काठमाडौं- डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आइतबार बेलुका भएको इंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो पहिलो जित दर्ता गरेको छ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले आर्सनललाई २-० ले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको हो। सिटीका लागि रहिम स्टर्लिङ र बर्नान्डो सिल्भाले गोल गरे।
खेलको चार मिनेटमानै आर्सनलका माटेओ गुन्डोजीलाई ट्याकल गर्दै पहेलो कार्ड पाएका रहिम स्टर्लिङले सिटीका लागि १४ औं मिनेटमा गोल गरेका थिए। उनको गोल मार्फतनै सिटीले अग्रता लिएको थियो। उनले बेन्जामिन मेन्डेको पासमा गोल गरेका थिए। यस गोलसँगै रहिमले प्रिमियर लिगमा आफ्नो ५० गोल पुरा गरेका छन्।
२३ बर्षीय मिडफिल्डर रहिमले प्रिमियर लिगका १९३ खेलमा ५० गोल गरेका हुन्। यस अघि प्रिमियर लिगका चार सिजन लिभरपुलबाट खेलेका उनले चार सिजनमा ९५ खेल खेल्दै १८ गोल गरेका थिए। त्यसपछि २०१५-१६ को सिजनमा सिटी आएका उनले सिटीबाट ९८ लिग खेलदै ३२ गोल गरेका छन्।
२०१२ मा इंग्ल्यिान्डको राष्ट्रिय टिममा डेव्यु गरेका उनले राष्ट्रिय टिमबाट ४४ खेल खेलि सकेका छन् । ४४ खेल खेल्दा राष्ट्रिय टिमका लागि दुई गोल गरेका उनले यसै बर्ष मात्र राष्ट्रिय टिमबाट ९ खेल खेलि सकेका छन्।
त्यस्तै ६४ औ मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए। उनका लागि पनि डिफेन्डर बेन्जामिन मेन्डेलेनै पास मिलाएका थिए । शुरुवाती समय देखिनै दबाबमा रहेको आर्सनलले भने कुनै गोल गर्न नसक्दा सिटीसँग २-० पराजित भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४