मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार काम गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार काम गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

'एउटा कुरा के बुझ्नुपर्‍यो भने यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरुले यो धेरै 'क्लेम' गर्ने कुरा छैन,' सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने।'
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्। आइतबारबाट काठमाडौंमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले श्रमिकको हक, अधिकारको सुरक्षा र सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताउँदै यस्तो उल्लेख गरेका हुन्। 

'एउटा कुरा के बुझ्नुपर्‍यो भने यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरुले यो धेरै 'क्लेम' गर्ने कुरा छैन,' सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, 'अरु कतिपय तपाईहरुले अति महत्त्वपूर्ण कुराहरु उठाउनु भएको छ। कतिपय बजेटमा आएका छन्। छैनन् भने पनि हामी त्यसलाई पूरा गर्नेछौं।'

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिबद्ध रहेको बताए। पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको उल्लेख गरे। 

प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराएका थिए। 

श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनमा ल्याएको बताउँदै उनले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै औपचारिक, अनौपचारिक दुवै क्षेत्रमा कार्यरत श्रमिक अपेक्षाकृत लाभ पुर्‍याउन सबै एकजुट हुनपर्ने प्रधानमन्त्री देउवाको धारणा छ। आगामी आर्थिक वर्षको बजेटमा औपचारिक तथा अनौपचारिक र वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट संचालित सामाजिक सुरक्षा योजनाहरुलाई क्रमशः आवद्ध गर्दै लैजाने व्यवस्था समेटिएको उनको भनाइ छ। श्रमिकहरुको सुरक्षा र सुविधामा उठाउँदै आएको मागप्रति सरकार संवेदनशील भएको र सबै पक्षसँग छलफल गरी क्रमिक रुपमा सम्बोधन गर्दै जानेमा प्रतिबद्धता उनले जनाए। 


प्रकाशित: Jun 12, 2022| 16:18 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...