काठमाडौं- सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईपक्षबीचको विवाद चर्किएको हो। खास गरी मन्त्री परिवर्तन गर्ने विषय र विधान अधिवेशनको कुराले जसपा भित्र विवाद बढेको छ।
स्थानीय तहको निर्वाचनअघि देखिएको विवाद समधान गर्न असार १ गते विधान अधिवेशन गर्ने सहमति भएको थियो। तर, असार १ गते विधान अधिवेशन हुने सम्भावना छैन। सहमतिअनुसार विधान अधिवेशन नहुने देखिएपछि भट्टराई पक्षका नेताहरुले असन्तुष्ट बनेको स्रोतको दाबी छ।
जसपाको विधान अनुसार २ जना अध्यक्ष रहनेछन्। एक जना अध्यक्ष र एकजना संघिय परिषद् अध्यक्ष रहने विधानको व्यवस्था छ। विधानअनुसार दुवैलाई कि अध्यक्ष बन्नुपर्ने वा संशोधन गरेर एक जना मात्रै अध्यक्ष राख्नुपर्ने माग जसपामा उठेको थियो। सोही विवादलाई मिलाउन विधान संशोधन गर्न अधिवेशन डाक्ने सहमति भएपनि यादव अधिवेशन डाक्न उदासिन देखिएको एक नेता बताउँछन्।
स्रोतका अनुसार भट्टाई पक्षले दुई अध्यक्ष रहनुपर्ने बताउँदै आएको छ भने यादव पक्ष एक अध्यक्ष रहनुपर्ने अडानमा छ। ‘विधान अधिवेशन गर्ने भनिएको थियो। तर, अहिलेसम्मको स्थिती हेर्दा असार १ मा विधान अधिवेशन हुनेमा शंका पैदा भएको छ,’ एक नेता भन्छन्। तर, यादव पक्षधर नेताहरु भने निर्वाचनका लागि असार १ मा विधान अधिवेशन डाक्ने कार्यतालिका प्रभावित भएको बताउँछन्।
त्यसो त जसपामा मन्त्री परिवर्तनको विषयले पनि विवाद पैदा गरेको छ। अध्यक्ष यादवले सरकारमा जाँदा ६ महिनापछि मन्त्री परिवर्तन गर्ने बताएका थिए। तर, यादवले आफ्नै बोली कार्यान्वयन गर्न नसकेको आरोप पार्टीकै नेताहरुले सार्वजनिकरुपमा लगाउन थालेका छन्। बिहीबार नेता मोहम्मद इस्तियाक राईले पार्टीभित्र देखिएको विवादको मूल कारक अध्यक्ष उपेन्द्र यादवको एकलौटी निर्णय भएको आरोप लगाएका छन्।
सांसद समेत रहेका राईले संसद् भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै यादवको एकलौटीका कारण पार्टीमा विवाद भएको आरोप लगाएका हुन्। । राईले सरकार गठन हुँदा अध्यक्ष यादवले संसदीय दल र केन्द्रीय कार्यकारिणी बैठकमा ६ महिनाका लागि मात्र मन्त्री बनाइएको र त्यसपछि नयाँ व्यक्तिलाई पठाउने बताएका थिए। ‘निर्वाचनको समीक्षा गर्न पनि अध्यक्ष तयार हुनुभएको छैन,’ उनले भनेका छन्, ‘पार्टीलाई एक व्यक्तिको आधारमा नभएर सामूहिकतामा चलाउनु आवश्यक छ’, राईको भनाइ छ।’
यादवले बुधबार जनकपुर पुगेर सामाजिक लोकतान्त्रिक पार्टीलाई एकताका लागि आव्हान गरेका थिए। जसपा विभाजनको असर निर्वाचनमा देखिएको भन्दै उनले पार्टी एकताको पक्षमा आफू रहेको बताएका थिए। तर, भट्टराई पक्षधर नेताहरुले भने आफूहरुलाई तर्साउने अस्त्रकारुपमा यादवले पार्टी एकताको वकालत गर्न थालेको बताइरहेको छ।