दमौली- चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ। चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए।
बुबाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन्। त्यही बेला चितुवाले आक्रमण गरेको र बुबाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ।
पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ। चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ।