सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शून्य र विशेष समयमा प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मलसम्मका विषय, सरकारलाई सभामुखको रुलिङ

शून्य र विशेष समयमा प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मलसम्मका विषय, सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि सांसदहरूले सामाजिक, आर्थिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, रासायनिक मल समयमै उपलब्ध गराउनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि सांसदहरूले सामाजिक, आर्थिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, रासायनिक मल समयमै उपलब्ध गराउनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बजेट छलफल सुरु हुनुअघि शून्य र विशेष समयमा सांसदहरुले समसामयिक विषयमा बोलेका हुन्। 

National life

सांसदहरुको ध्यानाकर्षणपछि सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल वितरणका लागि सरकारलाई रुलिङ गरेका छन्। धान खेतीको समय मल नपाउँदा उब्जनी घट्ने चिन्तामा रहेका किसानको समस्यालाई छिटो समाधान गर्न सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने, ‘यथाशीघ्र किसानलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

प्रतिनिधिसभा बैठकमा सांसदहरुले खेतीको समय पनि मल अभाव भएको भन्दै किसानले सर्वसुलभ मल पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले सत्तागठबन्धनकै एउटा घटकका प्रमुख सचेतकले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण स्थगित गर्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे सदनलाई जानकारी गराउन सभामुख सापकोटासँग माग गरे। उनले आसन्न प्रधानमन्त्रीको अमेरिका भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्षीलाई कुनै जानकारी नगराइएको बताए। 

Shivam cement

प्रधानमन्त्रीको अमेरिका भ्रमणका सन्दर्भमा सबै विषय संसद्लाई जानकारी दिन सरकारले अनिच्छा देखाएको आरोप उनले लगाए। प्रधानमन्त्रीको अमेरिका भ्रमण राजकीय, सद्भावना वा अन्य कुन प्रयोजनका लागि हुन लागेको हो, संसद्लाई जानकारी गराउन उनले माग गरे।

नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र सम्बन्धमाथि आँच आउने गरी सरकारले सन्तुलन खल्बल्याउने प्रयत्न भएकाले प्रधानमन्त्रीले यसबारे सदनलाई जानकारी गराउनुपर्ने ज्ञवालीको भनाइ छ।

उनले आर्थिक वर्ष ०७९–८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ऊर्जा विकाससम्बन्धी नेपाल तथा भारतबीच भएको दुईतर्फी विद्युत् व्यापार, ऊर्जा उत्पादन र दुवै देशका राष्ट्रिय प्रसारण लाइनको निर्माणजस्ता विषय समेटिए पनि सदनलाई जानकारी नगराइएको उनले दाबी गरे।

प्राकृतिक स्रोतको उपयोग हुने गरी आएको दीर्घकालीन अवधारणा सम्बन्धमा समेत सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग उनले गरे। 

सांसद लक्ष्मीकुमारी चौधरीले चुनावमा मतपत्र, पत्रपत्रिका घरघरमा पु¥याउन सके पनि विद्यालयमा हालसम्म पाठ्यपुस्तक उपलब्ध गराउन सरकार असफल  भएको बताइन्। खेतीपातीको सिजनमा मल पाउन किसानले सधैँ सास्ती बेहोर्नुपर्ने अवस्था रहेकाले त्यसलाई हटाउन उनले आग्रह गरिन्। 

यस्तै, सांसद लक्ष्मी परियारले विद्यार्थी विद्यालय गए पनि पढ्नलाई पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मा पाएको शिक्षा मन्त्रालयले पटक्कै पहल नगरेको गुनासो गरिन्। 

सांसद लालप्रसाद साँवा लिम्बूले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका छोराछोरीले नागरिक नपाउँदा उच्च शिक्षा, रोजगारी पाउन नसकेको अवस्था हटाउन हाल संसद्मा विचराधीन रहेको नागरिकता विधेयकलाई तुरुन्त पारित गर्न आग्रह गरे।

सांसद डिनादेवी बुढाथोकीले सरकारले हरेक वर्ष कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि खेतीपातीको समय रासायनिक मल उपलब्ध गराउन असफल हुँदै आएको बताइन्।

सांसद बिन्दा पाण्डेले नागरिकताविहीनहरु नागरिकता विधेयक पारित हुनुपर्ने आसमा रहेकाले छिटोभन्दा छिटो पारित गर्न माग गरिन्।

यस्तै, सांसद विशाल भट्टराईले पुल निर्माणको जिम्मा पाएका ठेकेदारले समयमै निर्माण नगर्दा नागरिकले दुःख पाउनुपरेको बताए। 

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले विभिन्न समयमा आएका बाढीपहिरोबाट पीडितका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग जिल्लामै खर्च गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद सत्या पहाडीले कर्णाली प्रदेशमा गरिएको बजेट समयमै नपुग्दा सडक निर्माण, पुल निर्माणका योजना समयमै सम्पन्न हुन नसकेको बताइन्।

सांसद समिना हुसेनले किसानले रासायनिक मल अभाव बर्सेनि भोग्नुपरेको, नागरिकताविहीनलाई यथाशीघ्र नागरिकता वितरणका लागि विधेयक पारित गर्न माग गरिन्।


प्रकाशित: Jun 12, 2022| 13:01 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...