सोमबार, असार ८, २०८३

काठमाडौं आइपुगे अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चार दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९
National life
Shivam cement

काठमाडौं– अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चार दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरे।

नेपाल आउनुभन्दा दुई दिनअघि मंगलबार जनरल फ्लिनले भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेट गरेका थिए। भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग पनि द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल गरेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्। उनले भारतीय सेना प्रमुखसँगको कुराकानीमा चीनले हिमालय सीमा क्षेत्रमा 'अस्थिरता र जबरजस्ती' व्यवहार देखाएको बताएका थिए। 

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी काठमाडौं आएका हुन्। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्रका प्रमुख जनरल फिलनको सद्भावना भ्रमण रहेको बताएका छन्। उनका अनुसार फिलनले शुक्रबार  सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम छ।

शुक्रबार उनलाई सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ। त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फिलनबीच भेटवार्ता गर्ने कार्यसूची रहेको छ। शुक्रबार बेलुकी प्रधानसेनापति शर्माले जनरल फिलनको सम्मानमा रात्रिभोज गर्दै छन्।

जनरल फिलनले शनिबार माउन्टेन फ्लाइट गर्ने छन्। उनी सगरमाथा आधार शिविर जाने छन्। सोही क्रममा उनले एभरेष्ट भ्यु होटेलमा बिहानी खाना खानेछन्। उनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गरेर त्यही बिहान खाना खाने छन्। 

त्यसपछि उनी शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने छन्। यसबीचमा जनरल फिलनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवालाई भेट्ने छन्। भ्रमणमा नयाँ एजेन्डा केही नरहेको र औपचारिक भ्रमण मात्रै रहेको सैनिक मुख्यालयले जनाएको छ।

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा दुई मुलुकबीचका उच्च अधिकारीबीच भेटवार्ता हुने भएको हो। प्रधानसेनापति शर्मा आसारमा अमेरिका जाँदैछन्। प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने बताइए पनि मिति तय हुन सकेको छैन।

भारत हुँदै नेपाल आउने दोस्रो अमेरिकी प्रतिनिधि

पछिल्लो २० दिनको अवधिमा भारत हुँदै नेपाल भ्रमण गर्ने उनी दोस्रो अमेरिकी प्रतिनिधि हुन्। यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया पनि भारत भ्रमण सकेर नै नेपाल आएकी थिइन्। जेठ ६ देखि ८ गतेसम्म हुन लागेको जियाको नेपाल भ्रमण गर्नुअघि उनले तीन दिन भारत भ्रमण गरेकी थिइन्। 

भारतमा रहँदा उनले आफ्नो अधिकांश समय धर्मशालामा बिताइन्। मंगलबार नयाँदिल्ली अवतरण गरेकी जियाले दुई दिन धर्मशालामा बिताएकी हुन्। उनले केन्द्रीय तिब्बत प्रशासन, निर्वासनमा रहेको तिब्बतको संसद्, तिब्बतियन इन्स्टिच्युट अफ पर्फमिङ आर्ट्स, तिब्बत म्युजियमको अवलोकन गरेकी थिइन्। उपमन्त्री जिया नेतृत्वको टोलीले बिहीबार धर्मशालास्थित म्याकलिओड गन्जमा रहेको दलाई लामाको निवासमै पुगेर उनलाई भेट गरेकी थिइन्। 

भेटका क्रममा उपमन्त्री जियाले आफू दलाई लामाको आध्यात्मिक वाणीहरुको स्रोता हुन पाउँदा सम्मानित भएको महसुस गरेको बताएकी थिइन्। आध्यात्मिक गुरु दलाई लामा र जियाबीच भारत र अमेरिमा रहेको स्वतन्त्र र प्रजातन्त्र संस्कारका विषयमा पनि कुराकानी भएको जनाइएको थियो।

प्रजातन्त्रको महत्वको विषयमा उल्लेख गर्दै लामाले भनेका छन्, 'अमेरिका र भारत पूर्ण लोकतन्त्र र स्वतन्त्रता भएका देशहरु हुन्। भारतमा विभिन्‍न धर्मका मानिसहरु एक ठाउँमा मिलेर बसेका छन्। यो नै एकता हो।पिपुल्स रिपब्लिक चीन तिब्बती जनता र उनीहरुको विचारलाई परिवर्तन गर्न असफल भएको छ। उल्टै चिनियाँ जनताको विचार नै परिवर्तन भइरहेको छ।' 

उनको भारत भ्रमणका विषयमा भने चीनले आपत्ति जनाएको थियो। उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेट्‍नुअघि तिब्बती शरणार्थीहरुलाई भेट गरेकी थिइन्। यसअघि नेपाल भ्रमणअघि चिनियाँ विदेशमन्त्री पनि भारतको बाटो हुँदै आएका थिए। चिनियाँ विदेशमन्त्रीले पनि भारतीय समकक्षीसँगको भेट सकेर काठमाडौं अवतरण गरेका थिए।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउन जुटेको समयमा नेपालमा अमेरिकी प्रतिनिधिहरुको भ्रमण बाक्लिएको छ। 

यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो। वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन्। त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए।
प्रकाशित: Jun 09, 2022| 15:48 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...