काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आसन्न अमेरिका भ्रमणबारे यथार्थ जानकारी दिन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट बोलावट भएको छ।
समितिको आज सोमबार बसेको बैठकले देउवालाई असार ५ गतेको बैठकमा बाेलाउने निर्णय गरेको हो। समितिले यही विषयमा जानकारी लिन परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री देउवा आगामी असार अन्तिम साता अमेरिका भ्रमणमा जाने कार्यतालिका तय भएको छ।
नेपाल–अमेरिका सम्बन्धको ७५औं वर्षगाँठ अवसरमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसम्बन्धी गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले केही दिनअघि जानकारी गराएको थियो।
यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। त्यसयता नेपालबाट प्रधानमन्त्री तहमा उच्चस्तरको भ्रमण भएको थिएन।
देउवाको अमेरिका भ्रमणलाई लिएर आइतबारको संघीय संसद्मा समेत प्रतिपक्षी एमालेले सम्पूर्ण जानकारी दिन सभामुख अग्नि सापकोटामार्फत माग गरेको थियो। ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण राजनीतिक, कूटनीति वा अन्य कुन प्रयोजनका लागि हुन लागेको हो, त्यसबारे समग्र जानकारी सदनलाई गराइनुपर्छ’, एमाले नेता प्रदीप ज्ञवालीले आइतबारको संसद् बैठकमा भने।
अमेरिका भ्रमणलाई लिएर भइरहेका बहसको छिनोफानो गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई छलफका लागि बोलाएको छ। देउवा समितिमा जाने–नजाने टुंगो भने लागिसकेको छैन। देउवा समितिमा उपस्थित भए अमेरिका भ्रमणबारे विस्तृत जानकारी लिइने संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति एवं सांसद पवित्रा निरौला खरेलले बताइन्।