मंगलबार, साउन २६, २०८३

संसद्‍मा एमालेको प्रश्न– करका दरमा रातारात कसरी हेरफेर भयो?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन्। 

‘विगतका बैठकहरूमा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा राजस्वका दर, भन्सार र करमा भएका कतिपय प्रावधानमा टिप्पणी गर्दै आएका छौं। आजका सञ्चारमाध्यमहरूले उक्त विषयलाई गम्भीरताका साथ उठाएका छन्। म सभामुखमार्फत त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

सांसदहरूले विद्युतीय सवारीसाधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो, स्वास्थ्य बिमा किन प्राइभेट कम्पनीलाई दिइँदैछ, जुत्ता र स्यानिटरी प्याडमा कर किन लगाइयो भनेर प्रश्न उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो।

उनले भने, ‘कुनै अमूक व्यक्तिलाई अर्थमन्त्रीले अर्थ मन्त्रालयमा बोलाउनुभयो। कार्यकक्षमा भएका अर्थ मन्त्रालयका सचिव, राजस्वका सचिव, बजेट शाखा प्रमुखलगायतलाई उहाँले ती व्यक्तिको भनाइ नै आफ्नो भएको भन्नुभयो। मध्यरातमा अर्कै व्यक्तिको माध्यमबाट कर, भन्सार र राजस्वका दरमाथि तलमाथि गर्न खोजेर के गर्न खोजिएको हो।

पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाएका हुन्छौं। बजेट निर्माणको एक प्रक्रिया छ। बजेट निर्माणको १ महिना अगाडिदेखि बजेट शाखामा र अर्थ मन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइँदैन तर यो राष्ट्रका नाममा खाएको शपथको खिलाफ हो। यो राष्ट्रघात पनि हो। त्यसरी बजेटमा गरिएको हेरफेरले स्वदेशी उद्योग धराशायी भएका छन्।’

सञ्चारमाध्यममा आएका ती विषयमा अर्थमन्त्री शर्माले जवाफ दिनुपर्ने भट्टराईको माग छ। उनले भने, ‘अर्थमन्त्रीले यसको स्पष्टीकरण दिनुपर्छ भन्ने माग गर्दछु। यसमा प्रधानमन्त्रीको र सत्तारुढ दलका भनाइ के छ? यसबारे सदनको पनि ध्यानाकर्षण होस्।’

प्रकाशित: Jun 13, 2022| 12:26 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...