ने गरेको आरोप लगाउँदै संसद्मा आक्रोश पोखेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले जनताका माग उल्लेख गरेर प्रतिपक्षी सांसदहरूले लेटरप्याडमा पठाए पनि त्यो च्यात्ने काम भएको दाबी गरे। उनले भने, ‘मैले भर्खरमात्र सुनें– केही केही मन्त्री यस्ता छन्, जनताका माग प्रतिपक्षीका सांसदहरूले आफ्नो लेटरप्याडमा पठाउँदा प्रतिपक्षीको भनेर गैरजिम्मेवार भएर अराजक ढंगले च्यातेको भन्ने आइरहेको छ।’
अर्कोपटक संसद्मा बोल्दा कुन मन्त्रीले लेटरप्याड च्यातेको हो भन्ने विस्तृत खुलाउने बताउँदै उनले भने, ‘अर्को दिन त्यस्ता मन्त्रीहरूको विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु। अराजक मन्त्रीलाई जनताका तर्फबाट चुनौती दिन चाहन्छु– खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू! जनताले तपाईंका हात र मुख च्यात्न नपरोस् भन्ने कुरा खबरदारी गर्न चाहन्छु।’
सांसद रावलले किसानलाई रासायनिक मल र त्यसको भण्डारणको व्यवस्था गर्न पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै किसान मलको अभावमा छटपटाइरहेका बेला विदेश भ्रमणमा भएको भन्दै कृषिमन्त्री महिन्द्रराय यादवप्रति खेदसमेत व्यक्त गरे।
उनले भने, ‘यतिबेला जनता सरकार खोजिरहेका छन्। यो सरकार बनेको करिब एक वर्षभन्दा बढी हुन लागिसक्यो। सरकार कुम्भकर्णको निन्द्रामा छ। हामीले यही संसदभित्र पनि सम्बन्धित विभागीय मन्त्रीलाई धेरै दिन खोज्यौं। मन्त्रालयमा पनि गइयो। मन्त्रीजी किसानहरुको जल्दोबल्दो समस्यामा बेखवर हुनुहुन्छ। उहाँ विदेश सयरमा हुनुहुन्छ भन्ने कुरा मन्त्रालयबाटै सुन्यौं। किसान मल नपाएर छटपटिरहेका बेला, किसानहरु सिंहदरबारको मुख ताकेर बसिरहेका बेला सम्बन्धित विभागीय मन्त्री कानमा तेल हालेर, किसानको समस्याप्रति बेखवर भएर विदेश सयर गर्ने कृषिमन्त्रीप्रति खेद व्यक्त गर्न चाहन्छु।’
उनले थपे, ‘सरकारले जनताको पक्षमा, किसानको पक्षमा कुनै पनि काम गर्न सक्दैन। जनतालाई ठग्ने बाहेक अरु कुनै काम गर्न सक्दैन।’