काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली शुक्रबार विराटनगर पुगेका छन्। पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना दिन उनी विराटनगर गएका हुन्।
विराटनगर विमानस्थलमा ओर्लिएपछि अध्यक्ष ओलीले पत्रकारहरुसँग लामै कुराकानी गरे। ओलीलाई पत्रकारहरुले समसामयिक राजनीतिबारे प्रश्न सोधेका थिए। ओलीले स्थानीय चुनावको परिणाम जे आए पनि संसदीय चुनावमा एमाले नै पहिलो हुने दाबी गरे। साथै प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री पदको अफर गरेको चर्चालाई पनि अस्वीकार गरे।
अहिलेको सत्तारुढ वाम गठबन्धन कायम रहला कि नरहला भन्ने प्रश्नमा उनले उल्टै प्रश्न गरे– कसलाई वाम गठबन्धन भन्या तपाईंले? कांग्रेस, माओवादी कोकोकोलाई तपाईंले वाम गठबन्धन भन्या?
यसमा माओवादी र नेकपा एस पनि छन् नि त भन्ने पत्रकारको प्रश्नले उनले फेरि प्रश्न गरे, ‘त्यो गठबन्धन वाम गठबन्धन हो त? यिनीहरु बाम हुन्?’
अब नकेपा एस एमालेसँग जोडिने कति सम्भावना हुन्छ पछिल्लो गतिविधि हेर्दा भनेर सोध्दा पनि ओलीले प्रश्न नै गरे– पोहोर फुट्या होइन? हाँहरुले सोध्नुभएन हामीलाई फुट्ने बेलामा।
अहिले विभिन्न मञ्चमा बोलिराख्नुभएको छ नि भन्ने पत्रकारको जिज्ञासामा ओलीले भने– मञ्चका कुरा बेग्लै हुन्। अहिले त्यस्तो केही छैन। अहिले हामी आफ्नो काममा छौं।
प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, कार्यकर्ताहरुलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं।
पत्रकारः आए भने स्वागत गर्नुहुन्छ?
ओलीः स्वागत भन्ने शब्द बढ्तै हुन्छ कि। पार्टीमा आउन सक्नुहुन्छ।
पत्रकारः स्वागत चाहिँ गर्नुहुन्न?
ओलीः स्वागत भनेको के? गेट बनाउनु भनेको? त्यस्तो चलन छैन नि हाम्रो।
पत्रकारः तपाईंहरुले कस्तो संविधान बनाउनुभयो? प्रधानन्यायाधीशको महाअभियोग तीन महिनासम्म टुंगो लागेको छैन। प्रहरीको आईजीपीमा त्यस्तै छ।
ओलीः मैले के गर्ने त?
पत्रकारः त्यसमा हजुर पनि हुनुहुन्थ्यो नि त?
ओलीः केमा? महाभियोग लगाउनेमा?
पत्रकारः होइन संविधान बनाउनेमा ।
ओलीः संविधान त कार्यान्वयन गरे न हुन्छ। त्यसलाई डिस्टोर्सन गर्यो भने, बङ्ग्यायो भने त बेग्लै कुरा हो।
पत्रकारः बङ्ग्याएकै हो ।
ओलीः हो त। बङ्ग्याएको मात्र होइन संविधान तोडमोड, भाँचकुच, च्यातचुत धेरै कुरा भाका छन्।
पत्रकारः तर प्रमुख प्रतिपक्षी दलका पनि त दायित्व हुन्छ नि यसलाई सीधा पार्ने।
ओलीः त्यो हामी गर्दैछौं। एकै दिनमै सीधा हुँदैन। विस्तारै हुन्छ।
पत्रकारः हिजो तपाईंलाई संविधान तोडमोड गरेर प्रतिगमन गरेको आरोप लागेको थियो, अहिले त्योभन्दा पनि बढी भएको हो?
ओलीः तपाईंहरु विचार गर्नुहुन्छ कि हल्लाको पछि कुद्नुहुन्छ? प्रतिगमन भनेको देउवाले संसद विघटन गराउनुभो, चुनाव नगरी प्रजातन्त्र दरबारमा बुझाउनुभो, त्यो प्रतिगमन हो। प्रतिनिधिसभाको नयाँ चुनाव गर्नु भनेको, नयाँ संसद बन्नु भनेको प्रतिगमन हुँदैन। अब चुनाव हुँदैछ, प्रतिगमन हो त्यो? अर्को प्रतिगमन भनेको माओवादीको सरकार थियो। माओवादीले संविधान बनाउनका लागि संविधानसभा बनाएको थियो। संविधान नबनाइकन विघटन गर्यो। चुनाव गराएन। देश अस्तव्यस्त बनायो। यति कृत्रिम बाटोबाट हामीले अर्को संविधानसभा चुनाव गरायौं। त्यस्तोलाई भन्छ प्रतिगमन।
पत्रकारः एएमसीसी पास हुनेवित्तिकै अमेरिकाका कर्णेल नेपाल आए। यसैका लागि एमसीसी पास गराउनुभएको हो?
ओलीः एमसीसी पास हुँदा तपाईं विदेशतिर जानुभएको थियो कि नेपालमै हुनुहुन्थ्यो? प्रचण्डजी, माधव नेपालजी होइन पास। पास भनेर हात उठाउने? उहाँहरुलाई सोध्नुस् न।
पत्रकारः तपाईंहरुले पनि त विरोध गर्नुभएन नि?
ओलीः हामीलाई त संसदीय प्रक्रियामा सामेल हुनै दिइएको थिएन। अभ्यासमा सामेल हुनै दिइएको थिएन।
पत्रकारः हजुरहरुले भनेजस्तो स्थानीय तहको परिणाम आएन। अब के हुन्छ संघको चुनावमा?
ओलीः स्थानीय चुनावको कुरा बेग्लै हो। यसले नै सबै निर्वाचनको परिणाम तय गर्छ भन्ने छैन। स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले दोस्रो भयौं। ६ दल मिले। कुनै राजनीतिक सिद्धान्तविना प्रतिक्रियावादी गठबन्धनको एउटै मात्र उद्देश्य भनेको देशभक्त, लोकतान्त्रिक विकासमुखी पार्टी नेकपा एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो। धेरै स्थानमा जित्ने कुरामा अलिकति पछाडि पर्यौं होला, तर हाराहारीको स्थितिमा छ। पपुलर भोटमा फेरि पनि अगाडि छौं। एमाले एमाले नै हो।
पत्रकारः अब आउने निर्वाचनमा के होला?
ओलीः अब आउने निर्वाचनमा नेपाली जनताले एमालेलाई अत्यधिक मतका साथ जिताउनेछन्।